२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

तस्बिरमा हेर्नुहोस्, विश्व आदिवासी दिवस

तस्बिर : केशव थापा

काठमाडौँ — २५ औं विश्व आदिवासी दिवस (९ अगस्ट) शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर लगायतले बोलेका थिए । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई समेत कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगे । औपचारिक कार्यक्रम सुरु हुनुअघि जनजातिले विभिन्न भेषभूषामा सजिएर भृकुटीमण्डपबाट साँस्कृतिक झाँकीसहितको र्‍याली निकालेका थिए ।

संयुक्त राष्ट्रसंघले यसपटक ‘आदिवासी भाषा वर्ष’ नारा तय गरेको छ । नेपालमा नारा एकातिर, आन्दोलन अर्कोतिर भएको छ । हजारौं वर्षदेखि कायम रहेका मातृभाषा लोपोन्मुख स्थितिमा पुगे पनि तिनको संरक्षण पहल भएको छैन । झन्डै सात दशकदेखि भाषा, संस्कृति, भूमि अधिकार लगायत मुद्दालाई लिएर आन्दोलन गर्दै आएका आदिवासी जनजातिले पछिल्लो दशक राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक समावेशीकरण र समानुपातिक प्रतिनिधित्वका मुद्दामा जोड दिएका छन् ।

यो वर्ष जनजाति महासंघले माइतीघर मण्डलमा विरोधसभासहित प्रदर्शन गरिरहँदा ओम गुरुङ नेतृत्वको अखिल नेपाल आदिवासी जनजाति महासंघले भने प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सांस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्