मिर्गौला दिवसमा प्रधानमन्त्री

तस्बिर : केशव थापा

काठमाडौँ — विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग र नेपाल मेडिकल स्टुडेन्टस् सोसाइटी (एनएमएसएस) ले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । 

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

Citizen







प्रकाशित : फाल्गुन ३०, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटक पर्खंदै शुक्लाफाँटा

एसियाकै ठूलो बाह्रसिँगाको बथान, कम क्षेत्रफलमा बढी बाघ र गैंडा, हात्ती तथा चित्तललगायत दुर्लभ वन्यजन्तुको बासस्थान
भवानी भट्ट

कञ्चनपुर — वर्षदिनअघि शुक्लाफाँटा घुम्न आएका फिनल्यान्डका राजदूत योर्मा शुभान्तोलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले निकै लोभ्यायो । विशाल घाँसे मैदान, त्यसमा निर्मित मचानहरूबाट देखिने बाह्रसिंगाको दुर्लभ बथान लगायतका दृश्यले सुभान्तोको मन तानेको थियो ।

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा विचरण गरिरहेका  बाह्रसिँगा । तस्बिर : भवानी/कान्तिपुर

शुक्लाको घाँसे मैदानलाई उनले अफ्रिकी सभानासँग तुलना गरे । ‘शुक्लाको घाँसे मैदान अफ्रिकी सभानाभन्दा कम छैन,’ एक वर्षअघिको भ्रमण क्रममा उनले भनेका थिए, ‘वन्यजन्तुका हिसाबले पनि यो निकै आकर्षक छ ।’ उनले नेपाल घुम्न आउने आफ्ना देशका नागरिकलाई शुक्ला घुम्न सुझाव दिने बताएका थिए ।

सुभान्तोले भने झैं एकान्त कुनाको यो निकुञ्जको प्राकृतिक रूपमा बेग्लै पहिचान छ । एसियाकै ठूलो बाह्रसिंगाको बथान, कम क्षेत्रफलमा बढी बाघ, गैंडा, हात्ती र चित्तल लगायत दुर्लभ वन्यजन्तुका कारण पनि यसले बेग्लै परिचय बनाउन थालेको हो । निकुञ्ज प्रवेशद्वारबाटै देखिने वन्यजन्तुले यहाँ आउने पर्यटकलाई झनै लोभ्याउने गरेका छन् ।

‘यत्तिको वन्यजन्तु र प्राकृतिक स्रोत भएको अर्को निकुञ्ज कमै देख्न पाइन्छ,’ गत साता मात्रै निकुञ्ज घुम्न आएका काठमाडौंका व्यवसायी रवि केसीले भने, ‘यहाँ जे छ त्यसको प्रचारप्रसार हुन सकेको छैन ।’ गत वर्ष परिवारसहित घुम्न आएका उनी यस वर्ष विभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका ४० जनाको समूहसँगै निकुञ्ज घुम्न आएका हुन् । उनी निकुञ्ज र आसपासकापर्यटकीय स्थलमा २ दिन घुमेर फर्केका थिए ।

चितवन गैंडाका लागि परिचित छ । नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेको ताँती नै लाग्छ । यी दुवै निकुञ्जमा यतिबेला पर्यटकको ओइरो लागेको छ । एकै ठाउँमा सबै वन्यजन्तु देख्न सकिने शुक्लाफाँटा निकुञ्ज भने अहिलेसम्म पर्यटनका हिसाबले भर्जिन नै छ । ‘अब पालो शुक्लाफाँटाकै हो,’ केसीले भने, ‘तर पर्यटक भित्र्याउन त्यस अनुसारका भौतिक पूर्वाधारमा पनि जोड दिनुपर्छ ।’

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटा दक्षिणमा भारतको लग्गाबग्गा र पश्चिममा महाकाली नदीसँग जोडिएको छ । निकुञ्जले भीमदत्त, वेदकोट, शुक्लाफाँटा नगरपालिकार बेलडाडी गाउँपालिकालाई छोएको छ । भारतको दुधुवा राष्ट्रिय निकुञ्ज पनि शुक्लाको नजिकै छ ।

शुक्लाफाँटा पर्यटनको पर्याप्त सम्भावना बोकेको निकुञ्ज हो । भारतको दुधुवा र जिम कार्बेट राष्ट्रिय निकुञ्ज नजिक भएकाले त्यहाँ आउने पर्यटकहरूलाई शुक्लासम्म तान्न सकिन्छ । अझ भारतका पर्यटकीय स्थलहरू नैनीताल, देहरादुन, सिमला र राजधानी नयाँ दिल्लीसमेत नजिकै छ । उक्त क्षेत्रसम्म पुग्ने पर्यटकलाई तान्न सके मात्रै पनि शुक्लाले पर्यटकको चाप थेग्न सक्दैन ।

हाल शुक्लाफाँटा घुम्न आउने पर्यटकहरूको संख्या वर्षमा दुई/अढाई हजार मात्र छ । ती मध्ये ८० प्रतिशत आन्तरिक पर्यटक छन् । बाघ, गैंडा र बाह्रसिंगा एउटै वनमा देखिने निकुञ्ज भए पनि प्रचारप्रसारको अभावसँगै यातायातको असुविधा र आवास लगायतका भौतिक पूर्वाधार नभएकाले पर्यटक भित्र्याउन नसकिएको पर्यटन व्यवसायीहरू बताउँछन् । अझ निकुञ्ज प्रवेशमा लाग्ने शुल्क पनि महँगो भएका कारण समस्या हुने गरेको उनीहरू बताउँछन् ।

यहाँ पर्यटकको संख्या बढाउन लामो समयदेखि बन्द रहेको निकुञ्जसँगै जोडिएको मझगाउँ विमानस्थलको सञ्चालन, निकुञ्ज प्रवेश शुल्क घटाउने र अन्य भौतिक पूर्वाधारको विकास आवश्यक रहेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउँछन् । ‘भौतिक पूर्वाधार र हवाई सेवाको अभाव पनि एउटा कारण हो,’ उनले भने, ‘भौतिक पूर्वाधारमा अब ढिलाइ गर्नु हुँदैन, पर्यटकहरू भर्जिन एरिया खोज्न थालेका छन्, पूर्वाधार भए उनीहरूलाई यहाँ तान्न सकिन्छ ।’

अंग्रेजी फिल्म टाइटनिकका नायक लियोनार्दोले बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गरेपछि विदेशी पर्यटक आउने क्रम बढ्न थालेको हो । उनले बर्दियामा बाघ संरक्षणमा लागेकाहरूलाई भेटेर उनीहरूको प्रशंसा गरेका थिए । शुक्लाफाँटामा पर्यटक तान्न कसै न कसैले नायकको भूमिकामा देखिनुपर्ने बेला आएको स्थानीय बताउँछन् ।

‘शुक्लाफाँटामा पर्यटक तान्न यातायातको विकाससँगै भौतिक पूर्वाधारमा जोड दिनुपर्छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौड्यालले भने, ‘थुप्रै पर्यटकहरू सफारीको साधन नपाएर फर्किएका पनि छन्, कतिपय बासकोउचित व्यवस्था नदेखेर फर्किन्छन् ।’

उनले निजी क्षेत्रका उद्यमी केन्द्रित गराउन सके भौतिक पूर्वाधारको विकास हुने बताए । यसबाहेक निकुञ्ज प्रवेशद्वारमा पर्यटक सूचना केन्द्र, म्युजियम जस्ता पूर्वाधार निर्माणका लागि पनि भइरहेको उनले बताए । शुक्लाफाँटामा हात्ती सफारीको व्यवस्था पनि छ । महाकालीको झोलुंगे पुल नजिकैको पिपरिया पोस्टबाट हात्ती सफारी गर्न सकिन्छ । तर सफारी गर्ने पर्यटकको संख्या पनि न्यून भएकाले ती हात्तीहरू गस्तीमा प्रयोग गरिन्छन् ।

शुक्लामा पाइने वन्यजन्तु
शुक्लाफाँटा खासगरी बाह्रसिंगाका लागि परिचित छ । तर यहाँ बाह्रसिंगासँगै बाघ, गैंडा, चित्तल र कृष्णसार लगायतका वन्यजन्तु देख्न पाइन्छ । गत वर्ष गरिएको गणनाअनुसार शुक्लाफाँटामा करिब अढाई हजारको संख्यामा बाह्रसिंगा छन् । ५४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको विशाल घाँसे मैदानमा बाह्रसिंगाको झुण्ड सहजै देख्न पाइन्छ ।

दुई वर्षअघि शुक्लाफाँटाबाट बर्दिया र चितवनमा ५/५ वटा बाह्रसिंगा स्थानान्तरण गरिएको थियो । तर स्थानान्तरण सफल भने हुन सकेन । चितवनमा स्थानान्तरण गरिएकामध्ये केहीकेही मरेका छन् । कम क्षेत्रफलमा बढी बाघको संख्या भएको निकुञ्ज पनि शुक्लाफाँटा हो । सामान्यतया एक बयस्क बाघलाई ४० वर्गकिलोमिटर क्षेत्रफल आवश्यक हुन्छ ।

तर ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा १७ बयस्क बाघ रहेको गत वर्षको राष्ट्रिय बाघ गणनाले देखाएको छ । आहारा प्रजातिको पर्याप्तता, उचित बासस्थान र चोरी सिकार नियन्त्रणकै कराण यहाँ बाघको संख्या वृद्धि भइरहेको संरक्षणकर्मीहरू बताउँछन् । प्रतिवर्गकिलोमिटरमा करिब ७९ आहार प्रजाति रहेको निकुञ्जको अध्ययनले देखाएको छ ।

दुई वर्षअघि ४ पोथी र १ भालेसहित चितवनबाट ५ गैंडा शुक्लामा स्थानान्तरण गरिए पनि निकुञ्जभित्र गैंडा पनि सहजै देखिने भएको छ । चितवनबाट स्थानान्तर गरिएका र शुक्लाफाँटामै भएका गरी हाल गैंडाको संख्या १७ पुगेको छ ।

बर्दियाबाट स्थानान्तरण गरिएका कृष्णसार पनि निकुञ्जको प्रमुख आकर्षणका रूपमा रहेको छ । निकुञ्जको हीरापुर फाँटामा कृष्णसार संरक्षित क्षेत्र बनाइएको छ । ०१३ को गणनाअनुसार निकुञ्जमा ८०/९० निलगाई रहेका छन् ।

निकुञ्जमा १२ प्रजातिका घस्रने, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा र ३५ प्रकारका पुतली पाइन्छन् । विभिन्न ताल र नदी किनारमा चरा अवलोकन पनि गर्न पाइन्छ । यहाँ ४ सय २४ प्रकारका चराहरू रहेका छन् । विश्वमै दुर्लभ मानिएका सारस, खरमजुर र लेस भुँडीफोर चराहरू पनि यहाँ पाइन्छन् ।

यसबाहेक प्राकृतिक तालहरू रानीताल, बाबाताल, बठनिया ताल, कालीकिच ताल लगायत पनि पर्यटकका लागि आकर्षणका केन्द्र हुन् । रानीताल निकुञ्जको मध्य भागमा पर्छ । यो वन्यजन्तुको पानी खाने प्रमुख स्थान पनि हो । निकुञ्जको बीच भाग भएर बग्ने बाउन्ने र चौधरा खोलाले पनि वन्यजन्तुका लागि पानीको स्रोत हुन् । बाउन्ने खोला माछा र गोहीको बासस्थान पनि हो ।

निकुञ्जभित्र १ सय १८ परिवारका ६ सय ६५ वनस्पतिका प्रजातिहरू छन् । एकनासको सालवन, सिमसार क्षेत्रमा झाडीदार वन आदि निकुञ्जका प्रमुख विशेषता हुन् । निकुञ्जको ५२ प्रतिशत क्षेत्रफलमा साल वन रहेको छ । ३० प्रतिशत घाँसे मैदान, १० प्रतिशत सिमसार क्षेत्र, ६ प्रतिशत नदी तटीय वन र २ प्रतिशत मिश्रित वन पाइन्छ ।

यसरी स्थापना भयो निकुञ्ज
०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा वन्यजन्तु आरक्ष हुँदै २ वर्षअघि मात्रै निकुञ्जमा स्तरोन्नति भएको हो । सिकार आरक्ष भएको २५ वर्षपछि२०५१ मा १ सय ५५ वर्गकिलोमिटर क्षेत्रफललाई समेटेर वन्यजन्तु आरक्ष घोषणा गरिएको थियो ।
०५८ मा निकुञ्जको पूर्वतर्फ १ सय ५० वर्गकिलोमिटर विस्तार गरी ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफल पुर्‍याइएको हो । सोही क्षेत्रफललाई ०७३ फाुगन ९ गते निकुञ्जका रूपमा स्तरोन्नति गरिएको हो । निकुञ्जमा स्तरोन्नति भएसँगै यस क्षेत्रमा पर्यटन गतिविधिहरू बढे पनि अपेक्षाकृत रूपमा पर्यटक भित्र्याउन भने अझै पहल पुग्न सकेको छैन ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्