यसरी बनाइँदै छ कोसीमा 'च्यानल' [फोटोफिचर]

गोविन्द पोखरेल

काठमाडौँ — कोसीमा आउने बाढीका कारण वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भारतले जथाभावी बाँध निर्माण गरिदिँदा वर्षात्‌को समयमा नेपालका दर्जनौं बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने गरेका छन् । कोसी नदीको नियन्त्रण भारतको हातमा छ । पूर्वी भागमा बाँध निर्माण गर्दा पश्चिममा असर गर्ने, पश्चिममा बाँध निर्माण गर्दा पूर्वी क्षेत्रमा असर गर्ने समस्या कोसीमा छ । राजबासमा भारतले बाँध बनाउँदा नदीको बहाव नै परिवर्तन भएको छ । जसका कारण आरक्ष क्षेत्रका सिमसारहरु सुकिरहेका छन् ।

पूर्वी र पश्चिम दुवै क्षेत्रमा क्षति नहोस् भनेर यस पटक मध्यमार्गी उपाय अपनाइँदै छ । भारतले कोसीको मध्य भागमा अहिले च्यानल खनिरहेको छ । च्यानल खन्न पाँच सय हाराहारीमा भारतीय ट्रयाक्टर प्रयोग गरिएको छ । नदीलाई मध्य भागमा एकीकृत गर्ने उद्देश्यले च्यानल खनिएको आरक्षका वार्डेन रामदेव चौधरीले बताए । सुरुमा भारतीय पक्षले बिनाजानकारी एकतर्फी रुपमा च्यानल खनेपछि आरक्षले उक्त कार्य बन्द गरिदिएको थियो । भारतीय इन्जिनियरहरुले अनुमति लिएर च्यानल खन्नुको कारण नेपाली पक्षलाई जानकारी दिएपछि अनुमित दिइएको हो । दुई देशबीच भएको सम्झौतामा कोसी नदीको नियन्त्रण, व्यवस्थापन तथा बाँध निर्माण कार्यहरु भारत एक्लैले गर्दै आएको छ । १९९ वर्षका लागि नेपालले भारतलाई कोसी नदी रेखदेखका लागि दिएको छ । एकपक्षीय रुपमा भारतले बाँध निर्माण गर्दा नेपालका हजारौं बिगाह जमिन डुबानमा पर्ने र खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।


प्रकाशित : चैत्र २०, २०७५ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्