तस्बिरमा फर्की हेर्दा २०७५...

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं वरपरका डाँडामा हिउँझिलिमिली जानकी मन्दिर, जनकपुररौतहटको झोलुङ्गे पुलहिमालसँग सेल्फी घलेगाउँ, लमजुङकाठमाडौंको हिले सडकमा पर्यटक

काठमाडौं वरपरका डाँडामा हिउँ



Citizen

झिलिमिली जानकी मन्दिर, जनकपुर


रौतहटको झोलुङ्गे पुल


हिमालसँग सेल्फी घलेगाउँ, लमजुङ


काठमाडौंको हिले सडकमा पर्यटक



हावाहुरी र असिनाले सोत्तर पारेको केरा खेती, पदमपुर, चितवन


सराङकोटको सूर्योदय, कास्की


लुम्बिनीमा हट एयर बेलुन


तस्बिरहरू : कान्तिपुर फोटो विभाग

प्रकाशित : चैत्र ३०, २०७५ १७:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोही किन नाटक हेरोस्

सुरज सुवेदी

काठमाडौँ — काठमाडौंबाहिरका रंगमञ्च पनि सक्रिय रहे । पोखरा थिएटरले पटक–पटक काठमाडौंका नाटकहरुलाई बोलाएर मञ्चन ग‍र्‍यो । आफ्नै नाटक पनि मञ्चन ग‍र्‍यो । यस्तै जनकपुर, विराटनगर, झोराहाट, दमकमा पनि नाटक गतिविधि भइरहे । अन्तर्राष्ट्रिय नाटक महोत्सवका लागि काठमाडौं आएका विदेशी नाटकहरु पनि पुगे ।

काठमाडौको कौशी थिएटरमा 'इन ट्रान्जिट’ मञ्चन गर्दै भारतीय रंगकर्मीहरू । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर 

एक युवती पेटमा अछूत भनिएको प्रेमीको बच्चा बोकेर हिउँको बाटो लाग्छे । उसको पाइलामा रातो रगत पोखिइरहन्छ । पाइतालाहरू हिउँमा गाडिन्छन् तर रोकिन्नन् । उसलाई पुग्नु छ समाजभन्दा धेरै पर । पछाडि छाड्नु छ गर्भमै छोराछोरीको बिहे गरिदिने कठोर परम्परा । ऊ भागेकी हैन । वर्तमानसँग विद्रोह गरेकी हो ।

कर्णालीमा बसेर नाट्य साधना गरिरहेका निर्देशक हीरा बिजुली नेपालीको ‘गर्भ छिटा’ नाटकको यो अन्तिम दृश्य अहिले पनि आँखामा नाचिरहेको छ । मेरा लागि यो २०७५ सालमा हेरेका नाटकमध्येको उत्कृष्ट दृश्य हो । २०७५ वर्षभरि यात्रा गरी नेपाली नाटक कहाँ पुग्यो ? यात्रामा के–के टिपेर ल्याइयो ? कति सन्तुष्ट देखियो ? वर्षको अन्त्यतिर भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा कसरी रमाइयो ? आगामी वर्षमा कस्तो प्रभाव लिएर हिँड्नेछ ? आफूतिर फर्किएर सोच्नुपर्ने विषय के–के हुन् ?

लेख लेख्नुको एउटै कारण यो वर्ष र त्योभन्दा केही अगाडि प्रदर्शन भएका नाटकहरूलाई एकपल्ट सम्झिँदै यिनै विषयमा कुराकानी गर्न हो । मैले फर्किंदा जे देखें त्यसैलाई अक्षर बनाएको छु ।

जे विषयमा नाटक बनें
सम्भवतः पछिल्लो समयमा नेपाली साहित्य र कला क्षेत्रलाई सबैभन्दा प्रभाव पारेको विषय जनयुद्ध र यसको प्रभाव हो । यो वर्ष पनि त्यस विषयमा नाटकहरू बने । १२ निर्देशक सम्मिलित ‘नाटक निर्माण कार्यशाला’ पछि तयार भएको ‘खबर हराएको चिठी’, घिमिरे युवराजको ‘सखी’, किरण चाम्लिङको ‘जोखाना’, राज शाहको ‘जनयुद्ध जारी छ’ जस्ता नाटकले युद्धको झरीमा भिजेका तथा बाछिटामा परेका मानिसको कथा भने ।

अघिल्लो वर्ष दयाहाङ राईको ‘झ्यालिन्चा’ नाटकले पनि त्यही समयमा हराएकी एक पात्रको कथा भनेको थियो । इटालियन रंगकर्मी रोबर्टो सिली भन्छन्, ‘थिएटरले जहिल्यै भावनात्मक पुलको काम गर्नॅपर्छ ।’ यी नाटक पनि युद्धको समयमा भिन्नभिन्न भूगोलमा भिन्नभिन्न संस्कृतिका मानिसले भोगेका साझा भोगाइहरूमा पुल भए । अझ रमेश रञ्जनले लेखेको ‘सखी’ नाटक चरिकोट, जनकपुर र पोखरामा मञ्चन सकेर काठमाडौं छिरेको थियो । ‘खबर हराएको चिठी’ पनि पोखरामा मञ्चन भएर काठमाडौं आएको थियो । यी नाटकको यात्रा आफैंमा विम्बात्मक थियो । युद्धको असर फरक रूपमा फरक–फरक ठाउँमा परेको थियो भन्ने सन्देश थियो तिनमा ।

कुमार नगरकोटीले लेखेको घिमिरे युवराज निर्देशित ‘बाथटब’ ले नाटक लेखनको प्रयोगलाई नयाँ उचाइ दियो । जटिल कथानक, वास्तविक पात्र र समसामयिक सामाजिक राजनीतिक अवस्थाप्रतिको चोटिलो व्यंग्य मिसिएको कसिलो दार्शनिक चेत । नगरकोटीले आफ्नो आख्यानको स्वतन्त्र उडानलाई आफ्ना पात्रमार्फत नाटकमा खिपे । घिमिरे युवराज दर्शकसम्म पुग्ने माध्यम बने । पात्रजस्तै गहिरा र जटिल संवादहरू बोलिसक्दा सांकेतिक हुन्थे । दर्शकलाई मनमनै प्रश्न गर्न लगाउँथे ।

आकांक्षा कार्कीले ‘दयालु रूख’ नाटकमार्फत प्रकृति र मानिसको सम्बन्धलाई केलाइन् । रूखलाई प्रमुख पात्र बनाइएको नाटकमा एक मानिस जन्मिएदेखि मृत्युसम्म कसरी प्रकृतिसँग जोडिन्छ र हुर्किंदै जाँदा ऊ कसरी प्रकृतिलाई बेवास्ता गरिरहन्छ भन्ने प्रस्तुतीकरण दिइरहँदा उनले त्यसको दोस्रो तहमा आमा–बाउ र सन्तानको सम्बन्धलाई पनि छुन भ्याइन् । एक विदेशी लोककथालाई नेपाली छन्दमा घोलेर सुनाइन्, प्रत्यक्ष संगीतसँगै । रूखलाई व्यक्तीकरण गरी प्राण भरिन् ।

नाजिर हुसेनले ‘अग्ली डक्लिङ’ नाटकमा नृत्यमार्फत आफूले समाजमा भोगेको विषयलाई स्टेजसम्म ल्याए । पात्रको वेशभूषामा उनको प्रयोग सुन्दर थियो । विदेशी कथालाई उनले निर्देशन र प्रस्तुतिमा आफू बाँचेको समाज र त्यसका विविध आयामलाई आमा र छोराको सम्बन्धमार्फत केलाए । सुदाम सिकेले ‘पाँच’ नाटकमार्फत नेपाली रंगमञ्चमा शरीरको भाषालाई सशक्त माध्यम बनाए । अमूर्त शैली र इम्प्रोभाइजेसनमार्फत पात्रहरूलाई दृश्य खोज्न लगाएका उनले दर्शकलाई पर्याप्त सोच्ने ठाउँ दिए ।

नम्रता केसीको ‘राजेन्द्रलक्ष्मी’ र कविता श्रीनिवासको ‘कुमारी एन्ड द बिस्ट’ ले नृत्यमार्फत नेपाली इतिहासका दुई महिला पात्रलाई स्टेजमा ल्याए । नम्रताले कत्थक नृत्य प्रयोग गरिन् भने कविताले चरियालगायत नेवारी नृत्यलाई । ती दुवै प्रयासमा कमजोरी नभएका होइनन् तर यस विषयमा अध्ययन गर्न चाहनेहरूलाई त्यसले बाटो प्रदान अवश्य गरेका छन् । तिनले नाटकका विषय र त्यसलाई भन्ने शैलीमा नवीनता खोजे । राजेन्द्रलक्ष्मी एक ‘हिस्टोरिकल फेन्टासी’ मात्र नभएर एक सामाजिक यथार्थ थिइन् भन्नेमा जोड दिनु नम्रताको सफलता रह्यो ।

लुनिभा तुलाधरको ‘कोरा’ नाटकमा तिब्बती शरणार्थीको कथा उनियो । अघिल्लो वर्ष सुनील पोखरेलको निर्देशनमा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ र ‘हरियो ढुंगा’ ले भिन्न समयमा भिन्न भूगोलका भिन्नभिन्न मानिसले शरणार्थी भएर भोगेका अनुभवहरू स्टेजमा पुगे । पहिलोले भूगोल बाहिरको नेपाली कथा भन्यो, दोस्रोले नेपाल आएर शरण बसेको नेपालीभाषीको कथा भन्यो भने तेस्रोले नेपाल हुँदै भारतसम्म पुगेको तिब्बती नागरिकको कथा भन्यो । ती शरणार्थीको पीडाले भरिएको ठूलो पेन्टिङजस्ता नाटक, जहाँ सबैका फोटो अटाएका त थिए तर उज्याला थिएनन् ।

शरणार्थीको कथामा बनेका नाटकहरूले शरणार्थीको दुविधालाई बोके । त्यो दुविधाको महत्त्व अझै पनि छ किनकि बंगलादेशबाट हिँडेका रोहिङ्ग्याहरू नेपाल पनि आइपुगे । भूराजनीतिबाट हामी भाग्न सक्दैनौं, नाटक पनि भाग्नुहुँदैन । यस्तै आरके मेहताको ‘ज्युँदो आकाश’ ले लैंगिक अल्पसंख्यकहरूको विषयमा बोल्यो । रेणुका कार्कीको ‘साथीको कथा’ तथा ओस्कार वाइल्डको जीवनमा आधारित ‘ग्रस इन्डिसेन्सी’ नाटकले पनि दक्षिण एसियाली तथा युरोपियन समाजले समलिंगी सम्बन्धलाई हेर्ने दृष्टिकोणलाई स्टेजमा ल्याउने प्रयास गरे ।

लेखन, अनुवाद र थिएटर
निर्देशक र लेखक भएर नाटक लेख्ने तथा कथाबाट नाटक बनाउने क्रम यो वर्ष पनि चल्यो । दयाहाङ राईले ध्रॅवसत्य परियारलाई र घिमिरे युवराजले कुमार नगरकोटीलाई क्रमशः ‘जालिनी’ र ‘बाथटब’ नाटक लेखाए । गत वर्ष नगरकोटीले नै ‘झ्यालिन्चा’ लेखेका थिए । पछिल्लो क्रममा बीएस राईको कथालाई राजन मुकारुङले ‘जोखाना’ मा एडप्ट गरे । अघिल्लो वर्ष श्याम शाहको कथा ‘लाटीको छोरो’ पनि सुलक्षण भारतीले मञ्चन गरेका थिए । लेखक र निर्देशकको संयोजनमा कथा नाट्य रूपान्तरणमार्फत गरिएका यस्ता कामहरू नाट्य लेखन नबढेसम्म रहिरहनेछन् । ‘लिलामे माइलो’ तथा बुद्धिसागरको कथामा ‘गैंडा टाइम्स’ पनि बने ।

अनूदित नाटकहरू पनि मञ्चन भए । सुरज मल्लले भारतीय नाटकबाट ‘शकुन्तलाको औंठी’ अनूदित गरी मञ्चन गरे । रंगकर्मीकै कथा भएको तथा महिलाहरूको नियति खोतल्ने क्रममा कालिदासको समय र आधुनिक समयबीचको तुलना नाटकमा देखिन्थ्यो । पहिलो नाट्य निर्देशनमा सुरजले ठूलो आशा छर्न सफल भए । त्यसको लेखनशैली तथा विविध तहमा खेलिएको कथावाचन र संवाद बलिया थिए । चे शंकरले ‘कोरा’, विकास जोशीले ‘सकेको तिरौंला नत्र फिरिमा’ जस्ता अनूदित नाटक तयार गरे । तिब्बती शरणार्थी तेन्जिङ सोन्डूले लेखेका कविताहरूमा बनेको ‘कोरा’ ले फरक देखिने दुई विधालाई समेट्यो । अंग्रेजी नाटकहरू जस्ताको तस्तै पनि नेपालमा मञ्चन भए । चे शंकरले ‘सेम टाइम नेक्स्ट इयर’ लाई नेपाली दर्शकसामु ल्याए । साथै अर्जेन्टिनाको युद्धताकाको घटनालाई समेटिएको ‘लिटिल स्कुल’ पनि मञ्चन भयो ।

बालबालिकाहरूको उपस्थिति पनि थिएटरमा रह्यो । चे शंकरले बालबालिकालाई लक्षित गरी ‘मिस्टर फक्स एन्ड स्कुल ब्वाई’ तथा केदार श्रेष्ठले ‘उपियाँको निबन्ध’ बनाए । टंक चौलागाईंको नेतृत्वमा बाल नाट्य महोत्सव नै भयो । नेपाली नाटकको जग निर्माणमा ती महोत्सवहरूको भूमिका रहनेछ । काठमाडौंबाहिरका रंगमञ्च पनि सक्रिय रहे । पोखरा थिएटरले पटक–पटक काठमाडौंका नाटकहरूलाई बोलाएर मञ्चन ग‍र्‍यो । आफ्नै नाटक पनि मञ्चन ग‍र्‍यो । यस्तै जनकपुर, विराटनगर, झोराहाट, दमकमा पनि नाटक गतिविधि भइरहे । अन्तर्राष्ट्रिय नाटक महोत्सवका लागि काठमाडौं आएका विदेशी नाटकहरू पनि पुगे । महोत्सवमा कर्णालीको ‘गर्भ छिटा’ बाहेक सोलुखुम्बुको ‘आरन’ ले पनि प्रभाव छाड्यो । प्रणम आकाशले थारू भाषाको ‘करोट’ नाटक सर्वनाम थिएटरमा मञ्चन गराए । नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अलावा रारा नाटक महोत्सव पनि वर्षको अन्तिमतिर भयो ।

काठमाडौंले कौसी र कुञ्ज नाममा नयाँ थिएटर पायो । काठमाडौं मलबाट उठेको थिएटर मल कीर्तिपुर थिएटर भएर जाग्यो । ‘पुरानो घर’ थिएटर बन्दै छ, ‘थिएटर भिलेज’ पनि यसै वर्षसम्ममा उठ्ने तरखरमा छ । नयाँ–नयाँ नाट्य समूहहरू तयार मात्र भएका छैनन् विभिन्न नाटक पनि उत्पादन गरिरहेका छन् । सुरज मल्ल, सिजन दाहाल, सबिन कार्की, रेणुका कार्कीजस्ता नयाँ निर्देशक पनि जन्मिएका छन् ।

नाटक, बहस र सहभागिता
नाटकबारे बहस गर्न भनेर सुरु भएको ‘रंग प्रोसेस’ सिरिजले केही संस्करण चलेर निरन्तरता पाएन । अन्तर्राष्ट्रिय नाटक महोत्सवका दौरान भएका प्यानल डिस्कसनहरूमा नाटकका विविध पक्षबारे बहस भयो । कति बहस बरालिए, कतिमा बोल्ने तथा प्रश्न सोध्नेको तयारी देखिएन । नाटक बनाउने प्रक्रिया तथा नाटकबारे पर्याप्त बहस नहुनुको असर अन्तर्राष्ट्रिय नाटक महोत्सवको दौरान भएका निर्देशकहरूसँगको छलफलमा देखियो । नेपाली निर्देशकहरू त्यहाँ आफूले गरेको काम किन हो र त्यसको जरुरी किन छ भन्नेजस्ता कुराहरूमा धेरै खुलेर बोल्न सकेनन् वा प्रश्न सोध्नेले पनि उनीहरूलाई भन्दा विदेशी नाटकलाई नै प्राथमिकतामा राखे ।

नाटक मञ्चन हुनुसँगै त्यसको दीर्घकालीन प्रभाव र वरपरको विषयमा निर्देशक र कलाकार दुवैमा अध्ययनको कमी देखियो । अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आएका नाटकहरू सबै उत्कृष्ट थिए भन्ने होइन तर त्यहाँका निर्देशकहरू जुन रूपमा आफूले गरेको काममा स्पष्ट थिए, त्यसको तुलनामा नेपाली कम थिए । नाटक बन्न हतार गरे । संख्याको लोभमा दौडिएजस्तो देखियो । कतिको स्क्रिप्टमा पर्याप्त काम नभएको दखिन्थ्यो भने कतिको पात्र निर्माण तथा संवाद चुस्त नहुँदा फिक्का सुनिन्थे । नाटक मञ्चन भइसक्दा पनि रिहर्सल नसकिएको छनक पाइन्थ्यो । साथै नाटकको कक्षा लिन आएकाहरू सबैलाई स्टेजमा पु‍र्‍याउने लोभमा थिएटर तथा समूहहरू देखिए । तिनले थिएटरलाई भीड बनाउनेबाहेक खासै ठूलो योगदान गरेनन् । सबैलाई समेट्न बढी पात्र भएको नाटक खोज्ने वा लेख्ने रोग यो वर्ष पनि देखियो । यो नेपाली नाटकका लागि सुखद संकेत होइन ।

धेरै नाटकमा धेरै कुरा दोहोरिए । कथा भन्ने शैलीमा केहीबाहेक धेरैले कम्फर्ट जोनमै बसेर काम गरे । लाइभ म्युजिक फेसनको रूपमा पनि आएको देखियो । त्यो पछिल्लो समय नेपाली नाटकमा प्रयोग दर्साउने विम्ब बन्यो । नाटकमा लाइभ म्युजिक किन चाहियो वा त्यसले भन्ने तरिकामा के फरक पार्‍यो भन्ने कुरामा कमैले सम्बन्ध खोजे । जबरजस्ती हास्य दृश्य घुसाउने काम यो वर्ष पनि रोकिएन । फिल्ममा फाइट चल्छ भनेझैं नाटकमा कमेडी चल्ने फर्मॅलामा निर्देशक र कलाकार दुवैको विश्वास देखियो ।

दर्शक टेकन फर ग्रान्टेड होइनन्
एउटा नाटकमा ठगिएको महसुस गर्ने दर्शकले दुईवटा राम्रा नाटक नहेर्न सक्छ । नाटक हेरिसकेपछि दर्शकले पैसा खेर गएको महसुस गर्नॅ सुखद होइन । विद्यार्थी संस्करणको बहाना होस् वा अरू केही हतारमा पस्किएको अधकल्चो खानाजस्ता नाटकहरूले दर्शकलाई अपच गराइरहे । पर्याप्त तयारी नदेखिँदै स्टेजमा अभिनय हेर्न गाह्रो हुन्थ्यो । घोकेका डायलग कुनै अभिव्यक्तिबिना पढिएको हेर्न पक्कै पनि कोही थिएटर पुग्दैन । कि त नाटकहरूमा ‘आफ्नै जोखिममा हेर्नॅहोस्’ लेखिनुप‍र्‍यो नत्र भने महँगो टिकटमा सस्तो नाटक दर्शकलाई हेराउने क्रमले नेपाली नाटकलाई डुबाउनेछ । नेपाली नाटकमा दर्शकको मूल्यांकन, अपेक्षा तथा अनुभव समेटेर विशद् अध्ययनको खाँचो देखिन्छ । दर्शक आइहाल्छन् भनेर अपेक्षा गर्न मिल्दैन ।

अन्तर्राष्ट्रिय नाटक महोत्सवको प्रभाव
नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवले नाटकमा पछिल्लो क्रममा भइरहेका विभिन्न प्रयोगहरूलाई एकैपल्ट हेर्ने मौका दियो । शरीरको भाषामार्फत गरिएका नाटकहरू विशेष थिए । फरक–फरक देशबाट आएका फरक स्वादका नाटकहरूले नेपाली नाटक क्षेत्रमा नयाँ मेनु थपेका छन् । कुनैले यहाँसम्म जान सकिन्छ भनेका छन् भनें कुनैले जाने बाटो देखाइदिएका छन् । साथै एउटै कथालाई कसरी फरक तरिकाले भन्न सकिन्छ तथा प्रप्स, सेटिङ, संगीत, प्रकाशलगायत कुरालाई विभिन्न प्रयोजनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको दायरा फराकिलो भएको छ ।

बक्सिङ रिङको सेटिङमा महिलाको संघर्ष देखाउने ‘आई एम नट हियर’, लैंगिक र सामाजिक अवस्थालाई देखाउने ‘रूप आरूप’, एक लेखकको जीवनमा तीन चरणको सचेतनालाई एकैसाथ बोकेको ‘इक मुलाकात मन्टो से’, महिला संघर्षलाई नृत्य र शारीरिक मुभमेन्टमा उनिएको ‘इन ट्रान्जिट’ तथा मोटा कलाकारहरूको मात्र अभिनय रहेको ‘हेड टु हेड’ जस्ता नाटकहरूले समाजमा विद्यमान विषयलाई फरक शैली र प्रस्तुतिबाट मात्र देखाएनन्, विषयलाई हेर्ने कोणहरूको आवश्यकता पनि औंल्याए । कुनै कथा किन भन्ने तथा त्यसलाई अन्य स्थानमा कसरी भनिरहिएको छ भन्ने विषयमा एकपल्ट प्रश्न गर्न पनि तिनले उत्साह छरेका छन् । यसले नेपाली रंगमञ्चलाई आगामी केही वर्षसम्म प्रभाव पार्नेछ । वरपर भइरहेका कथाहरूलाई हेर्ने शैली फरक हुनेछन् ।

प्रकाशित : चैत्र ३०, २०७५ १७:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT