ठूलो स्याफ्रूमा प्याराग्लाइडिङको परीक्षण उडान (तस्बिरहरु)

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — गोसाइकुण्ड गाउँपालिक–५ ठूलोस्याफ्रुमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । भुल्दी गाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले बिहीबार ठूलो स्याफ्रूमा परीक्षण उडान गरेको हो । प्याराग्लाइडिङको उडान परीक्षण तीन दिनसम्म चल्ने छ । साहसिक खेलको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्य सहित जिल्लामै पहिलोपटक प्याराग्लाइडिङ परीक्षण उडान गरिएको समितिका सचिव दावा तामाङले बताए ।

दुर्सागाङदेखि ठूलो स्याफ्रूसम्म बिहीबार ३ वटा उडान भरिएको छ । काठमाडौंबाट आएका ४ जना पाइलटले दुर्सागाङबाट उडान भरेर ठूलो स्याफ्रूमा १२ मिनेटमा अवतरण गरेका थिए । उत्तरी मोहडामा फर्केको जमिन र सन्तुलित हावा चल्ने क्षेत्र रहेकाले प्याराग्लाइडिङको व्यवसायिक उडान गर्न सकिने सम्भावना रहेको प्याराग्लाइडिङका पाइलट विजय चौलागाइले बताए ।

परीक्षण उडान सफल भए अनुमति लिएर व्यावसायिक रूपमै प्याराग्लाइडिङ व्यवसाय अघि बढाउने योजना गाउँपालिकाको रहेको गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । व्यावसायिक उडानका लागि कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाइने छ उनले बताए । यहाँ स्थानबाट लाङटाङ र गोसाइकुण्ड पदयात्रामा जान सकिन्छ ।

प्रकाशित : असार १२, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्