१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोसाइँकुण्डमा घुइँचो

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — पापबाट मुक्ति मिल्ने जनविश्वासका साथ बिहीबार सयौँ भक्तजनहरुले गोसाइँकुण्डमा स्नान गरेका छन् । जनैपूर्णिमाका दिन सबै देवी देवताहरुको गोसाइकुण्डमा जमघट हुने भएकाले उक्त दिन कुण्डमा पुजा आजा तथा स्नान गर्दा आनन्द हुने विश्वास रहि आएकाले यसदिन भक्तजनहरु पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डीएमले बताए ।

कुण्डमा स्नान गर्दा पितृ तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरु पुरा हुने विश्वासको साथ उकालोमा सकी नसकी आएको भक्तजनहरु बताउँछन् । यस वर्ष साउन २० गतेदेखि साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)को दिनसम्म गोसाइँकुण्डमा मेला लागेको थियो । भक्तजनहरुले कुण्डमा स्नान गरेपछि जनै फेर्ने र रक्षा बन्धन समेत गरेका थिए । बौद्धधर्मका भक्तजनहरुले भने कुण्ड वरपर लुङदर टाङने तथा झांक्री सहित नच्दै कुण्डको परिक्रमा गर्दछन् ।

गोसाइँकुण्ड जीवनमा एक पटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तिर्थस्थल रहेको छ । यो स्वदेश तथा विदेशमा समेत प्रसिद्ध रहेको छ । गोसाइँकुण्डमा गंगादसहरा र जनैपुर्णिमा गरी वर्षको २ पटक विशेष मेला लाग्ने गर्दछ । पौराणिक कथन अनुसार परापुर्व कालमा देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा उत्पन्न कालकुट विष सेवन गरेका भगवान शिवले विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशुल धाराको उत्पति भइ उक्त धाराको पानी जम्मा भएर गोसाइँकुण्ड बनेको भन्ने किम्बदन्ती पाइन्छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्