कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थपिँदै आकांक्षी

विराटनगर — प्रदेश १ को पहिलो बैठक बसेसँगै दलहरू सरकार गठनको गृहकार्यमा लागेका छन् । यससँगै विभिन्न पदका आकांक्षीले दौडधुप बढाएका छन् । दिनदिनै आकांक्षी थपिएपछि दलहरूलाई मुख्य मन्त्रीसँगै सभामुख उपसभामुख, मन्त्री र संसदीय दलको नेता छान्न हम्मे परिरहेको छ । 

वाम गठबन्धन नेतृत्वको सरकार बन्ने पक्कापक्की रहेको यो प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेको छ । उपसभामुख र तीन मन्त्री माओवादी केन्द्रले पाउँदै छ । एमालेबाट मुख्य मन्त्रीमा तीन आकांक्षी देखिएका छन्– स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज भीम आचार्य, पोलिटब्युरो सदस्य तथा प्रदेशका सहइन्चार्ज शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरे । उनीहरू आफ्नो पक्षमा मत तान्न कस्सिएर लागिपरेका छन् । एमाले आगामी २६ गते बस्ने संसदीय दल बैठकबाट नेता छान्ने तयारीमा छ ।

मुख्यमन्त्रीसँगै एमालेले अन्य मन्त्रीहरूबारे पनि छलफल अघि बढाएको छ । मुख्यमन्त्रीको प्रतिस्पर्धामा रहेका केन्द्रीय सदस्य घिमिरेलाई सभामुख वा अन्य कुनै मन्त्रालय दिनेबारे छलफल थालिएको एक नेताले बताए ।

केन्द्रीय नेताहरू आफ्नो पक्षको उम्मेदवारलाई जिताउन प्रदेश १ को राजधानी धाउन थालिसकेका छन् । एमाले सचिव योगेश भट्टराई मंगलबार आइपुगेका छन् । संसदीय दलको नेता चयनपछि मात्र फर्कने गरी आएका उनी आचार्यको पक्षमा माहोल बनाउन लागिरहेको स्रोतले बतायो । यस्तै पार्टी अध्यक्ष केपी ओलीनिकट नेताहरू राईको पक्षमा लबिइङ गरिरहेका छन् । आवश्यक परे अध्यक्ष ओलीसमेत २६ गतेसम्ममा आउने तयारीमा रहेको एक नेताले बताए ।

सभामुखका लागि एमालेबाट घिमिरे, पाँचथरका गणेशकुमार कामबाङ र संखुवासभाका तुलसी न्यौपानेको नाम अघि सारिएको छ । तीन जनामध्ये एकलाई सर्वसम्मत चयन गरिने एमाले स्रोतले बतायो । उपसभामुखमा माओवादी केन्द्रबाट सुनसरीकी सरस्वती पोखरेलको नाम अघि सारिएको छ । तर, माओवादीबाट सरकारमा जाने टोलीको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने विवाद देखिएको छ । यसमा पनि दुई आकांक्षी देखिएका छन् । प्रदेश पार्टीको मुख्य नेतृत्वमा रहेका गोपाल किराती र सावित्रीकुमार काफ्ले पाँचथरका इन्द्रबहादुर आङ्बोहाङको नेतृत्वमा टोली सरकारमा पठाउने पक्षमा छन् । यसलाई अमान्य भन्दै ताप्लेजुङका टंक आङबुहाङको नाम एकथरीले अघि सारेका छन् । एमाले–माओवादी एकीकरणको विपक्षमा रहेका किरातीलाई कारबाही माग पनि केहीले गरेका छन् ।

माओवादीबाट इलामका धीरेन्द्र शर्मा, खोटाङका रामकुमार राई, धनकुटाकी कुसुम श्रेष्ठलगायतको चर्चा छ । चार मन्त्रालय पाएको एमालेमा झापाका हिक्मत कार्की, सुनसरीका जगदीश कुसियत, मोरङका ज्ञानेश्वर राजवंशी, मोरङकै यशोदा अधिकारी, लीलावल्लभ अधिकारी, तेह्रथुमका लक्ष्मण तिवारीलगायत आकांक्षी देखिएका छन् । यसैगरी विपक्षी दलको नेतामा पनि कांग्रेसभित्र तीन आकांक्षी देखिएका छन् । सुनसरीका पार्टी जिल्ला सभापति राजीव कोइराला, उदयपुरका सभापति हिमाल कार्की र मोरङका केदार कार्कीको चर्चा छ । कांग्रेस संसदीय दलको बैठक फागुन पहिलो साताभित्र बसिसक्ने केन्द्रीय सदस्य मीनेन्द्र रिजालले बताए ।

एमालेले ल्याएको सिटसंख्या प्रदेश सरकार गठनका लागि सहज बहुमत हो । माओवादी केन्द्रलाई स्वतन्त्र एक सिटसमेत जोडिए १६ सिट हुन्छ । यो प्रदेशमा वाम गठबन्धनको प्रस्ट दुई तिहाइ मत छ ।

प्रकाशित : माघ २४, २०७४ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?