६ घण्टादेखि विमानस्थल बन्द, यात्रुको बिचल्ली (फोटोफिचर)

सुरज कुँवर

काठमाडौँ — नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि अवरोध छ ।विमानस्थल व्ययवस्थापनले पाचौंपटक समय सार्दै नोटाम जारी गरेर विमानस्थल ७ बजेसम्मलाई बन्द गरेको छ । बिहान ९ बजेदेखि चेकइन गरेका सयौँ यात्रु त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अलपत्र अवस्थामा छन् ।


प्रकाशित : असार २७, २०७६ १७:४७

बंगलादेशको ढाका जाने तयारीमा रहेका एक नेपाली चिकित्सकका अनुसार, यात्रुहरुलाई बस्ने ठाउँ छैन । कतिपय भुईँमा सुत्न बाध्य छन् । शौचालय, क्याफे लगायतका स्थानमा भिड छ । धावनमार्गमा के कति प्रगति भइरहेको छ भन्नेबारे आधिकारिक सूचना प्रवाह भइरहेको छैन ।

यतिको यो ७२ सिट क्षमताको जहाज धावनमार्ग बाहिर भए पनि अन्य वायुयान उडान र अवतरणमा अवरोध गर्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार, यो जहाज धावनमार्गको किनारादेखि करिब १५ मिटरको दुरीमा छ । धावनमार्गदेखि १५ मिटर परसम्मको क्षेत्रफलमा कुनै पनि वस्तु हुनहुदैन । यस्तो हुनुलाई रनवे अप्स्ट्याकल मानिन्छ ।

यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियर लगायतका प्राविधिकहरु लागिरहेका छन् । ‘घाँसेमैदानबाट बाहिर तान्दै छौँ,’ घटनास्थलमा रहेका एक प्राविधिकले भने,‘दुईपटक डोरी चुँडियो । लागिरहेकै छौँ ।’

घाँसेमैदानको माटो कमलो भएकाले जहाज तान्न मुस्किल भइरहेको छ । ‘फ्ल्याक ओच्छाएर जहाज तान्ने काम भइरहेको छ ,’ महानिर्देशक पोखरेलले भने,‘तीव्रगतिको हावा र पानी अवरोधबीच विमानस्थलमा उपलब्ध उपकरणबाटै निकाल्ने प्रयास जारी छ ।’

प्रतिक्रिया
पठाउनुहोस्

कमलाको बाढीमा फसेकाको उद्धार प्रयास जारी

सन्तोष सिंह

धनुषा — कमला नदीको बाढीमा फसेका दुई परिवारका ६ जनाको उद्धार प्रयास जारी छ । धनुषा शहिदनगर–२ कमलपुर बतराहिका ६ जना कमलाको बाढीमा शुक्रबार दिउँसोदेखि फसेका छन् ।

फसेकामध्ये ५ जना महिला र १ जना पुरुष रहेका छन्। नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पटक पटक उद्धारको प्रयास गरेपनि पानीको बहाव बढेका कारण सफल हुन नसकेको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले बताए ।

'उद्धारको प्रयास अझै जारी छ', उद्धारस्थलमा रहेका मेयर बररियाले भने,‘रात पर्दै गएपछि समस्या भएको छ । तर, उद्धारका लागि प्रदेश प्रहरीसँग समन्वय गरिएको छ । बाढीमा फसेकालाई उद्धार गर्न मोटर ल्याइदै छ ।'

यता धनुषा–सिरहा सिमाना कमला नदीको बाढीमा शुक्रबार बिहानैदेखि फसेका बेदरु मुखियालाई नेपाली सेनाले उद्धार गरेको छ । पानीको बहाव बढेपछि रुखमा ३ घण्टासम्म बसेका मुखियाको नेपाली सेनाले उद्धार गरेको हो ।

पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा कमला नदीकोबीचमा बस्दै आएका ४५ वर्षीय पुजारी मुखिया बाढीमा घेरिएपछि बिहानैदेखि रुखमा बसेको जानकारी पाएपछि साँझ ५ बजे स्थानीय माझीको सहयोगमा नेपाली सेनाले उद्धार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँणेलले बताए ।

कमलामा रहेको टापु जस्तो स्थानको मन्दिरमा चारैतर्फबाट पानी प्रवेश गरेपछि मुखिया रुखमा चढेका थिए । लगातारको वर्षाले कमला नदीमा पानीको बहाव बढेको छ । नदी आसपासका वस्तीमा सतर्कता अपनाइएको छ ।

प्रकाशित : असार २७, २०७६ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्