२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

घान्द्रुकमा घोडा दौडको रौनक [फोटोफिचर]

दीपक परियार

पोखरा — फागु पूर्णिमाको अवसरमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा बुधबार दोस्रो घोडा दौड प्रतियोगिता भएको छ । घान्द्रुक घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले प्रतियोगिता गरेको हो । मत्क्युँदेखि खोलोब्रोंसम्म ५.२ किलोमिटर घोडा दौडमा २३ जना प्रतियोगी थिए । प्रतियोगितामा घान्द्रुकका विश्व गुरुङ पहिलो भए । उनले निर्धारित दूरी १३ मिनेट १० सेकेन्डमा पूरा गरे । 

उनीभन्दा एक सेकेन्डले मात्रै पछि परेका दीपेन्द्र विक दोस्रो भए । रामकाजी गुरुङ उक्त दूरी १४ मिनेट २३ सेकेन्डमा पार गरेर तेस्रो हुन सफल भए । उनीहरुले पुरस्कारस्वरुप क्रमशः ५० हजार, ३० हजार र १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा बिजेन गुरुङ, इमान गुरुङ, भुमे पुन, जगनकाजी गुरुङ, अञ्चल गुरुङ, नजरमान गुरुङ र राजकुमार गुरुङ उत्कृष्ट दसमा पर्न सफल भए । उनीहरुले सान्त्वना पुरस्कारबापत् एक/एक हजार रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पुरस्कार हस्तान्तरण गरे । फागु पूर्णिमाका अवसरमा आयोजित कार्यक्रममा चर्चित लोकदोहोरी गायिका प्रीति आले, गायक गगनसिंह गुरुङ, नायिका एवं मोडल सविना गुरुङले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराए । कार्यक्रममा विदेशी पर्यटकसमेत होली खेलेर रमाए । 


प्रकाशित : चैत्र ६, २०७५ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्