कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

झरीले बेहाल जनजीवन [तस्बिरहरु]

शब्द/तस्विर: जितेन्द्र साह

विराटनगर — विराटनगरमा सोमबार बिहान मुस्किलले ३५ मिनेट जति पानी पर्दा जनजीवन बेहाल भयो । स्थानीयको दिनचर्या संघर्षमय बन्यो । यो महानगरको सबैभन्दा मुख्य क्षेत्र हस्पिटल चोकदेखि शनिहाटसम्मको नाला एवं ढल भरिएर घर/पसल, सडक, सहिद रंगशाला र कोसी अञ्चल अस्पतालकै मुख्यद्वारमा आवागमनमै हम्मे पर्ने गरी पानी जम्यो । महानगरको अन्य भेकको त के कुरा गरि भयो र ? मुसलधारे वर्षा हुँदा वा दिनभरी पानी पर्दा यहाँ के हुन्छ होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

सबैतिर पूर्वाधार निर्माण नसकिँदा ढल र नाला भरिएर पानीले निकास नपाउनु एवं अवैज्ञानिक योजनाले सडकको उचाई घरपसलको सतहको समानान्तर वा त्योभन्दा बढी हुँदा वर्षामा यो महानगरमा जतात्यतै पानी जमेर स–साना अस्थायी पोखरीहरु बन्न पुग्छ ।

आवागमनको मुख्य थलो मानिने कोसी अञ्चल अस्पतालको द्वार र सहिद रंगशालाको मुख्य प्रवेश ढोका जलमग्न भइ आवागमनमै कठिनाइ हुन्छ । खेलकुदको अभ्यास र व्यायाम गर्न रंगशाला पुगेकाले त पर्खाल नाँघन बाध्य हुनुपर्छ । अस्पताल आएका सेवाग्राही जसोतसो यताउतिबाट ओहोरदोहोर गरिरहेका हुन्छन् ।

मुख्य सरकारी कार्यालय, अस्पताल र संघसंस्था भएको हस्पिटल चोक वरिपरिकालाई अति आवश्यक कामकालागि बाहिर निस्कँदा र अरुतिरकालाई यहाँ आउनलाई पनि सोच्नै पर्छ । पत्रपत्रिका र औषधि किन्न एवं बिरामी भेट्न अस्पताल आएकाहरु पानी भरिएर नदेखिने खाल्डामा लडिरहेका हुन्छन् । हल्का वर्षामा पनि ठाउँठाउँमा पानी भरिएर आवागमन अवरुद्ध हुनु महानगर विराटनगरको नयाँ समस्या होइन । तर आधाअधुरा निर्माणले समस्या झनै बल्झिएको छ । सबैतिर जारी पूर्वाधार विकासको काम सकिएपछि वर्षामा हिलाम्य र घाम लागेको बेला धुलाम्य हुने अवस्थाको अन्त्य हुने महानगरपालिका कार्यालयका पदाधिकारीहरुले भनिरहेकै छन् ।

उहिलेदेखि रोकिएको कामले गति लिएकाले नागरिक समाज खुशी हुनुपर्ने र अर्को वर्षसम्म महानगरको स्वरुप फेरिइ सकिने उनीहरुको दाबी छ । तर सबैतिर मापदण्ड अनुरुप व्यवस्थित नाला तथा सडक नबनेकाले वर्षामा यी बाधाअड्चन आइराख्ने स्थानीय बताउँछन् । स्थानीयको अनुसार सडकको सतह र नालाको उचाई घरहरुभन्दा बढी हुँदा वर्षाको पानीले निकास पाइरहेको छैन । अर्कोतिर महानगरबासीको महत्वपूर्ण साझा सवाल ‘जनतालाई पीडा दिने गरी जेठ/असारमै विकास किन ? अरु बेला गर्दा हुन्न र ?’


प्रकाशित : जेष्ठ २७, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्