कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संग्रहालयसहितको पार्क बनाइने

कान्तिपुर संवाददाता

तेह्रथुम — लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अन्तर्राष्ट्रिय स्तरको लिम्बू सांस्कृतिक पार्क निर्माण हुने भएको छ । बजारनजिक रहेको लभडाँडामा पार्क निर्माणका लागि नगरपालिकाले अध्ययन थालेको हो ।

डाँडामा भएका चिहानलाई अन्यत्र व्यवस्थित गरेर सोही स्थानमा संग्रहालयसहितको पार्क बनाइने नगर प्रमुख अर्जुन मावोहाङले बताए । जन्म, मृत्यु, विवाह, उद्यौली उभौली जस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित समान पार्कमा राखिनेछ । लिम्बू जाति प्रकृति पुजक मानिन्छन् ।

विशेष गरेर लिम्बू जातिले ढुंगा र माटोलाई विशेष पूजाआजा गर्छन् । ढुंगालाई विशेष देवताको रूपमा पूजा गर्ने लिम्बू जातिको धेरै पुरानो संस्कार हो । लिम्बू समुदायको धर्मग्रन्थको रूपमा लिइने मुन्धुममा ढुंगालाई विशेष महत्व दिएको छ । जन्मदा होस् वा मृत्यु हँुदा होस, लिम्बू जातिले ढुंगालाई प्रयोग गर्छन् । पार्कमा लिम्बू जातिको जन्मदेखि मृत्यु संस्कारसम्ममा प्रयोग हुने ढुंगाहरू देश विदेशबाट संकलन गरेर राखिने मुन्धुमका जानकार समेत रहेका नगर प्रमुख मावोहाङले वताए । यो पार्कलाई लिम्बूहरूको चोङलुङ (सिद्धिस्थल) का रूपमा विकास गर्ने नगरपालिकाले योजना अघि सारेको छ । त्यसका लागि यो वर्ष ३ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो वर्ष पार्क निर्माण हुने स्थानको पहिचान, अध्ययन, सर्भेक्षण लगायतका यो बजेट खर्च गरिने भएको छ । जन्मदेखि मृत्युसम्म लिम्बू जातिको संस्कार पृथक छ । यो संस्कारलाई जीवित राख्न सकीयो भने मात्र पनि लिम्बू संस्कार हेर्न, वुझ्न, अध्ययन र अनुसन्धान गर्न आउने देशीविदेशीहरूको संख्या बढ्ने नगर प्रमुख मावोहाङको भनाइ छ । पार्कमा पनि यस्ता संस्कारको झल्को दिइनेछ ।

पार्क निर्माणपछि यसक्षेत्रमा लिम्बू जातिको जातीय संस्कारमा आधारित सांस्कृतिक पर्यटनको विकास हुने मावोहाङले बताए । नेपालमै पहिलो पटक निर्माण हुन लागेको लिम्बू जातिको जातीय संग्रहालय र पार्कका कारण १ नम्बर प्रदेशको मात्र नभई समग्र देशको पर्यटन विकासमा सहयोग पुग्ने पर्यटन विकास तथा प्रवद्र्धन समितिका महासचिव समेत रहेका प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले बताए ।

प्रकाशित : फाल्गुन १, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?