कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हिमपहरा चढ्नुको मज्जा [फोटोफिचर]

आश गुरुङ

(लमजुङ) — नेपालमै पहिलोपटक हिमाली जिल्ला मनाङको हुम्डेमा हिमपहरा चढ्ने महोत्सव ‘आइस क्लाइम्बिङ फेस्टिवल’ गरिएको छ । बाक्लो हिमपात भइरहँदा यही साता २० जना विदेशी तथा स्वदेशीले जमेको हिउँमाथि चढेर पहरा उक्लिए । फेब्रअरी ४ देखि १० तारिखसम्म आयोजित ‘आइस क्लाइम्बिङ फेस्टिवल’ मा सहमागीले समुद्री सतहदेखि ३ हजार २ सय मिटर उचाईमा जमेको हिमपहरा चढे ।

अमेरिका, चीन र भारतसहितका सहभागीमध्ये २ महिला (अमेरिकन र नेपाली) र १८ जना पुरुषले अन्नपूर्ण हिमश्रृंखलाबाट बगेर हिउँ जम्दै बसेको झरना चढे । काठमाडौंमा बुधबार एक कार्यक्रम गरी उनीहरुले फेष्टिवलको समापन गरे ।

पर्वतारोहण पथ प्रदर्शकको समूहले नेपाल क्लाम्बिङ टीम नामक संस्था खोलेर नेपालमै पहिलोपटक ‘आइस क्लाइम्बिङ फेस्टिवल’ गरेको अध्यक्ष विनायक जय मल्लले बताए । उनका अनुसार ५ सयदेखि १ हजार मिटर उचाईको ६० देखि १ सय डिग्री उचाइसम्मका झरनामा क्लाइम्बिङ गरिएको थियो । ती झरना ३ देखि ५ स्तर (डब्लूआई ३ देखि डब्लूआई ५ सम्म) को छ । माइनस १५ देखि २० डिग्री सेन्टीग्रेट तापक्रमको उक्त ठाउँमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म क्लाइम्बिङ गरिएको उनले बताए ।

अमेरिकी नागरिक इमेल योङले जीवनमा नयाँ अनुभूति गरेको बताइन् । यस्ता खालेर साहसिक पर्यटकको प्रचारप्रसार नेपालले किन नगरेको होला भनी उनले जिज्ञासा राखिन् । क्लाइम्बर टीमका प्रेम गुरुङ, अनुप गुरुङ र विनायक जय मल्लको सहयोगले यो अवसर मिलेको उनले सुनाइन् ।

चिनिया नागरिक वेन सोङले हिउँमा टेक्नु र हिउँ जमेको झरना चढ्नु निकै फरक रहेको बताए । अन्तर्राष्ट्रिय पथ प्रदर्शक पर्वतारोहण प्रशिक्षक प्रेम गुरुङका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने हुम्डे नजिकै ४ वर्षयता आइस क्लाइम्बिङ हुँदै आएको थियो । क्लाइम्बरहरुका अनुसार हिउँ बन्चरो, हेलमेट, जुत्ता, क्रम्पन, डोरी लगायतको सहायताबाट आइस क्लाम्बिङ गर्न सकिन्छ । आइस क्लाइम्बिङमा लिड, मल्टिपिच, मिक्स, टपरोप गरी ४ प्रकारले क्लाइम्बिङ गर्ने गरिन्छ । हिउँदबाहेक अन्य समयमा उक्त ठाउँ रक क्लाइम्बिङका लागि उपयुक्त मानिन्छ । उनका अनुसार फेष्टिवलमा आइस क्लाइम्बिङ कोर्स, फोटोग्राफी, एडभेन्चर फिल्म प्रदर्शनी, स्थानीय संस्कृति प्रदर्शन गरिएको थियो । सहमागीले स्की समेत खेले । सहभागी र स्थानीयले आर्चरी (तीर) हाने ।

तस्बिर सौजन्य: नेपाल क्लाइम्बिङ टीम


प्रकाशित : फाल्गुन २, २०७५ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्