कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तराई मधेसमा हर्षोल्लासका साथ होली मनाइयो

देवनारायण साह

मोरङ — फागु पूर्णिमाको अवसरमा रंगहरूको पर्व होली तराई मधेसमा हर्षोल्लासका साथ बिहीबार मनाइयो । पहाडी र हिमाली जिल्लामा बुधबार नै फागु पूणिर्मा मनाइएको छ । तराई मधेसमा रहेको जनकपुरमा भने शुक्रबार होली पर्व मनाइनेछ । यसलाई वसन्तोत्सवसमेत भन्ने गरिन्छ ।

मधेसी समुदायले घर घरमा कुल देउताको पूजा गरेपछि रंग अबिर लगाएर होली पर्व मनाउने चल्न छ । महिलाहरुले बिहानै आगन गाईको गोबरले लिपपोत गरेर चोखो भएपछि मलपुवा, खिर, लड्डु, पान, सुपारी, फूल चढाएर इष्ट देउताको पूजा गरेको प्रसाद ग्रहण गर्छन् । प्रसाद ग्रहणपछि ठूलाले सानाको निधारमा सात किसमिको रंग र अबिरको टिका लगाइदिन्छन् भने सानाले ठूलाको खुट्टामा रंग अबिर राखेर आशिर्बाद लिने चल्न छ । गाउँका अग्रज बुढापाका, वृद्धवृद्धाले घर घरमा गएर रंग अबिर लगाइदिने परम्परा छ । देबर-भाउजु, साली-भिनाजुलगायत हाँसोठट्टा गर्ने नाता भएकाहरुबीच रंग र अबिर छ्यापेर हर्सोउल्लासका साथ होली मनाउने गर्छन् । आर्शिबाद दिने र लिने औपचारिक बिधिपछि युवादेखि वृद्धसम्मले भांगको लड्डु, दूधमा सख्खर, काजु, किसमिस, पिस्ता, बदाम, अलैंचीका साथै भांग मिलाएर बनाएको लस्सी खाने चल्न छ । भांगको नसा चढेपछि युवादेखि वृद्धहरुले गाउँमा बिभिन्न समूहमा हार्मोनियम, ढोलक, झाली, झम्टा, डम्फा बजारएर होलीको गीत गाउने परम्परा छ । प्रत्येक समूहले घर घरमा नाच्दै हेाली गीत सुनाएपछि घरमूलीले सामर्थ्य अनुसारको पैसा, धान, चामल उपहार दिने चल्न छ । उक्त धान, चाम र पैसाले पछि भगवानको पूजा गरी प्रत्येक घरमा लड्डु बाँड्ने गर्छन् । होलीको अबसरमा रंगअबिर एकआपसमा दलेपछि बर्षैंबर्षदेखिको सबै प्रकारका भेदभाव र दुश्मनी समाप्त हुने मान्यता रहेको छ । समाजका सबै वर्गको शरीर र अनुहारमा रंग लागेपछि समान देखिने भएकोले यसलाई समानता र सद्भावको पर्वसमेत मान्ने गरिन्छ । यस पर्वले सबैको मनमा उमंग एवं उत्साहको सञ्चार गराउँदै एकताको सन्देशसमेत दिन्छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । ग्रामिण क्षेत्रमा साँझ पख फलेको बदाम, गहुँलाई आगोमा पोलेर खाने परम्परासमेत चलिआएको छ ।

प्रकाशित : चैत्र ७, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्