कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यसरी गरियो धुलिखेलमा विमान दुर्घटनाको उद्धार अभ्यास [फोटोफिचर]

नगेन्द्र अधिकारी, तस्बिर : अंगद ढकाल

काभ्रे — काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको फोनमा घण्टी बज्यो, तुम्लिङटारबाट काठमाडौंतर्फ जाँदै गरेको जहाज १ बजेदेखि सम्पर्क विहीन अवस्थामा छ । एक प्रत्यक्षदर्शीले प्रहरीमा फोन गरेर धुलिखेलको देविस्थानडाँडामा प्लेन खसेको र धुँवा आएको जानकारी आएपछि प्रजिअ राउतले तत्काल सुरक्षा निकायलाई खबर गरे ।

नेपाली सेनाको विष्णु दल गण, जिल्ला प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटियो । प्रजिअ राउतले १ः१० बजे कमान्ड पोस्ट खडा गरे र तयारी अवस्थामा रहन अस्पताल, दमकल र एम्बुलेन्सलाई खबर गरे । धुलिखेल अस्पतालको आकस्मिक कक्षमा बेड खाली गरिए, दमकल र एम्बुलेन्स आदेश आउने बित्तिकै ‘मुभ’ हुने गरी तयार भए ।

सुरक्षाकर्मीको टोलीले घटनास्थलमा रहेका ७ जना घाइतेको तत्काल उद्धार गर्‍यो । नेपाली सेनाको एनए–०५४ कल साइनको हेलिकप्टरले गम्भीर घाइते १ जनालाई उपचारको लागि अस्पताल लग्यो । १० जना मृत फेला गरे । प्रजिअ राउतले उद्धार संलग्न सबै सुरक्षा निकायका अधिकारी, नागरिक उड्ययन प्राधिकरणको टोलीलाई धन्यवाद दिए ।

त्यसपछि एकाएक माहौल बदलियो, दुर्घटना वास्तविक नभई कृत्रिम हो भन्ने भएपछि सबै अचम्मित भए । नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय समितिले ‘वायुयान खोज तथा उद्धार सम्बन्धी पूर्णकालीन अभ्यास’ पहिलो पटक गरेको हो । ‘धुलिखेल अस्पतालको इमर्जेन्सीदेखि सबै पत्रकारसम्मलाई फोन गरेर जानकारी दिए,’ राउतले भने, ‘खासमा अभ्यास हो, वास्तविक बनाउन सबै प्रयास गरियो ।’

प्राधिकरणका प्रबन्धक राजन ढुंगेलका अनुसार, नेपालमा गरिएको यो पहिलो पूर्णकालीन अभ्यास हो । ‘स–साना पहिला पनि हुँदै आएको थियो, पूर्णकालीन भने यो पहिलो पटक हो,’ ढुंगेलले भने, ‘विमान दुर्घटनामा सबै पक्षलाई संलग्न गराएर कसरी खोज तथा उद्धार प्रभावकारी बनाउने भन्ने अभ्यास हो ।’


प्रकाशित : वैशाख २५, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्