१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जनजाति महासंघका उपाध्यक्षसहित १९ आन्दोलनकारी पक्राउ [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — 'आरक्षण बचाऔं आन्दोलन' को अगुवाईमा आइतबार सिंहदरबार घेर्न पुगेका केही आन्दोलनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको छ । मध्यान्ह सिंहदरबारको पश्चिम गेट भद्रकालीमा धर्ना सहभागीमध्ये १९ जना पक्राउ परेका हुन् ।

भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरी आफूहरुलाई पक्राउ गरेको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जानकारी दिए । उनका अनुसार दलित गैसस महासंघ अध्यक्ष भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङ्देन, लिम्बुवान राष्ट्रिय समिति (समाजवादी पार्टी) का अध्यक्ष खगेन्द्र माखिम, समाजवादी पार्टीका नेता दलमर्दन कामी लगायत पक्राउ परेका छन् । उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

धर्नास्थलबाट पक्राउ परेकालाई छुटाउन माग गर्दै पुलिस क्लब अगाडि नाराबाजी गर्ने केही आन्दोलनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले गरेको विज्ञापन खारेजीको माग गर्दै आदिवासी जनजाति, महिला, दलित र पछाडि परेका समुदायले 'आरक्षण बचाऔं आन्दोलन' नाममा चरणबद्ध आन्दोलनमा छन् । आइतबार सिंहदरबारसहित प्रदेश मुख्यमन्त्री कार्यालयहरू, लोक सेवा कार्यालयहरूमा धर्ना कार्यक्रम राखिएको थियो ।


प्रकाशित : श्रावण २६, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्