३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सन्थाल बस्तीमा बाहा पर्वको रमझम [तस्बिरहरु]

देवनारायण साह

मोरङ — सन्थाल समुदायले बुधबार बाहा पर्व मनाएका छन् । फागु पूर्णिमाको अवसरमा सन्थाल समुदायले एकअर्कालाई पानी छ्यापेर बाहा पर्वको खुसीयाली साटासाट गरेका हुन् । सन्थाल समुदायले होली पर्व मनाउँदैनन् । तर, हिन्दु धर्मावलम्बीहरुले होली पर्वमा रंग खेल्न सुरु गर्नुअघि नै बाहा पर्व मनाइसक्नु पर्ने परम्परा छ । जहदा ७ सितमटोलका सन्थाल समुदायका नाइके भगवानलाल बेसराको घरमा बुधबार बिहानैदेखि बाहा पर्वको गीत र नाच सुरु भएको थियो ।

बाहा पर्व मनाउन गाउँभरका सन्थाल समुदायको बेसराको घरमा भेला भएका थिए । बेसराले बिहानै स्नान गरेर नयाँ लुगा लगाए र उनीसँगै सन्थाल समुदायका एक बालकलाई पनि स्नान गराएर नयाँ लुगा लगाइदिए । बेसराले एक हातमा बाँसको चोयाले बनाइएको हाडाअमा सजाएको पूजा सामग्री र अर्को हातमा पितलको लोटामा जल लिएर जाहेरथान हिँडे । उनीसँगै बालक सुरज हास्दाले घैंटोमा शुद्ध जल भरेको सगुन लिएर अघिअघि र नाइकेको पछिपछि टमाक र तुन्दाह बजाउँदै गाउँलेहरु जाहेरथान पुगे ।

व्रत बसेका नाइकेसँगै मंझी हाडाम, प्राणिक, जगमंझी, जगप्राणिक, गुडित र कुडोम नाइके जाहेरथानमा पूजा गर्न बसे । जहदा ७ का वडाअध्यक्षसमेत रहेका नाइके बेसराले सुरुमा इष्ट देउता मराङ बुरु, जाहेर एरा र गोसाई एराको छापरोमा पानीले चोखो पारेर तीनतिर गाडे र कलश स्थापना गरेर काँचो धागोले बाँधे । त्यसपछि चामलको पिठोले ५ वटा कोठा बनाएर त्यसमा सालको पात, सुपारी लड्डु, सिन्दुर, भर्नीको फूल राखेर दूध र पानी चढाएर विधिवत् पूजा गरे । त्यसपछि अर्को छाप्रोमा इष्ट देउता पारगाना बोङगाको र दुबै छाप्रोको मध्यमा रहेको मोडेको, तुरुइको देउताको प्रतिक खुण्टीमा पनि बेसराले विधिवत् पूजा गरे । इष्ट देउताको पूजापछि कुडोम नाइके बडका सोरेनले खेतमा गएर जंगलको देउता वीरको विधिवत् पूजा गरे ।

सन्थाल समुदायले कुखुराको बली दिएर पूजा गर्ने परम्परा भएपनि बेसरा नाइके भएपछि बलीको साटो लड्डु चढाएर पूजा गर्न थालेको बताए । बाहा पर्वको प्रसाद सोडे पकाउनका लागि छुट्टै कुखुरा खरिद गरेर जाहेरथानमा पकाइन्छ । पूजा बिधिको समाप्तिपछि नाइके बेसरासँगै गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्मले सोडे खाएका थिए । प्रासद ग्रहणपछि नाइकेले प्रत्येक घर घरमा गएर भर्नीको फूल बाँड्ने चलन छ । नाइके बेसरा प्रसाद बाँड्न जाँदा महिलाहरुले आँगनमा पिरा, पानी र तेल तयार गरेर बसेका थिए । घरका मुख्य महिलाले नाइके र सगुन बोकेका बालकको खुट्टा धोएर तेल लगाइदिएर ढोगेपछि सबैले आशीर्वाद दिए । खुट्टा धोएकी महिलाले नाइकेलाई सादा पानी हाली दिइन् । त्यसपछि नाइके बेसराले ती महिलालाई दिएपछि घरका महिला सदस्यले चुल्ठोमा र पुरुषले कानमाथि राखेका थिए । त्यसपछि नाइकेसँगै सबैलाई सगुन खुवाएर बिदा गरेका थिए ।

कुडोम नाइके सोरेनका अनुसार सन्थाल समुदायमा बाहा पर्व फागुन महिनाको शुक्ल पक्षकै दिनदेखि सुरु हुन्छ । गाउँको गुडितले सन्थाल समुदायको प्रत्येक घरबाट बाहा पर्व मनाउनका लागि मंगलबार चामल र पैसा संकलन गरेका थिए । स्थानीय विष्णु मुर्मुले सन्थाल समुदाय प्रकृति पूजक भएकोले बसन्त ऋतुको अवसरमा कोपिला र त्यसको फूललाई बाहा पर्वमा पूजा गर्ने र त्यो फूल नाइकेबाट ग्रहण गरी सुख, शान्ति र समृद्धिको आशीर्वाद थाप्ने परम्परा रहेको बताए ।

प्रकाशित : चैत्र ६, २०७५ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्