नुवाकोट भैरवी र जालपादेवीमा जात्रा

कृष्ण थापा

नुवाकोट — बैशाख पूणिर्माको अवसरमा नुवाकोट भैरवी र जलपादेवीको जात्रा सुरु भएको छ । विदुरनगरपालिका २ नुवाकोट साततल्ले मूनि रहेको बूढी भैरवीथान र व्रम्हटोलमा रहेको भैरवीमा ४२ हात लामो लिंगोसहित आलम (नागको प्रतीक) ठड्याएपछि जात्रा सुरु भएको हो ।


प्रकाशित : वैशाख ७, २०७६ १०:२७

यो जात्रालाई भैरवी वर्ष बन्धन अर्थात् सिन्दुरे जात्रा भनेर चिनिन्छ । साततल्ले दरबारको उत्तरपट्टी रहेको तुलजा भवानीमा धामी, धमिनी, गणेश र कुमारसहित तान्त्रिक विधिअनुसार महाबलि लिएपछि रथ लिएर शुक्रबार राति देवीहरुको भेटघाट गर्ने ठाउँ देवीघाटमा रहेको जलपादेवीलाई भैरवीको अष्टमात्रिका, बाह्र गण लिएर रथ र धामीसहित छ घण्टाको बाटो पैदल हिडेर देवीघाट जाने चलन छ ।

शुक्रबार राति पुगेका धामी हरिमानसिं डंगोल र पूजाविधि गर्ने गुभाजुसहित देवीघाटमा छन् । देवीघाटमा बलिपूजा सहित धामीले बलि लिइरहेका छन् ।

नयाँ वर्षको भविष्यबारे धामीले राति १२ बजे, देवीघाटमा देवीले राष्ट्रको बारेमा भविष्यवाणी गर्ने र सो लिखित राष्ट्र प्रमुखलाई पठाउने चलन रहेको राजप्रतिनिधि महेन्द्रबहादुर शाहीले बताए ।

शनिबार राति भैरवीदेवीको रथसहित धामी फर्किएर भैरवी मन्दिर मूनि रहेको धरमपानीमा बस्छन् । आइतबार सरकारी तवरबाट सलामी दिएपछि बाजागाजा सहित रथ लिएर नुवाकोटडाँडामा रहेको भैरवी मन्दिरमा राजप्रतिनिधि शाहीले सिन्दुर छर्केर धामीलाई हालेपछि सिन्दुरे जात्रा गर्ने चलन रहेको छ ।

प्रतिक्रिया
पठाउनुहोस्

हिमाल फर्किंदै भेडीगोठ

यस वर्ष हिमाली क्षेत्रमा भएको भारी हिमपताले प्रभावित भेडापालक ढिलोगरी फर्कंदै
मनोज बडू

दार्चुला — हिउँदमा जाडो छल्न बेंसी झरेका भेडीगोठ चिसो घटेपछि हिमालतिर उक्लिन थालेका छन् । यहाँका भेडापालक किसान हिउँदमा बेंसी र न्यानो सिजनमा हिमालतिर भेडीगोठ सार्ने गर्छन् । ‘यसअघिका वर्ष चैतमा फर्किसक्थे, योपालि वैशाख लागेको छ,’ नौगाड गाउँपालिका २ सुन्डमुडका रामसिंह धामीले भने, ‘यस वर्ष हिमाली क्षेत्रमा हिमपात धेरै भएकाले ढिलोगरी हिमालतिर जाँदै छौं ।’

नौगाड गाउँपालिका ३ देल्लकमा न्यानो र चरन क्षेत्र अभाव हुँदा चिसो छल्न तल झरेका भेडीगोठ हिमाल उक्लँदै । तस्बिर : मनोज/कान्तिपुर

जिल्लाका व्यास, अपीहिमाल, नौगाड, मार्मा र दुहुलगायत गाउँपालिकाकाबासिन्दाको मुख्य पेसा अहिले पनि भेडाबाख्रा पालन हो ।चरन क्षेत्र रहेको हिमाली भेकमा हिउ जमेपछि बेंसी झरेका भेडीगोठहरूलाई चरन क्षेत्र अभाव रहेको धामीले बताए । वेशी क्षेत्रमा भेडाबाख्रालाई चराउन ठाउँ मिल्नै छोडेको छ । उनले भने, ‘बेंसीमा धेरै समयसम्म भेडीगोठ राख्न सकिँदैन ।’

यसअघिका वर्षमा यो समयमा भेडीगोठ हिमाल पुगिसक्थे । यसपालि हिमाली क्षेत्रमा अझै हिउँ नपग्लँदा भेडीगोठ पुरानै ठाउँमा पुर्‍याउन सकिएको छैन । यहाँको नजिकका जंगली क्षेत्र अहिले स्थानीयका सामुदायिक वन भइसकेका छन् । हिउँदको समयमा मेलापाखामा घाँस पाइँदैन । बेंसीको अन्य क्षेत्रमा किसानहरूको खेतीपाती हुने हुँदा भेडापालनका लागि उफयुक्त हिमाल नै हो । त्रमिक रूपमा चरन क्षेत्र घट्दै गएकोहुनाले भेडापालन संकटमा परेको व्यवसायीहरू बताउँछन् ।

पहिले पहिले प्रशस्त जंगल भएकाले जिल्लाका सबै ठाउँमा भेडाबाख्रा पालेको भेटिन्थे । यो क्रम विस्तारै घट्न थालेको स्थानीय बासिन्दा बताउँछन् । तर, पछिल्लो समय व्यास, नौगाड, दुहु, अपीहिमाल गाउँपालिकाका विभिन्न ठाउँमा भेडापालन हुने गर्छ । यहाँका स्थानीयले पुस्तौंदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न सक्दैनन् । उनीहरूले मौसमअनुसार हिमालदेखि पहाडसम्म डुलाउनेपर्ने व्यवसायी बताउँछन् । चरन क्षेत्र बढी भएको ठाउँमा भेडापालन व्यवसाय चलेकै छ । अन्य ठाउँमा क्रमिक रूपमा घट्दै गएको नौगाड गाउँपालिका १ इयरकोटका जयदेव महतोले बताए ।

सडक मार्गको पहुँच नपुगेको ठाउँमा ढुवानीको प्रमुख साधन अहिले पनि भेडाच्यांग्रा नै हुन् । साँघुरो बाटोमा सहजै र सुरक्षित रूपमा सामान ढुवानी गर्न सकिने भएकाले हिमाली क्षेत्रहरूमा भेडाबाख्रामा सामान बोक्ने क्रम अझै हटेको छैन । भेडापालन व्यवसाय पछिल्लो समय घट्दै गए पनि धेरैले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन् ।

‘नुन, चामल, गुडलगायत वस्तुको ढुवानी भेडाबाख्राबाटै गरिन्थ्यो,’ नौगाड गाउँपालिका १ इयरकोटका उज्जले डडालले भने, ‘पहिला सबैभन्दा बढी भेडाबाख्राहरूको ऊन प्रयोगमा ल्याइथ्यो, त्यो पनि अहिले घटिसकेको छ ।’ भेडाबाख्राको ऊनबाट अतिथि सत्कारका लागि ओछ्याउने राडी तथा जाडो समयमा चिसोबाट बच्न सिरकका रूपमा प्रयोग गरिने पाखी तयार गरिने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्