बुद्धकृष्णले सातौंपल्ट जिब्रो छेडाए [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — मध्यपुरथिमि ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पल्ट जिब्रो छेडाएका छन् । भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुरथिमि ८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

प्रकाशित : वैशाख २, २०७६ १६:१९

बोडे निवासी ४७ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४, ०७५ र ०७६मा गरी सातौँ पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन्। जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ ।

जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेड्ने चलन छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेडदा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।

Citizen

विशेष पहिरन र खुट्टामा तान्क्रिक घण्टी (घुंग्रु) लगाई जिब्रो छेड्नुअघि शत्तिपीठहरूको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडेर नगरपरिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।

हालसम्म ककसले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि पछिल्लो तथ्यांकअनुसार हर्कनर सिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ६ र जुजुभाइ बास श्रेष्ठले ८ पल्ट जिब्रो छेडेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हुरी पीडितको दुखेसो- 'घामको रापले टेन्ट भित्र बस्नै सकिएन'

पवन यादव

सिमरा — दुई साताअघि आएको विनाशकारी हवाहुन्डरीबाट पीडित भएकाहरुलाई पालमा घामको रापले बस्न मुस्किल परेको छ ।  चार दिनदेखि बढेको चर्को घामले दिउँसो टेन्टमा बस्नै नसक्ने अवस्था आएको पीडितको गुनासो छ । 

२ साताअघि बारामा आएको विनाशकारी हवाहुन्डरीले घरबारबिहीन बनाएपछि अस्थायी बसोबासको लागि नेपाली सेना र सशस्त्र प्रहरीले विभिन्न दातृ संस्थाको सहयोगमा बनाइदिएका टेन्टमा प्रचण्ड घामले बस्न मुश्किल भएपछि छिमेकीको भारदलीमा शीतल खोज्न पुगेकी बाराको सुवर्ण गाउँपालिका-८ हर्दिया प्रसुरामपुरकी निसहारी देवी सहितका पीडित । निसहारीले ५ महिनाको छोरी कुसुम र ३ वर्षीय छोरा रोबा कुमार यादवलाई गर्मी छल्न छिमेकीकोमा पुगेकी थिइन् । तस्बिरः पवन यादव

'टेन्टले यहाँको मुसलधारे वर्षालाई पनि छेक्न सकेको छैन,’ पीडित भन्छन्, 'प्रचण्ड घामले त टेन्टमा बस्नै नसक्ने भएका छौँ।’ टेन्ट तातेर आगो जस्तै हुने गरेको छ। बिहान १० देखि अपरान्ह ५ बजेसम्म पीडितहरू बाहिरै बसेर घाम छल्ने गरेका छन्।

टेन्टमा भएको गर्मी सहन नसकेर बाराको सुवर्ण गाउँपालिका–८ हर्दिया प्रसुरामपुरकी निसहारी देवी छिमेकीको भारदलीमा आइतबार पुगेकी थिइन् । उनी ५ महिनाको छोरी कुसुम र ३ वर्षीय छोरा रोबा कुमार यादवलाई लिएर गर्मी छल्न छिमेकीको बरन्डामा आश्रयका लागि पुगेकी थिइन्। दिउँसो घामबाट बच्न ३ छोरी र एक छोरा सहित छटपटिएर भौँतारिनु परेको उनले बताइन्। '१० बजेपछि टेन्टमा एक छिन पनि बस्न सकिँदैन,’ उनले भनिन्, 'टेन्टमा गर्मीले असाध्यै पीडा भएको छ, टेन्टभित्र कत्ति गर्मी हुन्छ। भनेर साध्य छैन।'

टेन्टमा भत्केको घरबाट निकालिएका सामान र पाएको राहत सामाग्री सुरक्षित राखिएको छ। हावाको वेगले टेन्ट उडाउने खतरा छ। वर्षाले टेन्ट चुहिन थालेको छ। टेन्टभित्र पानी पस्न थालेपछि वर्षादको बेला जीउ ज्यान जोगाउन मुस्किल पर्ने गरेको छ। घर भत्किएर विपत्तिको बेला धेरै पीडा भोग्नु परेको पीडित निसहारी देवीले बताइन्।

उनी जस्तै टेन्टको गर्मी खप्न नसकेर गाउँकै अर्का हावाहुन्डरी पीडित जमिला खातुन पनि सासू र बुहारी सहित रुख नजिक बनाइएको टहरामा दिनभर बस्ने गरेका छन्। टेन्टभित्र गर्मीले रिँगटा लागेर लड्न सक्ने अनुभूति हुने गरेको उनले बताइन्। '१० बजेपछि टेन्टमा पस्ने बित्तिकै फेन्ट भएर लडिन्छ जस्तो लाग्छ,’ उनले भनिन्,' टेन्टभित्र धेरै गाह्रो भएपछि बाहिर बस्न बाध्य छौँ।' उनीजस्तै गाउँका सबै हावाहुरी पीडित दिनभर टेन्टमा बस्दैनन्। उनीहरू छिमेकीको बरन्डा, टहरा र छहारीमा बसेर दिन बिताउने गरेको बताउँछन्। 'सरकारले हाम्रो भत्केको घर बनाइदिन्छ रे? सुनेका छौँ। तर कहिले सम्म घर बन्छ?', टेन्टमा बस्न समस्या भएकोले यथाशीघ्र घर निर्माण गरिदिन माग गर्दै पीडित मजिरा खातुनले भनिन्,'हामीले कहिलेदेखि घरमा शान्तिपूर्ण बस्न पाउछौं?'

अधिकांश पीडितले घर बनाइदिने आश्वासन सहित थुप्रै संघसंस्थाले राहत उपलब्ध गराइदिने आश्वासन दिएपनि वास्तविकतामा सहयोग भने पाएका छैनन्। 'हामीले घर बनाइदिन्छु, राहत दिलाउने आश्वासन कहिलेसम्म सुन्नुपर्ने?', उनले भनिन्,'सरकारले हामीलाई बस्ने घर बनाइदिए पुग्छ, अरू अरू केही चाहिँदैन।' उनले खेतमा लगाएको गहुँ बाली खेतमै कुहिन थालेको छ। हुन्डरीले गहुँ बाली भुईँमा झारीदिएपछि खेतमै नष्ट भइरहेको बताइन्।

पीडितले यथाशीघ्र घर बनाइदिन सरकारसित माग गरेका छन्। हवाहुन्डरीले भत्काएको घर पुनःनिर्माणका लागि आइतबार जनकपुरमा जिल्ला प्रकोप उद्धार समितिको बैठक बसेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए। सरकारले पीडितको घर पुनः निर्माण गर्न नेपाली सेना खटाउने निर्णय गरिसकेको छ। 'पीडितको घर सरकारले बनाइदिन्छ, पीडितहरू ढुक्क हुनुपर्‍यो, घर पुनःनिर्माणको लागत इस्टिमेट तयार भएको छैन,' प्रजिअ पौडेलले भने, 'पीडितको घर केन्द्र सरकारले पुन निर्माण गरिदिन्छ।'

तर पुनः निर्माण कार्य सुरु गर्ने तिथिमिति टुंगो लागिनसकेको बताए। उनका अनुसार नेपाली सेनाले पीडितको घर पुनः निर्माण योजना तयार गरेपछि सार्वजनिक गर्नेछन्। बारामा हावाहुन्डरीले एक हजार ३ सय ६२ घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित : वैशाख २, २०७६ १६:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT