‘काम गर्न असहज भइरहेको छ’

कान्तिपुर संवाददाता

काँकडभिट्टा — निर्वाचित भएको ७ महिना बित्न लाग्दा पनि झापाका जनप्रतिनिधिले जनताका काम गर्न अझै सहज महसुस गर्न सकेकै छैनन् । उनीहरू यति बेला आवश्यक तालिम र प्रशिक्षणको माग गरिरहेका छन् । प्रशिक्षित नहँुदा जनताको काम गर्न अप्ठ्यारो भएको गुनासो गर्न थालेका छन् ।

उनीहरूले ऐन, नियम र कानुनको ज्ञानसँगै स्थानीय तहमा काम गर्न व्यावहारिक ज्ञानको समेत आवश्यकता चाहिने महसुस गर्न थालेका छन् । जिल्ला समन्वय समिति झापाले माघ २१ गतेदेखि ‘स्थानीय तहको अनुगमन’ सुरु गरेको छ । त्यसक्रममा राजमार्ग दक्षिणका हल्दिवारी, बाह्रदशी र कचनकवलका जनप्रतिनिधिहरूले त्यस्तो गुनासो व्यक्त गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जनप्रतिनिधिले कानुन नबाज्ने गरी तालिम र प्रशिक्षणको व्यवस्थापनका लागि माग गरेको जनाए । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले नागरिकको सबैखाले समस्या समाधानमा स्थानीय सरकार कटिबद्ध रूपमा सक्रिय भएको बताए । उनले स्थानीय तहको निर्वाचन अन्तिममा भएको भए सञ्चालनमा माथिल्लो निकायबाट प्राप्त हुने निर्देशनले सहज हुने बताए । ‘पहिले स्थानीय तहको निर्वाचन भएकाले केही व्यावहारिक कठिनाइ छन्, समाधानको प्रयत्न गरिरहेका छांै ।’

हल्दिवारी गाउँपालिकाहरूले नागरिकको स्वास्थ्यका विषयमा गम्भीर रूपमा लागेको बताए । तीनवटा गाउँपालिकाले नागरिकको सहज उपचारका लागि ‘जनता उपचार कोष’ बनाएका छन् । विपन्न नागरिकलाई स्थानीय सरकारको अनुभूति गराउन यस्ता प्रकृतिका धेरै कार्यक्रम बनाएका हुन् । हल्दीबारी गापाका उपाध्यक्ष डम्बर गिरीले गाउँ समृद्धिका लागि निर्धारण गरिएको कर अहिले बोझिलो बनेको बताए । उनले भने, ‘नागरिकको हितभन्दा बाहिर गएर कुनै काम गर्न गाह्रो छ ।’

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले कसरी काम गर्ने भन्ने विषयमा जनप्रतिनिधिबीच अझै अन्योलकै अवस्था रहेको स्वीकार्दै जनप्रतिनिधिलाई आवश्यक प्रशिक्षण प्रदान गरिँदा काम गर्न सहज हुने बताए ।

प्रकाशित : फाल्गुन १, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?