घण्टाकर्ण दहन गर्दै गँठेमंगल मनाइयो (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल

भक्तपुर — भक्तपुरको दत्तात्रय मन्दिरमा नेवार समुदायले मंगलबार राक्षसी स्वरूपमा घण्टाकर्ण दहन गर्दै गँठेमंगल पर्व मनाएका छन् । साउन कृष्ण चर्तुदशीका दिन मनाइने यो पर्वलाई घण्टाकर्ण चर्तुदर्शी पनि भनिन्छ। भूतप्रेत पन्छाउन घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने चलन छ।

दिनभर ठड्याइएको नर्कटले बनेको गँठेमंगललाई घाम अस्ताएपछि नदीमा लगेर विर्सजन गरिएको थियो । परापूर्व कालमा नास्तिक व्यक्तिले कानमा घण्ट झुन्ड्याएको र उनको आतंकले धेरैलाई गाह्रो भएको उनलाई दहन गरिएको कथन छ ।

यस्तै अर्को किम्बदन्तीअनुसार ठूलो खानदानकी युवतीसँग प्रेममा परेका एक युवालाई समाजले नस्विकारेर बेवारिसे बनाइएको थियो। उनै युवाको मृत्यु सडकमै भएपछि दहन गरेको थियो।त्यसै हुनाले पछि परालको मान्छे बनाई दहन गर्ने परम्परा चलेको पनि मानिन्छ ।

यस दिन घरको मूल ढोकामा भूतप्रेत र अन्य भयबाट जोगिन फलामको तीनखुट्टे गाड्ने पनि गरिन्छ । यस्तै फलामको औंठी लगाउने चलन पनि छ । ज्यापू समुदायमा धान रोप्ने बेलामा आमन्त्रित शक्ति पन्छाएर पनि यो पर्व मनाउने गरिन्छ ।


प्रकाशित : श्रावण १४, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्