४ किलोमिटर घस्रँदै जलार्पण

मनोज पौडेल

कपिलवस्तु — साउन महिनाको अन्तिम सोमबार श्रद्धालुहरुले ४ किमि घस्रँदै गएर तौलेश्वरनाथ महादेव मन्दिरमा जलार्पण गरेका छन् । साउनमा गरिने भगवानको शिवको पुजाआजाबाट मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । त्यसैक्रममा वाणगंगा नदीको रामघाटमा स्नान गरि शुद्ध भई बिहानैदेखि सदरमुकाम तौलिहवास्थित मन्दिरमा जलार्पण गर्दै पुजाआजा गर्नेको दिउँसोसम्मै भीड थियो ।

श्रद्धालु आइतबार साझ नदी पुगेर जाग्राम बसेका थिए । उनीहरु रातभर भजन, चुट्का गर्दै जाग्राम बसेका थिए । राति २ बजेदेखि नदीमा स्नान गरि चोखिई बाटोमा पल्टदै घस्रदै श्रद्धालुहरु मन्दिर पुगेका थिए । लगातार घस्रन नसक्नेहरु ठाँउठाँउमा रोकिँदै आराम गर्दै अघि बढेका थिए । स-साना नाबालकदेखि युवा, महिला पनि घस्रँदै मन्दिर पुगेका थिए । घस्रँदै जानेलाई ठाउ ठाउमा स्थानीयले नुहाई दिने गरेका थिए । घस्रँदै जानेको दुःखकष्ट देखेर बटुवाहरु ढोक्दै सम्मान गरेका थिए ।

ठाँउठाँउमा घस्रदै जलार्पण गर्न जानेलाई नगरपालिकाको दमकलले पानी फालेर शितलता समेत प्रदान गरेको थियो । मन्दिर दर्शन गर्न १ किमि बढी लाइन थियो ।

४ किमि कालोपत्रे बाटो श्रद्धालु २ देखि ४ घण्टा लगाएर मन्दिर पुग्ने गरेका थिए । कपिलवस्तु नगरपालिका ५ सेमरीका १० वर्षे रमेश कोरी बिहान ४ बजे घस्रदै नदीबाट हिँडेर ८ बजे मन्दिर पुगेका थिए । कक्षा ६ मा पढने उनी मन्दिर पुगेर जलापर्ण गर्न सकेकामा आत्मशान्ति र सन्तुष्टि भएको बताए । ‘अघिल्लो वर्ष जलार्पण गर्ने ईच्छा थियो,’ उनले भने, ‘तर सानो हुदा घरकाले जान दिएका थिएनन् ।’ घस्रँदै जानेलाई लोट बम भनिन्छ । उनीहरुसँगै सोमबार लोटबम गर्ने बालक, युवादेखि वृद्धसम्म २ सय बढी श्रद्धालु थिए । साउन महिना शिवको महिना हो । साउने सोमबार निराहार बसी जल चढाए मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

प्रकाशित : श्रावण २७, २०७६ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्