१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रातो मत्स्येन्द्रनाथ रथ जावलाखेलमा [तस्बिरहरु]

प्रशान्त माली, तस्बिर : इलिट जोशी

ललितपुर — अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथ रथ बिहीबार जावलाखेल पुर्‍याइएको छ । अब दायाँहातमा वरदमुद्रा र बायाँमा कमलको फूल लिएका रातो वर्ण, शिरमा बहुमूल्य हिरामोती जडित मुकुट, निधारमा टिका, कानमा रत्नजडित गहना, घाँटीमा सत्यनागको माला, हातमा चुरा र खुट्टामा कल्लीले सुसज्जित मस्त्येन्द्रनाथको भोटो जात्रा २६ गते हुनेछ ।

मत्स्येन्द्रनाथ रथसँगै जटाधारी लोकेश्वर नामबाट प्रशिद्ध मीननाथलाई पनि तानेर जावलाखेल पुर्‍याइएको छ । वैष्णवीले विष्णु, शैवले शिव, शाक्तले शक्ति, सौरले सूर्य, ब्राह्मणले लोकेश्वर र बौद्धले करुणामयका रुपमा मानिने मत्स्येन्द्रनाथलाई सिद्धेश्वर पनि भनिन्छ । जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले ओढाई राजकीय सम्मानसाथ पुर्‍याइएको थियो ।

नेपालमा १२ वर्षसम्म अनिकाल परेकाले वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापूले भारत असमको कामरुपकामाक्ष पर्वतबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको लोक कथन छ । नेपालको सर्वप्राचिन गोपाल राजवंशावलीमा पनि नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको यात्रा चलाए भन्ने उल्लेख छ । वैशाखमा हुने रथ यात्राका लागि आमाको मुख हेर्ने दिनमा बज्राचार्य, पानेजु, मालिनीका साथ अन्य व्यक्तिहरु बुङमती बस्तीबाट दक्षिणपश्चिम गाउँ डुकुछापस्थित कटुवाल दहमा पुग्छन् ।

अक्षय तृतीयामा रथजात्रा निर्विघन रुपमा सम्पन्न होस् र मृतकहरुका आत्माले सजिलै वैतरणी नदी तरोस् भनी मस्त्येन्द्रनाथको अगाडि गाईदान गरिन्छ । त्यसको भोलिपल्ट रथ पुल्चोकबाट तानेर पाटन गाःबहाल पुर्‍याइ जात्रा प्रारम्भ गरिने चलन छ ।


प्रकाशित : जेष्ठ २३, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्