यसरी मनाइयो भुमे पर्व (तस्बिरहरु)

काशीराम डाँगी

थबाङ, रोल्पा — रोल्पा रुकुमका गाउँहरुमा असार १ देखि ५ गतेसम्म नाचेर मनाइने भुमे पर्व यसपटक पनि भव्य रुपमा मनाइयो । अघिल्ला वर्ष झैं रोल्पा रुकुमका मगर गाउँहरुमा भुमे पर्वको निकै रौनकता देखियो ।

प्रकाशित : असार ९, २०७६ १५:४९

यो पर्व मान्न घरदेखि टाढा पुगेका मानिसहरु गाउँसम्मै आइपुगे । उनीहरु गाउँमा आयोजित पर्व मान्न नाच समेत नाचे । रोल्पाको थबाङ लगायतका गाउँहरुमा भुमे नाच धुमधाम नाच्ने चलन छ ।

मूल घर र गाउँबाट टाढा रहेकाले उतै भुमे पर्व मनाउने गरेका छन् । दाङ, बाँके, रुपन्देही, काठमाडौंका साथै भारत, अमेरिका र युरोपमा समेत त्यहाँ पुगेका मगरहरुले भुमे पर्व मनाउने र नाच नाच्ने चलन विस्तार गरेका छन् ।

असार १ गतेदेखि नै आफ्नो पोशाकमा मगर महिला र पुरुषहरु सजिएर नाच्न ठूलै मैदान भएको स्थान छान्छन् । त्यही गाउँका जेष्ठ नागरिकदेखि बालबालिकासम्म भेला हुन्छन् । ठूलो गोलो घेरा पारेर मगर समुदाय नाच्छन् । भुमे पर्वका बेला नाचिने नाचलाई थबाङमा स्थानीयले ‘नोकोबाङ्गे’ नाच भन्छन् ।

भुमेका अतिरिक्त अन्य पर्वमा पनि यो नाच नाच्ने चलन छ । नाच नाच्नुअघि नाचका गुरु, अगुवा र जेष्ठ नागरिकबाट केही समय तालिम लिने पुरानो चलन छ । भुमे पर्वका बेला यो नाच नाच्न परिवार र गाउँका सबै एकै स्थानमा भेला हुन्छन् । थबाङमा गाउँपालिकाको मैदानमा वर्षौदेखि यो नाच नाच्दै आएको स्थानीयले बताए ।

यसै पर्व र नाचसँग जोडेर रुकुम पूर्वमा गाउँपालिकाको नाम नै भुमे राखिएको छ । यहाँ मगरको बाक्लो बसोबास भएको र जताततै भुमे नाच नाच्ने चलन रहेकाले गाउँको नाम पनि भुमे राखिएको हो ।

प्रतिक्रिया
पठाउनुहोस्

विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ : गृह

रासस

काठमाडौँ — सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुबानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्व तयारी गरिएको जनाएको छ ।


प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सबै प्रदेशका विभिन्न रणनीतिक स्थानमा खोज उद्धार सामग्री सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताए। त्यसक्रममा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति भएको, जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन सम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याइसकेको तथा स्थानीय तहमा समेत पूर्व तयारी तथा प्रतिकार्यका लागि सक्रिय रहने व्यवस्था मिलाइसकेको उनले जानकारी दिए।

विपद् व्यवस्थापनको आपतकालीन कार्यको समन्वय गर्न केन्द्रमा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रदेशस्तरमा २ र ५ मा बाहेक ५ प्रदेशमा आपतकालीन केन्द्र तथा ५२ जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा रहेको जानकारी दिइयो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकै रहेको मानवीय सहायतास्थलबाट गतवर्ष नै सातवटै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा विपद् पूर्व तयारीका लागि टेन्ट, (त्रिपाल), डोरी, जेनेरेजटर र प्लाष्टिक सिटलगायतका सामग्री भण्डारणमा रहेको सरकारले जानकारी गराएको छ।
समितिले आगामी मनसुनमा बाढी, पहिरो, नदी कटान, हावाहुरी चट्याङ, आँधिबेरीबाट हुनसक्ने जनधनको क्षतिको आकलन र विश्लेषण गरी सुरक्षा निकाय, संघीय, प्रादेशिक र स्थानीय समितिको समन्वयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न व्यवस्थित पूर्व तयारी एवं प्रतिकार्य योजना बनाएर काम गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले भनेको छ, 'विपद् जोखिम व्यवस्थापन कार्यमा एकरुपता ल्याउन, पूर्व तयारी, प्रतिकार्य, पुनर्वास र पुनःनिर्माणका लागि सम्बन्धित निकायबीच समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण यथाशीघ्र गठन गर्ने तर्फ ध्यान दिइयोस्।'

प्रकाशित : असार ९, २०७६ १५:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्