१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एसईई परीक्षा स्थगितपछि आक्रोशित भए परीक्षार्थी, रणभूमि बन्यो जितपुर र कलैया

आन्दोलनकारी र प्रहरी घाइते
पवन यादव

सिमरा — प्रदेश २ मा एसईई परीक्षा रद्द गरिएपछि विरोधमा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच शनिबार बाराको कलैया र जितपुरमा झडप भएको छ । झडपको क्रममा दुवै स्थानमा गरी आधा दर्जन बढी सुरक्षाकर्मी र दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

झडपको क्रममा कलैयामा २ जना प्रहरी र ४ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सई अशोक कुमार कुर्मी, प्रहरी हवल्दार विजय राय यादव र प्रदर्शनकारी जितेन्द्र यादव सहित ४ जना विद्यार्थी सामान्य घाइते भएका छन् ।

उनीहरुले बिहान ८ बजेदेखि कलैया भरतचोकको चारैतिरबाट ३ वटा टायर बालेर प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीले चोक वरिपरि गाडिएको सार्वजनिक होर्डिङ् बोर्ड तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई रोक्न थालेपछि प्रदर्शनकारीले प्रहरी माथी ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट २ जना प्रहरी घाइते भएका हुन भने प्रहरीले प्रहार गरेको लाठीबाट विद्यार्थी सामान्य घाइते भएको प्रत्यक्षदर्शीले बताए ।

त्यस्तै प्रदर्शनमा उत्रिएको विद्यार्थी र सुरक्षाकर्मीबीच जितपुरमा पनि झडप भएको थियो । बिहान साढे ८ बजेदेखि सुरु भएको झडप मध्यान्ह १२ बजेसम्म चलेको थियो । झडपको क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय जितपुरमा कार्यरत महिला प्रहरी जवान निरु श्रेष्ठ र प्रहरी जवान लगनदेव यादव घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

सोही झडपमा नाम नखुले सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मी र आधा दर्जन बढी प्रदर्शनकारी घाइते भएको प्रत्यक्षदर्शीले बताए ।

जितपुरमा प्रदर्शनकारीले सशस्त्र प्रहरी बल सुरक्षा बेस जितपुरको ना १ झ ७१२ नम्बरको सरकारी गाडीमा आगजनी र तोडफोड गरेका छन् । आजनीबाट पछाडिको सिट र बडी प्रोटेक्टर जलेको प्रहरीले जनाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय जितपुर परिसरमा राखिएको भारतीय नम्बर प्लेटको २ वटा सवारीसाधनमा समेत तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले सडकमा गुडदै गरेको र सडक छेउमा रोकी राखिएको नेपाली तथा भारतीय नम्बर प्लेटको एक दर्जन बढी ट्रक, टिपर, बसमा समेत तोडफोड गरेका छन् । मध्यन्ह सवा १२ बजेदेखि अवस्था सामान्य बन्दै गएको र स्थितिलाई साम्य पार्न जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख मेयर कृष्ण पौडेल, जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, व्यपारी कपिलदेव यादव लगायतकाले पहल गरिरहेका स्थानीयले बताएका छन् ।


प्रकाशित : चैत्र १६, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्