१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

उपराष्ट्रपतिसँगै योग

रमेशकुमार पौडेल

चितवन — उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार बिहान योग गरेर बिताए । अन्तराष्ट्रिय योग दिवसको अवसरमा भरतपुरमा आयोजना भएको कार्यक्रमको उद्घाटन गरेका उपराष्ट्रपति पुनले योग अभ्यास गरेका हुन ।

पाँचौ अन्तराष्ट्रिय योग दिवसका सन्दर्भमा पतञ्जली योग समिति चितवन शाखाले भरतपुरको प्रहरी तालिम केन्द्रमा योग शिविर आयोजना गरेको थियो । उपराष्ट्रपति पुनले नेपालको हिमालय क्षेत्रबाट फैलिएको योग र शिक्षालाई आज संसारभरका मानिसले अंगिकार गरेको बताए ।

उनले भने ‘नेपालबाट फैलिएर अन्तर्राष्ट्रिय जगतले स्वीकार गरेको र संयुक्त राष्ट्र संघको ६९ औं महासभाले जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विश्वभरका योग अनुरागीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ योगले रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहेको र आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको उपराष्ट्रपति पुनको भनाइ थियो ।

उनले योगशास्त्रका मुख्य व्यक्ति पतञ्जली पनि नेपालमै जन्मेको पत्ता लागेको बताए । ‘केही दिन अघिमात्रै एकजना विज्ञले आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलीको जन्म नेपालको अर्घखाँची जिल्लामा भएको प्रमाणसहित दाबी गरेका छन् । आयुर्वेद शिरोमणि मानिने आचार्य बालकृष्ण नेपालकै हुन्’ उपराष्ट्रपति पुनको भानइ थियो ।

यस्ता कारणहरुले योग नेपाली भूमिबाट विश्वभर फैलिएको सन्देश दिने उनले बताए । ‘म योगप्रति गौरव गर्न सबै नेपालीहरुमा अपिल गर्छु । सरकारी प्रयासमै सुरु भएर सबै जिल्लामा योग दिवस मनाउने कार्यक्रमलाई प्रभावकारी बनाउँदै प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म योगलाई पाठ्यक्रममा राख्ने यसअघि सुरु भएको प्रयासलाई सार्थकता दिन म सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु’ उपराष्ट्रपति पुनले भने ।

प्रकाशित : असार ६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्