पैसेरु नाचको रमझम [फोटोफिचर)

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका-१, बराहटाकुरा तीन दिन बालबालिकादेखि वृद्धवृद्धासम्मको अवलोकन स्थल बन्यो । मंगलबार, बुधबार र बिहीबार त्यसरी सबै बराहटाकुरा जानुको एउटा मात्रै उद्देश्य थियो, पैसेरु नाचमा रमाउने । लोपोन्मुख पैसेरु नाच संरक्षणको उद्देश्यसहित गरिएको पैसेरु प्रतियोगिताले धेरैको ध्यान तान्यो । किशोरदेखि ७५ वर्ष उमेरसम्मकाले पैसेरु नाचे । एक अर्का समूहसँग नाचेरै प्रतिस्प्रर्धा गरे । राम्रो गर्नेले पुरस्कार पनि लिए ।

मुसीकोट नगरपालिकाको मुख्य सहयोगमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाले यसरी सबैलाई जम्मा हुने अवसर दिएको थियो । मुसीकोट नगरभित्रका वडास्तरीय पैसेरु नाच प्रतियोगिता पैसेरुको संरक्षण गर्ने र पछिल्लो पुस्तामा हस्तान्तरणको उद्देश्यसहित गरिएको आयोजक प्रतिष्ठानका शाखा सचिव तुल देवकोटाले बताए । प्रतियोगितामा सहभागी सबै समूहको भिडियो खिचिएको र भिडियो डकुमेन्ट्री बनाएर पछिका पुस्तासम्म पैसेरु नाच देखाइने छ । यो प्रतियोगिता जित्ने र हार्नेसँग मात्रै सरोकार नभएर नाच संरक्षण लागि भएकाले खुसी लागेको मुसीकोट नगरपालिका-२, का ७५ वर्षीय सर्जु खड्काले बताए ।

पहिले पहिले घरमा या मन्दिरमा गरिने पूजाआजामा धेरै नाचिने पैसेरु पछिल्लो समय निकै कम भइसकेको छ । पैसेरु नाच ठाउँ अनुसार फरक/फरक हाताबाट नाचिन्छ । कतै १६ देखि २० हाता नाचिन्छ भने कतै २२ हातामात्रै नाचिन्छ । मादलको पछिपछि लाग्ने अगुवाको चालअनुसार पछिकाले नाच्नुपर्ने विशेषता पैसेरु नाचको हो । पैसेरु नाच हेर्न गएका अतिथि तथा सर्वसाधारणसमेत पैसेरुको नाचमा मिसिएर नाचेका थिए । पैसेरु प्रतियोगितामा सहभागीमध्येका १२ समूहलाई पछि पार्दै मुसीकोट नगरपालिका-१, छिङको छिङ बहुउद्देश्यीय सहकारी प्रथम भयो । मुसीकोट नगरपालिका-१४, लोरिवाङको समूह दोस्रो हुँदा मुसीकोट नगरपालिका-१०, चुनको समूह तेस्रो भएको छ । जिल्लामा पहिलोपल्ट आयोजित पैसेरु प्रतियोगितामा प्रथम आउने छिङको समूहले ३०, दोस्रोले २५ र तेस्रो हुने समूहले २० हजार नगद पुरस्कार हात पारेको छ ।

मुसीकोट नगरपालिकाको ६ र ७ नम्वर वडा सान्त्वता भए । १३ समूहको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट पोसाकमा वडा नम्वर ७ साँखको समूह र ६ झिजाको समूह पहिलो भएको छ । उत्कृष्ट बाध्यवादनमा वडा नम्बर ११ लहु पहिलो भएको छ । त्यस्तै नयाँ पुस्ताको सहभागितामा वडा नम्वर २ रातामाटाको समूह पहिलो भएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्