१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिउँमा रमाइलो [फोटोफिचर]

दीपक परियार

लेखनाथ — १३ वर्षपछि पोखरा नजिकका गाउँमा हिमपात भएको छ । शनिबार बिहान परेको हिउँले डाँडाकाँडा सेताम्मे छन् । पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस, ताङतिङमा २०६२ पछि पहिलोपल्ट हिउँ पर्‍यो । अन्नपूर्ण गाउँपालिकाको तान्चोक कोटगाउँमा २० वर्षपछि हिउँ परेको स्थानीय राजबहादुर गुरुङले बताए ।

दाङसिङ, मोहोरिया, फुलिबाङ, तिख्यान, ठूलाखर्कलगायत स्थानमा भीषण हिमपात भएको छ । ‘पहिला बूढापाकाले हिउँपरेको सात अन्न बढ्छ भन्थे,’ गुरुङले भने, ‘त्यतिखेर समयसान्दर्भिक भए पनि अहिले अनाज लगाउने खेतबारी बाझै छन् ।’

पोखरा–बागलुङ जोड्ने भूपी शेरचन राजमार्गको लुम्ले काँडेमा पुगेर पोखराका युवा हिउँ खेलेर रमाएका छन् । यसअघि धेरैतिर हिउँ पर्दा लुम्लेमा पनि पर्ने अनुमान गरेका पोखरावासीको इच्छा बल्ल पूरा भएको छ । हिउँ खेल्न जाने र आउनेको सवारी चापले पोखरा–सराङकोट–कास्कीकोट मार्ग दिनभर निकै व्यस्त बन्यो ।

पोखराबाट मोटरसाइकलमा डेढ घण्टामा पुगिने धम्पुसको पोथाना र पितम देउरालीमा पनि १३ वर्षपछि हिउँ परेको छ । लुम्लेभन्दा बाक्लो हिउँ परेपनि पोखराबाट थोरैमात्रै हिउँ खेल्न पोथाना पुगे । पोथानाका होटल व्यवसायी अमृत गुरुङले हिउँ पर्दा ट्रेकिङ गर्ने पर्यटकको कमी भए पनि हिउँ खेल्न पोखराबाट पुग्ने धेरै भएको बताए । पोखराको शीतलदेवीबाट हिउँ खेल्न पुगेका नरेन थापाले पहिलोपल्ट हिउँ खेल्न पाउँदा आनन्दित भएको सुनाए । कास्कीको पर्यटकीय गाउँ धम्पुस नजिकै रहेको पोथानामा परेको हिउँका दृश्य ।

प्रकाशित : माघ २६, २०७५ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्