१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश १ को सभामुखमा प्रदीप भण्डारी

विराटनगर — लामो समयसम्म शिक्षण पेसामा रहेका धरान-१३ का ६३ वर्षीया प्रदीपकुमार भण्डारी प्रदेश १ को सभामुख बनेका छन् । निर्वाचन कार्यक्रमअनुसार आइतबार दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन दर्ताका क्रममा सभामुख पदका लागि भण्डारीको मात्र उम्मेदवारी परेपछि उनी सभामुखमा निर्विरोध भएका हुन् ।

प्रदेश १ को सभामुखमा प्रदीप भण्डारी

भण्डारी सभामुख औपचारिक घोषणा भने सोमबार बस्ने प्रदेशसभा बैठकले गर्ने छ । प्रदेशसभा सचिवालयका सचिव धुव्र घिमिरेले सभामुख पदका लागि एक जना सदस्यको मात्र उम्मेदवारी दर्ता भएको जानकारी दिए ।


आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुखका लागि सर्वसम्मत चयन गरेको थियो । एमालेका प्रदेश इञ्चार्ज भीम आर्चायले आंकाक्षी अरु भए पनि सर्वसम्मत भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको बताए । माधवकुमार नेपाल समुहका आचार्यलाई पराजित गर्दै अध्यक्ष केपी ओली समूहका राई प्रदेश १ को एमाले संसदीय दलको नेतामा निर्वाचित भएका थिए । ओलीपक्ष मुख्यमन्त्री बन्ने भएपछि नेपाल समूहलाई सभामुख दिएको हो ।

धरान स्थायी घर भएका भण्डारी सुनसरी क्षेत्र १ को ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । २०१२ सालमा जन्मेका भण्डारी धरानकै शिक्षा सदन विद्यालयमा २०३५ सालदेखि शिक्षण पेसामा लागेका थिए । विज्ञान विषयका शिक्षक उनी २०७२ सालमा सेवानिवृत भएका हुन् । २०२७ सालदेखि वामपन्थी राजनीतिमा लागेका भण्डारी हाल एमाले सुनसरीका सचिवालय सदस्य तथा धरान इञ्चार्ज हुन् ।

प्रकाशित : माघ २८, २०७४ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?