१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपाल-भारत भिडिरहँदा रंगशाला बाहिर जात्रा ! [तस्बिरहरु]

जितेन्द्र साह

विराटनगर — पाँचौ साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा शुक्रबार नेपाल र भारतबीचको घम्साघम्सी हेर्न विराटनगरस्थित शहीद रंगशाला भित्र, बाहिर एवं वरिपरिका अग्ला घरमा फुटबलप्रेमीको घुइँचो लाग्यो । खेल सुरु हुनु करिब तीन घण्टाअघि रंगशाला वरिपरि मेलाझैं थियो ।

फुटबलप्रेमी नेपाली दर्शकहरु अन्तिम प्रतिस्पर्धा हेर्न व्यग्र देखिन्थे । रंगशालाको द्वारहरुमा हातमा टिकट र राष्ट्रिय झन्डा बोकेका एवं नेपाल अंकित टिसर्ट लगाएकाको लाम थियो । खेलको सुरुआतदेखि अन्तसम्म आशावादी नेपाली दर्शकले आफ्नो टिमलाई हौस्याउन छाडेका थिएनन् । नेपालले पराजय भोगे पनि उनीहरु निराश देखिएनन् ।

सुनसरी साहेबगञ्जका शिक्षित युवा व्यवसायी अर्जुन साहले श्रीमती र नाबालक छोरासहित फुटबलको भरपुर आनन्द लिए । 'खेलमा हारजीत चलिरहन्छ तर नेपाली महिला टिमले राम्रो प्रदर्शन गर्‍यो,' उनले भने, 'एशियाबाट फुटबलमा नेपाल र भारतको नयाँ शक्ति राष्ट्रको रुपमा उदय भएको देखिरहेको छु ।' महानगर विराटनगर तीनपैनीका ज्येष्ठ नागरिक सुरेश ढकालले संयमताकासाथ पूरा खेल हेरे । 'फुटबल भनेपछि उसै पनि हुरुक्क हुन्छु, त्यसमा छोरीचेली फाइनलसम्म पुगेको थाहा पाएपछि घरमा बस्ने सकिनँ,' उनले भने, 'दुवै टिमले राम्रो खेल्यो, गोल भनेको भाग्य र संयोगमा पनि भर पर्छ, आज भारतको दिन रहेछ ।'

सरकारी एवं गैर सरकारी संस्थाका कर्मचारी र नागरिक समाजका हरेक वर्गका फुटबलको मजा लिन रंगशाला पुगेका थिए । टिकट नपाएकाले वरिपरिको अग्ला घर एवं ठाउँबाट भए पनि प्रतिस्पर्धा हेरेका थिए । 'टिकट किने पनि रंगशाला प्याक भएर प्रवेश पाइनँ, त्यही भएर यहाँबाट हेर्दैछु,' मोरंगको ग्रामथानका कृषक सदानन्द चौधरीले भने । उनले रंगशाला अघिल्तिरको आदर्श विद्यालय भवनको छतबाट खेल नियालेका थिए । उक्त च्याम्पियनसिपको सुरुदेखि नै नेपाली टीम सहभागी हरेक प्रतिस्पर्धामा राष्ट्रप्रेमी दर्शकको उल्लेखीय उपस्थिति रह्यो ।

प्रकाशित : चैत्र ८, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्