१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बैठककै बीच सदन रित्तो ! [फोटोफिचर]

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपाका सांसद खगराज अधिकारीले राखेको स्वास्थ्यसम्बन्धी जरुरी महत्वको प्रस्तावमा छलफल थियो । यसबाहेक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ लाई प्रस्तुत गर्ने, भुक्तानी तथा फर्स्योट विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

त्यस्तै सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि स्वीकृत गर्नुपर्ने थियो । ११ बजे बैठक सुरु हुँदा नै सांसदको उपस्थिति न्यून थियो । सांसदहरु हाजिर गरेर केही छिन बस्ने अनि बाहिरिने क्रम चलिरह्यो । विगतको जस्तै संसद्‍को पहिलो र दोस्रो लाइन मंगलबार पनि खाली नै थियो । सभामुखको अगाडिको बायाँ तर्फको राजपाका नेताहरु बस्ने पहिलो लाइनमा एक जना पनि थिएन । त्यस्तै प्रमुख प्रतिपक्ष कांग्रेसका शीर्ष नेताहरु बस्ने पहिलो लाइन पनि खाली नै थियो ।

सरकारका मन्त्रीहरु बस्ने पहिलो लाइनमा १ बजेसम्म उपसभामुख शिवमाया तुम्बाहाम्फे मात्रै थिइन् । १ बजे भने रक्षामन्त्री ईश्वर पोखरेल बैठकमा पुगेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बस्ने पहिलो लाइनमा उपनेता सुवासचन्द्र नेम्वाङमात्रै थिए । केही समयपछि झलनाथ खनाल थपिए । नेकपाकै सांसदहरु बस्ने अर्को लाइनमा भने प्रमुख सचेतक देव गुरुङ एक्लो थिए । केही समय पछि हरिबोल गजुरेल थपिए । संघीय समाजवादी फोरमका सांसदहरु बस्ने लाइनको अघिल्लो भागमा भने सचेतक उमाशंकर अरगरियासहित दुई जना सांसद थिए । प्रत्येक लाइनमा ६ वटा कुर्सी हुन्छ ।

फोरमकै सांसद बस्ने दोस्रो लाइनमा पनि बिमलप्रसाद श्रीवास्तव एक्लै थिए । नेकपातर्फ दोस्रो लाइनमा सचेतक शान्ता चौधरी थिइन् । सुवासचन्द्र नेम्वाङ बस्ने भन्दा पछिल्लो लाइनमा पनि सांसदको संख्या शून्य थियो । सरकारका मन्त्रीहरु बस्ने दोस्रो लाइनमा भने लालबाबु पण्डित, रविन्द्र अधिकारी र वर्षमान पुन थिए । बैठक सुरु भएको केही समयसम्म भने स्वास्थ्य राज्यमन्त्री मात्रै थिए ।

कांग्रेसका सांसदहरु बस्ने दोस्रो लाइनमा भने ज्ञानेन्द्रबहादुर कार्की र सुजाता कोइराला मात्रै थिए । दिलेन्द्रप्रसाद बडु केहीसमय मात्रै बसेर बाहिरिए । राजपाको सांसद बस्ने दोस्रो लाइनमा लक्ष्मणलाल कर्ण र चन्दा चौधरीमात्रै थिए । संसदमा सार्वजनिक महत्वको प्रस्तावमा छलफल चलिरहँदा सांसदहरु भने बोल्दै बाहिरिए । संसदमा सांसदको संख्या न्यून भएपछि संसद् भवन बानेश्वरबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेका सांसदलाई सदनमा पठाउन भन्दै फोनसमेत गर्नु परेको थियो । बैठकको अन्तिममा भने सांसदहरुको संख्या बढेको थियो । तस्बिर : अंगद ढकाल/कान्तिपुर


प्रकाशित : फाल्गुन १४, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्