कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तस्बिरमा हेरौं, पशुपतिमा आएका साधुसन्त

तस्बिर : इलिट जोशी

काठमाडौँ — महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाआराधना गरी सोमबार मुलुकभर मनाइँदैछ । यस दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी शुद्ध भई व्रत बस्ने र बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । पशुपतिमा शिवरात्रि महापर्व धुमधामसँग मनाउने गरिन्छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति विकास कोषले जनाएको छ ।

पर्वका लागि विजया एकादशी शनिबार पशुपति गोश्वारा कार्यालयकी प्रमुखको नेतृत्वमा गएको टोलीले शीतलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प पूजा गराएका थिए । साधु, सन्तलाई राज्यका तर्फबाट चमर, राडी, कमण्डलु, शंख, घण्ट, बख्खु, पीताम्बर, सिदाका सामग्री, फलफूल आदि दान दक्षिणा दिन राष्ट्र प्रमुखको हातबाट संकल्प पूजा गराउने परम्परा रहेको गोश्वरा कार्यालयकी प्रमुख लक्षुना काफ्लेले जानकारी दिइन्

कार्यालयका अनुसार नेपाल-भारतलगायत विभिन्न देशबाट पशुपतिनाथ दर्शन गर्न आउने संन्यासी सम्प्रदायका नागालगायत नानक, उदासी, कानफट्टा समुदायका साधुसन्त आउनेक्रम जारी छ । काफ्ले सोमबारसम्म ३ हजार ५ सयको हाराहारीमा साधु आउने अनुमान रहेको बताइन् । कार्यालयले सन्त, महन्त, साधु, संन्यासी, उदासी, बैरागीलगायतलाई शनिबारदेखि पाँच दिन बुधबारसम्म भोजन र धुनी जगाउन मुढा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ । पाहुना तीर्थयात्रीलाई एक/एक पाउको पेडा र साधुको स्तर हेरि ३ सय ५१ देखि एक हजार ७ सय ५१ रुपैयाँसम्म दक्षिणा दिएर बिदा गरिने कार्यालयको भनाइ छ ।

प्रकाशित : फाल्गुन १९, २०७५ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्