स्याङ्जामा सामूहिक होली [तस्बिरहरु]

प्रतीक्षा काफ्ले

स्याङ्जा — सद्भाव र रंगको पर्व भनेर चिनिने होली जिल्लामै पहिलोपटक सामूहिक रुपमा मनाइएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा होली मनाइएको हो । होली पर्व घरपरिवार, साथीभाइ, एकआपसमा रंग खेलेर मनाइने पर्व हो ।

प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले रंग लगाएर सुरु गरिएको होलीमा जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारी, राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसी, आँधीखोला गुल्म प्रमुख नरेश केसी, प्रशासकीय अधिकृत यादवराज शर्मा, कोलेनीका प्रमुख खेमराज घिमिरे, पत्रकारलगायत विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो । जिल्ला सदरमुकाम पुतलीबजारको बैंक रोड हुँदै महेन्द्र चोक, ट्राफिक कार्यालयबाट अभियानपथ हुँदै पुन: प्रशासनको प्राङ्गगणमा पुगेको प्रजिअलगायतको समूहले व्यवसायी, पैदलयात्री, चालकलगायतलाई अबिर लगाइदिएका थिए ।

प्रशासकीय अधिकृत यादवराज शर्माले जागिर खाएको लामो समयपछि उमङ्गका साथ पहिलोपटक सामूहिक होली खेलिएको बताए । जिल्लाका प्रमुख व्यक्ति नै होली मनाउँदै सबैको घरघरमा पुग्दा अनौठो लागेको स्थानीय विमला क्षेत्रीले बताइन् ।

प्रकाशित : चैत्र ६, २०७५ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्