२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु

मुख्यमन्त्रीको शपथ ग्रहण फागुन ३ गते, एमाले एक्लैको बहुमत
कान्तिपुर संवाददाता

विराटनगर — एमाले संसदीय दलले सोमबार प्रदेश कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि पत्र बुझाएको छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम आफूहरूको प्रदेश सभामा बहुमत भएकाले मुख्यमन्त्री नियुक्त गर्न माग गरिएको छ ।

पत्र लिएर प्रदेशसभा सदस्य जीवन घिमिरे सहितको टोली प्रदेश कार्यालय पुगेका थिए । पत्रमा प्रदेश १ एमाले संसदीय दलको नेतामा प्रदेशसभा सदस्य शेरधन राई चयन भएकाले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न भनिएको छ । ‘औपचारिक रूपमा एमाले संसदीय दलको पत्र प्राप्त भएको छ,’ प्रदेश सचिव रामकृष्ण गुरागाईंले भने, ‘अब चाँडै नै नियुक्ति प्रक्रिया अघि बढ्छ ।’

प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले फागुन २ गते एमाले संसदीय दलका नेता शेरधन राईलाई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण भने फागुन ३ गते गर्ने तयारी गरिएको छ । यो प्रदेशमा एमाले एक्लैको बहुमत छ ।

मुख्यमन्त्रीको नियुक्तका लागि पत्र लिएर गएको एमाले संसदीय दलको टोलीको साथमा माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङबुहाङसहितको टोली पनि एमालेसँगै पुगेको थियो । माओवादी संसदीय दललेप नि एमाले संसदीय दलका नेता शेरधन राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आफूहरूको समेत समर्थन रहेको व्यहोराको पत्र बुझाएको छ ।

‘माओवादी संसदीय दलको पत्र समेत आएको छ,’ प्रदेश कार्यालयका सचिव गुरागाईंले भने, ‘पत्रमा

एमालेका संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा आफ्नो समर्थन रहेको उल्लेख छ ।’ कुल ९३ प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा एमालेका ५१ जना सदस्य छन् ।

शुक्रबार भएको संसदीय दलको निर्वाचन संस्थापन पक्षका शेरधन राईले २६ र नेपाल पक्षका भीम आर्चायले २४ मत पाए । त्यसपछि राईका लागि प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । वाम गठबन्धनमा यो प्रदेशको मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेको छ । सात मन्त्रालयमध्ये माओवादीले ३ मन्त्रालयको दाबी गरिरहेको छ ।

मुख्यमन्त्रीको नियुक्तिसँगै राईले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । पहिलो चरणमा बढीमा ५ सदस्य मन्त्रिमण्डल गठन हुन सक्ने स्रोतले बतायो । ‘पहिलो चरणमा सानो र छरितो मन्त्रिमण्डल गठन हुन्छ,’ राईले भने, ‘सत्ता सहयात्री माओवादी केन्द्रसँग पनि छलफल गरेर संख्या तय गर्छौं ।’ यो प्रदेशका कुल ९३ सिटमध्ये एमालेका ५१, माओवादी केन्द्रले १५, कांग्रेस २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र १, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ ।

प्रकाशित : फाल्गुन २, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?