कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पूर्वको बाटोमा पश्चिमेली श्रम

तेह्रथुम — पश्चिम रोल्पाको रानीधाराकी लक्ष्मी केसी कात्तिकदेखि तेह्रथुमको आठराई गाउँपालिकामा छिन् । काका काकीसँगै आएकी उनी मध्यपहाडी राजमार्गको चुहानडाँडा सडक खण्डमा सिमेन्टको ‘मसला’ बनाउने काम गर्छिन् । राजमार्गछेउ भित्तामा गारो लगाउँदा प्रयोग हुने मसला बनाउनु उनको दैनिकी हो ।

पूर्वको बाटोमा पश्चिमेली श्रम

सिमेन्ट र बालुवाको मात्रा मिलाएर मसला बनाउँछिन् र बेल्चाले गारो लगाउने ठाउँमा राखिदिन्छिन् । मसलाका लागि आवश्यक सिमेन्ट, बालुवा र पानी नजिकसम्म अरूले पुर्‍याइदिन्छन् । त्यसलाई मात्रा मिलाएर ठिक्कको बनाउने काम उनको हो । प्रत्येक बिहान ७ बजेदेखि सुरु हुने उनको दिनचर्या साँझ ५ बजेसम्म चल्छ । बाँकी समय आराम गर्न पाउँछिन् । पश्चिम दाङको तुलसीपुरका बुद्धिराम विश्वकर्मा पनि यही क्षेत्रमा छन् । इसिवु क्षेत्रको सडक निर्माणमा जुटिरहेका उनी कात्तिक १८ गतेदेखि काममा लागेका हुन् । १५ गते नै यो क्षेत्रमा आइपुगेका उनले तीन दिनसम्म आफू र आफ्नो टोली बस्ने बासस्थानको व्यवस्थापन मिलाउने, काम गर्ने क्षेत्र हेर्ने, गाउँको अवस्था बुझ्ने काम गरेका थिए । उनी गारो लगाउने दक्ष मिस्त्री हुन् । उनको कामको अवधि दैनिक नौ घण्टाको हुन्छ ।

बिहान ७ बजेअघि नै कार्यक्षेत्रमा पुग्ने उनी हमेसा बेलुकाको ६–७ बजेसम्म काममा हुन्छन् । ‘ड्युटी त बिहान ७ देखि बेलुका ७ बजेसम्म को हो तर कहिले काम सकाउन अलिकति मात्रै रहन्छ, कहिले सडकमा ढुंगाहरू रहन्छन्, त्यसले गाडीलाई अवरोध गर्छ र हटाउनुपर्छ, कहिले सामान थन्क्याउनुपर्छ यिनै कुराको वयवस्थापन गर्दा दैनिक एकडेढ घण्टा बढी समय खर्चहुन्छ,’ उनले भने, ‘बिहान पनि अरूभन्दा अलि अगाडि नै आएर कामको सुरुवात कसरी गर्ने नजर लगाउनुपर्छ ।’

रोल्पाका लक्ष्मी, दाङका बुद्धिराम मात्र होइन पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर र तेह्रथुममा निर्माणाधीन पूर्वाधारमा हजारौं मजदुर पश्चिम नेपालका छन् । यहाँ, रोल्पा, रुकुम, दाङ, बाँके, बर्दिया, कञ्चनपुरलगायत जिल्लाबाट मजदुरीका लागि आएका छन् ।

पाँचथर र तेह्रथुममा मध्यपहाडी लोकमार्गमा कार्यरत छन् भने ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने कावेली नदीमा निर्माणाधीन काबेली बी, ताप्लेजुङ साब्लाखुमा निर्माणाधीन इवा–काबेली जलविद्युत आयोजनामा पनि पश्चिमकै मजदुर कार्यरत छन् । दसैं र तिहारजस्ता चाड सिध्याएर आएका उनीहरू अब एकैचोटि जेठ अन्तिम सातामात्रै घर फर्कन्छन् । ६ देखि ७ महिनाको पूरा अवधि यतै बिताउँछन् । ‘यता साइडमा काम नहुने र उता घरमा गएर असारे खेती लगाउनुपर्ने भएकाले त्यो बेला सबै साइडका मजदुर फर्कन्छौं,’ बुद्धिमानले भने, ‘यसले मात्रै पुग्दैन उता गएर पनि खेती त गर्नैपर्‍यो नि ।’

पूरै मजदुर पश्चिम नेपालबाट ल्याएर काम गराएका सिवानी हाइड्रो पावरका तत्कालीन प्रबन्धक वीरेन्द्र श्रेष्ठ पश्चिमका मजदुरमा राम्रो दक्षता भएको बताउँछन् । ‘पश्चिमका मजदुरहरू लगनशील छन्, छिटो काम गर्छन्,’ उनले भने । पूर्वमा मजदुर पाउन मुस्किल हुने उनले सुनाए । ‘भूकम्पका बेला मजदुर चाहियो भनेर पटकपटक विज्ञापन गर्दा एक–दुई मात्रै सम्पर्कमा आए,’ श्रेष्ठले भने, ‘नेपाललाई भूकम्पले पिरोलिरहेका बेला पश्चिममा पनि मजदुर खोज्ने अवस्था नभएपछि भारतबाट ल्याएर काम गराएको छु ।’ मजदुर ल्याउने पनि गाउँमा ठेकेदार छन् । उनीहरूले गाउँमा खोज्ने र आफैंले नेतृत्व गरेर लिएर जाने गरेका छन् । तेह्रथुम म्याङलुङ नगरपालिका क्षेत्रमा ३५ मजदुर लिएर आएका सोमारी गाउँपालिका बाँके बैजपुरका देव चौधरी कात्तिकमा आएको टोली चैत अन्तिममा फर्कने बताउँछन् । ठेकेदारले ५ सयदेखि ८ सय रुपैयाँसम्म दिने गरी मजदुर ल्याएका छन् ।

‘खाना सबैलाई खुवाउँछौं, सहयोगीलाई ५ सय र मिस्त्रीलाई दक्षता हेरेर ६ देखि ८ सय रुपैयाँसम्म दिन्छौं,’ देवले भने, ‘काम गर्ने समय दैनिक नौ घण्टाकै हुन्छ ।’ बिहान ७ बजे काममा लाग्ने मजदुरले ११ बजे खाना खाने छुट्टी पाउँछन् । १२ बजे काममा फर्कनु पर्छ र बेलुका पाँच बजेसम्म काम हुन्छ । यी क्षेत्रमा मेसिन चलाउनेदेखि ढुंगा बोक्नेसम्म मजदुर पश्चिम नेपालका छन् ।

प्रकाशित : फाल्गुन १, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?