मेसिनबाटै रोपाइँ [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — असार १५ का दिन आइतबार राष्ट्रिय धान दिवस मनाउने कार्यक्रममा पश्चिम चितवनको दिब्यनगरमा बिहानैदेखि स्थानीयको जमघट थियो । धान रोप्ने भनेपछि हली, खेतला बाउसे जहाँ पनि जुट्छन् । पछिल्लो समय खेत जोत्न हलो र गोरुभन्दा ट्रयाक्टर लगाउने चलन बढ्दो छ । तर रोप्ने तरिका प्राय पुरानै छ । बीउ गोड्यो, मुठा पार्‍यो अनि हिल्याएको खेतमा लगेर रोपाहाराहरु लहरै भएर रोप्यो ।

धान दिवस मनाउन दिब्यनगरमा भेला भएकाहरुले अल्लि फरक दृश्य देखे । त्यहाँ पनि हलो र ट्रयाक्टर त थियो नै तर रोप्ने तरिका फरक थियो । यो पटक मेशिनबाट सुरु भएको रोपाइँ हेर्न पाउँदा स्थानीयले अनौठो माने । तीन हप्ताअघि रोपेको बीउ मेशिनमा राखेर रोपाइँ भएको थियो । बीउ पनि परम्परागत ब्याडमा नभएर ट्रेमा राखिएको थियो । ट्रेको बीउ मेशिनमा राखेर रोपाइँ गरेको दृश्य प्रायलाई नौलो थियो ।

यसरी रोपाइँ सुरु भएको नयाँ घटना नै भने हैन । चितवनमै पनि ठाउँ ठाउँमा पाँच छ वर्षअघि यसरी रोप्ने गरेको दृश्यहरु फाट्टफुट्ट देखिन्थे । तर दिब्यनगरका दयानिधी र नरेन्द्र दवाडी दाजु भाइले धान रोपाइँमा आधुनिक औजार उपकरणको प्रयोग गर्ने निश्चय गरेर यो प्रविधि अंगालेका हुन् । धान काट्न पनि मेशिन नै प्रयोग गर्ने दवाडी दाजुभाइको भनाइ छ ।

सरकारी निकाय कृषि ज्ञान केन्द्र चितवन कार्यालयका प्रमुख सुधिर श्रेष्ठ धान खेतीमा औजार उपकरणको उपयुक्त रुपमा प्रयोग गरे उत्पादन दोब्बर हुने सम्भावना हुन्छ । यसले लागतमा पनि कमी ल्याउँछ । त्यसैले कार्यालयले यस्ता औजारको उपयोग बढाउन अर्थात यान्त्रिकीकरणलाई कार्यालयले जोड दिएको उनले बताए ।


प्रकाशित : असार १५, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्