प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गरेर फर्किएपछि भने - 'म स्वस्थ छु'

अनिश रेग्मी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्केका छन् । उनी १२ बजेर ३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । ओली १० दिन अघि सिंगापुर गएका थिए । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई चिकित्सकहरुले फलो-अपका लागि सिंगापुर जान सुझाएका थिए । सिंगापुर जानु अघि प्रधानमन्त्री ओलीको सैनिक अस्पताल छाउनीमा परीक्षण गरिएको थियो । उक्त परीक्षणपछि ओली सिंगापुर गएका हुन्  । ओलीको सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयुएच)मा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा सबै अंगका प्रमुख, मन्त्रीहरु गएका थिए । अनौपचारिक भ्रमण भएकाले प्रधानमन्त्री ओलीले फर्किँदा सेनाको सलामी भने लिएनन् । उनले विमानस्थलमा औपचारिक रुपमा पत्रकार सम्मेलन पनि गरेनन् । स्वास्थ उपचार गराएर फर्केका ओलीको स्वास्थ्यबारे उनको सचिवालयले अहिलेसम्म औपचारिक रुपमा केही सार्वजनिक गरेको छैन । उनले विमानस्थलको भीभीआइपी कक्षमा हिँडाइकै क्रममा आफ्नो स्वास्थ ठिक रहेको बताएका थिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य 'एकदम' राम्रो भएको प्रतिक्रिया दिए ।


प्रकाशित : श्रावण २७, २०७६ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्