२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हात्ती आतंक : सधैंको पीडा

अर्जुन राजवंशी

दमक — पाँच वर्षअघिसम्म ‘हात्तीपीडित क्षेत्र’ का रूपमा बाहुनडाँगीलाई मात्र चिनिन्थ्यो । तर, अहिले जिल्लाको अधिकांश स्थानमा हात्तीको उपद्रो बढ्दो छ । भारतसँग सीमा जोडिएको बाहुनडाँगीमा विद्युतीय तारबार गरिए पनि जिल्लामा जंगली हात्तीको आतंक घटेको छैन ।

हात्ती आतंक : सधैंको पीडा

दैनिकजसो हात्तीको हन्जा (बथान) बस्तीमा पस्दा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । जिल्ला वन कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा मात्र जंगली हात्तीको आतंकबाट जिल्लाका एक हजार ६ सय ४५ घरपरिवार पीडित बनेका छन् । उनीहरूमध्ये ३३ जनाले ज्यान गुमाएका छन् । त्यति नै संख्यामा सख्त घाइते भएका छन् । पृथ्वीनगर, पथरीया, जलथल, बनियानी, घेराबारी, भद्रपुर क्षेत्रमा जंगली हात्तीले क्षति नपुर्‍याएको रात छैन ।

बालकदेखि वृद्धसम्म सबै आतंकित छन् । रातैपिच्छे स्थानीयका बाली नष्ट हुने गरेको छ । घरमा थन्काएर राखेको अन्न खाइदिँदा चामल किनेर खानुपर्ने अवस्था सिर्जना भएको छ । जिल्लाको मेचीनगर, भद्रपुर, हल्दिबारी, कचनकवल, बाह्रदशी, दमक, शिवसताक्षी लगायतका स्थानीय तहमा जंगली हात्तीको आतंक सर्वसाधारणका लागि झेल्नैपर्ने नियति बनेको छ । राज्यले जनधनको क्षति भएपछि निर्देशिका अनुसार राहत दिने गरेको छ । राज्य संयन्त्रले जंगली हात्ती नियन्त्रणको ठोस कदम नचाल्दा जिल्लाबासी ज्यान गुमाएर राहत थाप्न बाध्य छन् ।

‘कैयौं रात भइसक्यो राम्ररी निदाउन पाएका छैनौं,’ पथरीयाका शंकर भट्टराईले भने, ‘गाउँमा हात्ती आयो भन्ने हल्लाले ज्यान कसरी बचाउने भन्ने चिन्ता हुन्छ । कोलाहल गरेर हात्ती धपाउँदै ठिक्क हुन्छ । कता निदाउनु ।’ उनले हात्तीको दैनिकजसो क्षतिले स्थानीयबासी बसाइँ जानुपर्ने अवस्था सिर्जना भइसकेको बताए । बालुबाडीकी निशा राजवंशीले हात्तीको डरले छोराछोरीलाई मावल पठाएको बताइन् । ‘हात्ती आयो भन्ने सुनेपछि केटाकेटी डराएर रूने, कराउने गर्न थाल्छन्,’ राजवंशीले भनिन्, ‘हात्ती आतंकको नराम्रो छाप केटाकेटीमा परेको छ । उनीहरूलाई घरमा राख्नै गाह्रो भइसक्यो ।’ हात्तीको डरले छोराछोरालाई मावल पठाउँदा उनीहरूको पढाइ बिग्रिने हो कि भन्ने अर्को समस्या उत्पन्न भएको उनले बताइन् ।

जाडो मौसममा हात्तीले घर भत्काइदिएपछि आफूहरूलाई बस्न, सुत्न गाह्रो भएको कचनकवल गाउँपालिका ३ का सिजुवा राजवंशीले भने । माघ १३ गते राति आएको जंगली हात्तीले उनकोसहित गंगा राजवंशी, चिरन राजवंशी र वडा सदस्य धनलाल राजवंशीको घर भत्काइदिएको थियो । हात्तीले पक्की घरको टिनको छाना भत्काइदिनुका साथै घर तथा पसलभित्रका अन्नपात खाएका थिए । हात्तीको क्षतिबारे दैनिकजसो सिफारिस आउने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख बोधराज सुवेदीका अनुसार जिल्लामा ११ वटा हात्ती छन् । चारकोसे झाडीको अन्तिम जंगलको रूपमा रहेको जलथलसहित जिल्लाका विभिन्न वनमा हात्ती बस्दै आएका छन् । दिनभरि जंगलभित्र बस्ने हात्ती रातपरेसँगै आहाराको खोजीमा बाहिर निस्किने गर्छन् । ‘जंगलभित्र उनीहरूका लागि खाने कुरा केही छैन । त्यसैले हात्ती गाउँ पस्छन्,’ सुवेदीले भने ।

उनका अनुसार भारतबाट जंगली हात्ती आउने क्रम अझै रोकिएको छैन । विश्व बैंकको सहयोगमा तीन वर्षअघि बाहुनडाँगीमा १८ किलामिटर क्षेत्रमा विद्युतीय तारबार गरिएको छ । तारबारपछि हात्तीको हुल आउन केही कमी भए पनि पूर्णरूपमा नरोकिएको उनले बताए । ‘तारबार गर्नुअघि उक्त क्षेत्रबाट २० देखि एक सय ५० वटासम्म हात्तीको बथान एकै पटक नेपाल छिर्थे,’ उनले भने, ‘अहिले त्यस्तो अवस्था छैन । तर, अझै पनि ६–७ वटासम्म हात्ती नेपाल छिर्ने गर्छन् ।’

बाहुनडाँगीकी इन्दिरा पोखरेलले तारबार भए पनि अझै हात्ती आतंक नघटेको बताइन् । उनले बहुवनमा बसेका ४ वटा जंगली हात्तीले पछिल्लो एक हप्तामा करिब एक दर्जन घर भत्काएका छन् । दमक नगरपालिकामा रहेको हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा प्रवेश गरेका ८ वटा हात्तीले स्थानीयका घर भत्काउनुकासाथै अन्न बाली नष्ट गर्दै आएको छ । हात्तीको बथान बिहान र बेलुका जंगलबाट निस्किएर बस्ती पस्ने गरेको छ । बस्ती पसेर हात्तीले घर भत्काइदिने, घरमा राखेका अन्नपात खाइदिने तथा खेतबारीमा लगाएको बाली कुल्चिएर नष्ट गर्ने गरेको छ । हात्ती आतंकबाट दमकको २ र ३ नम्बर वडाका बासिन्दा पीडित बनेका छन् ।

‘एक महिनादेखि राम्ररी सुत्न पाएका छैनौं,’ दमक २ का सोम ढुंगानाले भने, ‘बेलुका ७ बजेपछि गाउँमा हात्ती छिरिसक्छ । सबैले मिलेर धपाएन भने, घर भत्काएर, अन्नपात खाएर विध्वंस मच्चाउँछ ।’ वडा ३ का वडाध्यक्ष नबीन बरालका अनुसार एक महिनायता हात्तीले दुइटा वडामा गरी २७ वटा घर भत्काइदिएको छ । हात्तीको बथानै गाउँमा पस्ने गरेकाले स्थानीयले लगाएका गहुँ, तोरी, आलु, तरकारी बाली खाएर तथा कुल्चिएर नष्ट गरिदिएको बरालले बताए । जिल्ला वन कार्यालयका अनुसार ०६८ देखि हालसम्म जंगली हात्तीको आक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । ३२ जना सख्त घाइते तथा १० जना सामान्य घाइते भएका छन् । हात्तीले ७१ परिवारको घरगोठमा क्षति पुर्‍याएको छ । एक हजार ८८ परिवारको अन्नबालीमा क्षति पुर्‍याएको छ । २८ परिवारको भण्डारण गरिएको अन्न खाइदिएको छ भने तीन सय १० परिवारको घरगोठ तथा भण्डारण अन्नमा क्षति पुर्‍याएको छ ।

हात्तीले ५१ परिवारको घरगोठ र अन्नबाली दुवैमा क्षति पुर्‍याएको छ भने २२ परिवारको घरगोठ, भण्डारण अन्न तथा अन्नबालीमा समेत क्षति पुर्‍याएको छ । हालसम्म एउटा चौपाया मारेको तथ्यांकमा उल्लेख छ । जंगली हात्तीले पछिल्लो पाँच बर्षमा मानविय तथा भौतिक क्षति पुर्‍याएकाका परिवारलाई दुई करोड ७२ लाख ३९ हजार एक सय ७४ रुपैयाँ राहत वितरण गरिसकेको कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन १, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?