मध्यरातमा मलेखु खोला उर्लेपछि ...

हरिहरसिंह राठौर

ताल्तीखोला(धादिङ) — मध्यरातमा उर्लेको मलेखु खोलाले चिनियाँ लगानीमा निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा क्षति गरेको छ । बाढीले मजदुरका आवास, उद्योगका निर्माणाधीन संरचनामा पूरै क्षति गरेको छ । आइतबार रातभरको वर्षाले खोला बढ्न थाले पछि बगरमा रहेका मजदुर तथा प्राविधिक आवास खाली गराएर नजिकैको पिपल भन्ज्याङ माविमा सारिएको थियो । 

खोलामा वाढी आए पछि अढाई सय चिनियाँ र ३ सय नेपाली मजदुरले आफ्ना सरसामान समेत झिक्न पाएनन् । आवासलाई घेरेर बाढी दुवैतर्फ पसे पछि २ जना कोरियन र ५ जना चिनियाँ बीचमै फँसेका थिए । उनीहरुको बिहान ५ बजे स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको उद्योगका स्थानीय प्रबन्धक तुलसी थापाले बताए ।

गत फागुन १७ गते सभामुख कृष्णबहादुर महराद्वारा शिलन्यास गरिएको उक्त सिमेन्ट कम्पनी १७ अर्ब लगानीमा निर्मार्ण गर्न चीनकै हन्दन सिनोमा कम्पनीले ठेक्का लिएको थियो ।  २०५० साल साउन ४ गतेको बाढीले धान खेत बगर बनाए पछि करीब ४ सय रोपनी सोही बगर अधिग्रहण गरि उक्त सिमेन्ट उद्योग निर्माण गर्न लागिएको हाे । 

दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योगको आगामी ९ महिना भित्रमा उत्पादन थाल्ने लक्ष्य थियो । 

बाढीले ३ वटा जीप, २ टिप्पर, २ डोजर पनि बगाएको छ । काठमाडौं इन्जिनियरिङ कलेजबाट अध्ययन भ्रमणमा आएका विद्यार्थीहरुको बस पनि बगाए पछि विद्यार्थीहरु अलपत्र परेका स्थानीय प्रबन्धक थापाले बताए । 

निर्माणाधीन उद्योग पृथ्वीराजमार्गको मलेखु देखि १६ किलोमिटर भित्र पर्छ  । १७ अर्ब लगानीमा निर्माण भइरहेको हुआसिन–धादिङ सिमेन्ट कम्पनीबाट विश्वकै अत्याधुनिक सिमेन्ट उत्पादन गरिने दाबी गरिएको थियो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको पनि प्रबन्धक थापाले दाबी गरेका थिए  ।

उद्योगमा सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहेको छ । अहिले नेपाली लगानीकर्ताको प्रतिनिधित्व बैद्य ग्रुपको तर्फबाट सुरज बैद्यले र चिनियाँ लगानीकर्ताहरुको प्रतिनिधित्व हुवासिन सेन्ट्रल एसिया इन्भेष्टमेण्ट (हुवान) कम्पनी लिमिटेडले गरिरहेको छ ।

प्रकाशित : असार ३०, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्