२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

अन्तरजातीय बिहेसँगै सांस्कृतिक घुलमिल

रमेशचन्द्र अधिकारी

धनकुटा — लिम्बू समुदायको च्याबु्रङ र धान नाच नाच्न सिपालु छिन् संगीता रसाइली । उनी दलित समुदायकी युवती हुन् । स्थानीय अनिल चेम्जोङ (लिम्बू) सँग विवाहबन्धनमा बाँधिएपछि लिम्बू संस्कृतिका अधिकांश गतिविधिमा पोख्त बन्दै गएकी छन् ।

अन्तरजातीय बिहेसँगै सांस्कृतिक घुलमिल

संगीताजस्तै राजारानी गाउँ आसपासका अधिकांश अन्तरजातीय विवाह गर्नेहरू फरक संस्कृतिमा घुलमिल हुन थालेका छन् । आर्यन जातिका संगीनी, बालन, तीज लगायतका नाच पनि लिम्बू, राई, मगर समुदायका युवायुवती सहभागी हुन्छन् । धान नाचमा हात समाएर नाचिरहेका बाहुन, क्षेत्री वा अन्य जातिका युवायुवती देखिनु नौलो मानिन्न । यस्तै संगीनी नृत्यमा लिम्बू जातिका महिला सहभागी हुनु सामान्य मानिन्छ ।

यसैगरी मगर जातिको हुर्रा नाचमा पनि सबै जाति सहभागी हुन्छन् । राई जातिको चण्डी, उद्यौली र उभौलीको चासोक तङमामा पनि एकापसमा रमाएर खुसी साटासाट गर्न कुनै जातको सीमा नभएको स्थानीय बुद्धिजीवी लोकबहादुर राई बताउँछन् । ‘मिश्रित संस्कृति देख्दा निकै खुसी लाग्ने गर्छ,’ राईले भने, ‘अन्तरजातीय विवाह नै सामान्य बन्दै गएको अवस्थामा संस्कृति समेत मिश्रित बन्दै गएको छ ।’

एउटै गाउँका झन्डै चार दर्जन अन्तरजातीय विवाह बन्धनमा बाँधिएका जोडी रहेको स्थानीय टेकरत्न चेम्जोङले बताए । उनीहरूको सफल जीवनशैलीले भने पछिल्लो पीडितलाई सकारात्मक सन्देश दिएको चेम्जोङ बताउँछन् । ‘उनीहरूको संघर्षमय जीवन सार्थकतामा बदलिँदै गएको छ’, चेम्जोङले भने, ‘अन्तरजातीय विवाहसँगै मिश्रित संस्कृति बढदै जानु पनि सकारात्मक पक्ष हो ।’

चारैतर्फ हरियालीडाँडाका ससाना चिटिक्क परेका थुम्कीले घेरिएको राजारानी उपत्यका प्राकृतिक रूपमा जति सुन्दर छ, उत्तिनै जातीय सांस्कृतिले भरिपूर्ण छ । धनकुटा बजारबाट ५० किमि दूरीमा रहेको राजारानी गाउँमा लिम्बू जातिको बसोबास रहे पनि अन्य जातिको बसोबास पनि छ । पर्यटकीय रूपमा नाम कहलाएको उक्त गाउँ पछिल्लो समय अन्तरजातीय विवाह र मिश्रित संस्कृतिका लागि चर्चित बन्दै गएको छ । हरेक टोलमा अधिकांश अन्तरजातीय विवाह गर्ने जोडी छन् । उक्त समाजमा अन्तरजातीय विवाहलाई सामान्य रूपमा लिइन थालिएको स्थानीय उदयबहादुर लिम्बू बताउँछन् । लिम्बूले पनि ब्राह्मण युवती रेखा दाहालसँग विवाह गरेका छन् ।

२०४४ सालमा उनीहरूले पाँच वर्षे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताए । राजारानीका लिम्बू र कुरुलेतेनुपाकी दाहालले वर्षौंसम्म पारिवारिक संघर्ष व्यहोर्नु पर्‍यो । दस वर्षपछि मात्र माइती पक्षले बोलाए । बाहुनकी छोरी लिम्बूसँग विवाह गरेको त्यस समाजले पचाउन निकै कठिन भएको रेखाले सुनाइन् ।

‘विशेषगरी माइती र आफन्तजनले नबोलाउँदाको क्षणले केही दुखित तुल्यायो,’ उनले भनिन्, ‘समाजलाई चुनौती दिन आँट गरेकोले मन बुझाएँ ।’ रेखा पनि लिम्बू समुदायका सबैजसो संस्कार संस्कृतिबारे पूर्ण रूपमा जानकार छिन् ।

दलित समुदायकी संगीता रसाइली र लिम्बू समुदायका अनिल चेम्जोङले पनि पन्ध्र वर्षअघि तीन वर्षे प्रेम सम्बन्धलाई सार्थकतामा बदले । अन्तरजातीय विवाह गरेपछि केही समय परिवारबाट विस्थापित भएको पीडा पनि सुनाए । विस्थापित भएर धरानमा रहँदा खर्च अभावमा यी जोडिले खुवै दु:ख पाए । तर दुबै पक्षका बाबुआमाले माया गरेर घर भित्र्याउँदाको क्षण सम्झदा सबै दु:ख बिर्सिएका छन् उनीहरूले ।

राजारानी बजारमा होटल व्यवसाय गर्दै आएका दम्पतीका दुई सन्तान छन् । उनीहरूले सञ्चालन गरेको होटल सबैको आकर्षणको केन्द्र समेत बनेको छ । ‘न त छोइछिटो छ, न कुनै तिरस्कार,’ चेम्जोङले भने, ‘सबै जातिमा समानता बढदै गएको छ ।’

स्थानीय योगेन्द्र रसाइली र गंगा राई बीचको वैवाहिक सम्बन्ध पनि कम रोचक छैन । पाँच वर्षे प्रेम सम्बन्ध अत्यन्त प्रगाढ थियो । अन्तरजातीय मात्र नभएर अन्तरधार्मिक विवाह गरेको रसाइलीले बताए । ससुराली पक्ष क्रिश्चियन धर्मावलम्बी भएकाले हिन्दु धर्म मान्नेसँग गरिएको विवाहलाई पचाउन निकै चुनौती खेप्नुपरेको उनको भनाइ छ । समाजमा आफ्नै प्रयासले स्थापित हुँदै आएका यी दम्पती तीन सन्तानसाथ पछिल्लो जीवन भोगाइ सुखदपूर्ण बिताउँदै आएका छन् ।

यस्तै गीता घिमिरे र केशव चेम्जोङ बीचको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको पनि वर्षांै पूरा भयो । बाहुन र लिम्बू जातिबीचको सम्बन्ध स्थापित गर्न दुवैले चुनौती खेप्नुपर्‍यो । चेम्जोङले बाहुन क्षेत्रीका कतिपय सांस्कृतिक पक्षमा जानकार छन् भने घिमिरे पनि किराँत धर्मका धार्मिक सांस्कृतिक गतिविधिमा सम्लग्न हुने गर्छिन् । यी जोडीजस्तै नविश्वर किराँती र सलिना घिमिरेले पनि प्रेम सम्बन्धलाई विवाहमा बदलेको वर्षांै बितिसक्यो । यी जोडी आफ्ना फरक धार्मिक सांस्कृतिक पक्षबारे एकापसमा सम्लग्न हुने गरेको बताउँछन् ।

राजारानीका युवराज कटुवाल र बोधेकी सुशिला देवानले चार वर्षअघि प्रेमविवाह गरे । विवाहअघि दुबैले परिवारमा जानकारी गराए । केटाका बाबु कर्णबहादुरले पनि अन्तरजातीय विवाहलाई समाजमा स्थापित गर्नुपर्नेमा समेत सहमति जनाए । अन्तरजातीय विवाहले संस्कृति समेत घुलमिल बनेको उनले बताए । पछिल्लो समय यस प्रकारको विवाहप्रति आकर्षित हुनेको लहरमा सुरज लिम्बू र विमला माझी, कमला माझी र कैलाशचन्द्र लिम्बू, सीता लिम्बू र मानबहादुर निरौला, देवीप्रसाद घिमिरे र सीता लिम्बू, रायन निरौला र करुणा मगर, रोशन लिम्बू र सृजना श्रेष्ठ लगायत पनि छन् । अधिकांशको समान अनुभूति रहेको छ । अन्तरजातीय विवाहलाई समाजले क्रमश: पचाउँदै गएको चौबिसे गाउँपालिका खजिन्द्र राईको भनाइ छ । अन्तरजातीय विवाहसँगै मिश्रित संस्कृति बढ्दै जानु स्वाभाविक भएको उनको तर्क छ । ‘अन्तरजातीय विवाह दर्ता गर्न महिनैपिच्छे आउँछन्,’ उनले भने ।

प्रकाशित : फाल्गुन १, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?