कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

फेरिँदै मेहन्दी परम्परा [तस्बिरहरु]

प्रशान्त माली

काठमाडौँ — नेवार समुदायमा परम्परादेखि मेहन्दी लगाउने चलनबारे अधिकांशलाई थाहा नहुन सक्छ । नेपाल भाषामा ‘लैचा’ भन्ने वनस्पतिबाट मेहन्दी बनाइन्छ । जसलाई सिलौटामा पिसिन्छ । त्यस लेदोमा अमिलो घाँस मिसाएपछि बन्ने मेहन्दी  हातमा विभिन्न आकृति बनाइन्छ । प्राय:ले चन्द्र, सूर्य र चराको चित्र बनाइन्थ्यो ।

पहेँलो बनाउन मेहन्दी सुकिसकेपछि तमाखु पानीले पखाल्ने गरिन्थ्यो । काठमाडौं महानगरपालिका-१८ यंगालकी ७८ वर्षीया लक्ष्मीदेवी मालाकार सम्झन्छिन्, ‘घण्टाकर्ण चतुर्दशीमा अनिवार्य रुपमा लगाउने चलन थियो । हामी सानो छँदा हजुरआमाले लगाइदिनुहुन्थ्यो, आफैं पनि लगाउनुहुन्थ्यो ।’


पहिला लैचा करेसाबारीमा थुप्रो हुन्थ्यो । बारीमा घरघरै बनेपछि गमलामा रोप्ने चलन आयो । र, बजारमा छुट्टै प्रकारको प्याकिङ मेहन्दी आएपछि लैचा लगाउने चलन हरायो । ‘अहिले कसै कसैको घरमा रोपेको छ । तर, लगाउन छाडिसकेको छ,’ उनले भनिन् । थापाथलीकी ४६ वर्षीया नन्द महर्जनको अनुभव पनि उस्तै छ । ‘लैचाको पात बूढी औंलाले टुक्रा-टुक्रा बनाएपछि रस हातभरि फैलिन्छ,’ उनी सुनाउँछिन्, ‘अनि सुकेपछि रातो, पहेँलो देखिन्थ्यो ।’


बजारमा मेहन्दी लगाउने चलन परिर्वतन भएको एक दशक भयो । अहिले साउन महिना लागेदेखि नै हातभरी मेहन्दी लगाएर सजाउँछन् । मेहन्दी लगाउनका लागि विभिन्न तालिम केन्द्र खुलेका छन् । थरिथरिका डिजाइनमा मेहन्दी लगाउन सकिन्छ । हातमात्र नभई खुटासमेत लगाउने चलन आएको छ । बुटा हेरी सस्तोमा २५ रुपैयाँबाट लगाउन सकिन्छ । फुटपाटदेखि मेहन्दी सेन्टर जहींतहीं ग्राहक खचाखच छ ।


भोटाहिटीस्थित नेपाल ऊल हाउसले भने मेहन्दी लगाउने नेवारी परम्परा जोगाउन प्रत्येक वर्ष साउनभरि निःशुल्क लगाउँदै आएका छन् । भोटाहिटीकी हिराकेशरी तुलाधर भन्छिन्, ‘मेहन्दीले हातलाई शोभायमान बनाइदिन्छ । उत्सवअनुसार फरक फरक किसिमले हातमा लगाइन्छ । अहिले नेपालमा मेहन्दी लगाउने व्यवसायी हुन थालेको छ ।’ उनले केमीकलरहित मेहन्दीको प्रयोग गर्नुपर्ने बताइन् ।


नेवार समुदायमा साउने संक्रन्तिमा लुतो फालेर लैचा लगाउने चलन थियो । त्यसको स्थान अहिले मेहन्दीले लिएको उनको अनुभव छ । लैचा साधारण हुने, सजिलै नपाउने र लगाउन पनि झन्झट भएकाले मेहन्दीतिर सबैको रुचि बढेको छ । आफूले सोचेजस्तो बुट्टा बनाउन सकिने भएकोले मेहन्दी सबैको रोजाइमा परेको उनको ठम्याइ छ । हिन्दू महिलाहरुको महान् पर्व तीजमा मेहन्दीको छुट्टै महत्व हुन्छ । अहिले महिलाहरुमा मेहन्दीको कलात्मक डिजाइन लगाउने क्रेज बढ्दै गइरहेको छ ।






प्रकाशित : श्रावण २१, २०७६ १९:०१

प्रतिक्रिया
पठाउनुहोस्