खोला किनारको जीवन [फोटोफिचर]

शब्द/तस्बिर: जितेन्द्र साह

मोरङ — मोरंगको विराटनगर–रंगेली जोड्ने मुख्य मार्गको सिंघिया खोला पुलबाट शनिबार बिहान एक समूह मुन्तिर हेरिरहेका थिए । यो जीर्ण पुलले बाढीको थप मार थाम्न नसक्ने हुनाले उनीहरु चिन्तित थिए । दुई दशक अगाडि नै आयु सकिसकेको यो पुललाई यसोउसो बाँधेर टालेर काम चलाइँदैछ ।

हिलो, पानी र फोहोर छिचोल्दै यो खोलाको उत्तरदेखि दक्षिणसम्म तीन घण्टा पैदल हिँड्दै अघि बढ्दै जाँदा किनारको बस्तीमा बाँच्नलाई संघर्ष चलिरहेको देखियो । पोहोरकै बाढीमा बचेखुचेको संरचनालाई घेराबार गरी उक्त खोला छेउछाउमा स्थानीय बसिरहेका भेटिए । तटबन्ध नगरिएकाले ठूलो बाढी आएमा बाँकी पनि बगाउने निश्चित छ ।

अघिल्लो बाढीको दुई वर्ष बितिसक्दा पनि अझै खोलामा तटबन्ध नगरिएकोले शुक्रबारको बाढीमा पनि स्थानीयको घरमा पानी छिरेको थियो । धेरैको धनमाल बगेको उनीहरुले बताए । घरभरी पानी भएकाले कतिपयले मालसमान त्यतिकै छाडेर स्थानीय सहयोगी हातहरुले निर्माण गरिदिएको टेन्टमा बसिरहेका छन् ।

खोलाको पानीको सतह बढेसँगै किनार वरिपरि घर भएकाको ढुकढुकी पनि बढ्छ । यी मध्ये अधिकांश मुख्य सहरी क्षेत्रमा महंगो जग्गा किनेर घर बनाउन नसक्ने निम्न मध्यमवर्गीय र विपन्न नागरिक हुन् । आकाश सफा भइ शीघ्र वर्षा रोकिएमा सामान्य जीवनमा फर्किने आशमा उनीहरु छन् ।

सम्भवतः मनसुनको खतरा नटरेसम्म उनीहरुको बास यहि टेन्टमा हुनेछ । पुलको नवनिर्माण, सबैतिर तटबन्धको प्रबन्ध, खोला छेउमा वैज्ञानिक बस्तीको विकास, सडक, ढल एवं नालाजस्ता पूर्वाधारको व्यवस्थित ढंगले निर्माण नभएसम्म हरेक वर्ष मनसुनमा विराटनगरको खोला छेउदेखि मुख्य सहरी क्षेत्रसम्म यस्ता दृश्यहरु फेरिने छाटकाट छैन ।

प्रकाशित : असार २८, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्