पाथीभरा महोत्सव धुमधाम

जातीय झाँकी, प्याराग्लाइडिङ, खाद्य परिकार, गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता लगायतका कार्यक्रम महोत्सवका मुख्य आकर्षण
आनन्द गौतम

ताप्लेजुङ — प्रसिद्ध धार्मिकस्थल पाथीभरा रहेको पूर्वी नेपालको ताप्लेजुङमा पाथीभरा पर्यटन महोत्सव मंगलबार सुरु भएको छ । बिहान सदरमुकाम फुङलिङको नयाँ रणभीम गुल्मको अगाडि परेवा उडाएर महोत्सवको शुभारम्भ भएको हो ।

पाथीभरा पर्यटन महोत्सव २०७४ को पहिलो दिन कलशयात्रा गर्दै सहभागीहरू । तस्बिर : आनन्द गौतम/कान्तिपुर 

प्रदेशसभा सांसद प्रताप प्रकास हाङगाम, जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन, मेयर छत्रपती प्याकुरेल र प्रमुख जिल्ला अधिकारी मोहन जिसीले परेवा उडाएका थिए । आयोजनास्थलदेखि सिद्धिडाँडा हुँदै पुन: नयाँ रणभीम गुल्ममा आएर कलश यात्रा समापन भएको थियो ।
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति, नयाँ रणभीम गुल्म, फुङलिङ नगरपालिका लगायतको आयोजनामा आयोजित महोत्सव फागुन ३ गते बिहीबार सम्म चल्नेछ । नयाँ रणभीम गुल्मको प्रांगणमा आयोजित महोत्सवको समापनमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम छ ।
अन्तिमदिन सदरमुकामदेखि पाथीभरा हुँदै सदरमुकामसम्म खुला म्याराथन तथा सदरमुकामदेखि भालुगौडे हुँदै सदरमुकाम सम्म महिला हाफ म्याराथन प्रतियोगिता पनि हुँदैछ । जातीय झाँकी, प्याराग्लाइडिङ, खाद्य परिकार, गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता लगायतका कार्यक्रम महोत्सवका मुख्य आकर्षण रहेका छन् । स्थानीय तथा केन्द्रीय कलाकारको सांगीतिक प्रस्तुति कार्यक्रम पनि रहेको छ ।
फुङलिङ नगरपालिकाका बासिन्दाले महोत्सवका लागि नगरपालिका क्षेत्रलाई झकिझकाउ बनाइदिएका छन् । सडकभरि महोत्सवको स्वागतका लागि घडाहरू रंगाएर राखिएको छ भने माथिबाट ध्वजापतकाले पूरै भरिभराउ बनाइएको छ । तोक्मेदेखि सदरमुकामको अन्तिमविन्दु शेर्पाटोल र सुकेटार विमानस्थल तथा म्याराथनमा दौडने देउराली, भालुगौडे, माथिल्लो फेदी क्षेत्र पनि सजावट बनाइएको छ ।
महोत्सवमा उद्योग र कृषि मेला प्रदर्शनी पनि राखिएको छ । उद्यमीहरूले तयार पारेका राडीपाखी, खुकुरी, कलात्मक बस्तु, हातैले बनाइएका फूल राखिएको छ भने कृषि मेलामा किसानले उत्पादन गरेका कृषि उपजहरू ल्याइएको छ । उत्कृष्ट किसान तथा उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । सुकेटार देखि सदरमुकाम क्षेत्र हुँदै जिल्लाभरि प्याराग्लाइडिङ उडाउने तयारी रहेको छ ।
यसअघि लगातार चार वर्ष भएको महोत्सव पुन: चार वर्ष स्थगीत गरिएको थियो । यो वर्ष गुल्मपति रबी केसी समेतको सक्रियतामा महोत्सव गरिएको हो । यसअघि तत्कालीन श्रीबक्स गुल्मका गुल्मपति कृष्ण भण्डारीले महोत्सवको सुरुवात गराएका थिए । सदरमुकामदेखि पाथीभरा हुँदै सदरमुकामसम्मको म्याराथनमा अधिक स्वयंसेवक आवश्यक पर्ने भएकाले सेनाको सक्रियता अनिवार्य रहेको आयोजकहरू बताउँछन् ।
म्याराथनको प्रायोजन भने हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन ग्रुपका प्रबन्धक ईश्वरी पौडेलले गर्दै आएका छन् । यो वर्ष ४ लाख ६५ हजार रुपैयाँ म्याराथनको पुरस्कार राशिमा मात्रै खर्च हुँदैछ । खुलातर्फ १ लाख ५१ हजार प्रथम पुरस्कार रहेको छ । द्वितीय १ लाख र तृतीय ५१ हजार रहेको छ भने महिला हाफतर्फ प्रथम ८१ हजार, द्वितीय ५१ हजार र तृतीय ३१ हजार रहेको छ ।

प्रकाशित : फाल्गुन २, २०७४ १०:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु

मुख्यमन्त्रीको शपथ ग्रहण फागुन ३ गते, एमाले एक्लैको बहुमत
कान्तिपुर संवाददाता

विराटनगर — एमाले संसदीय दलले सोमबार प्रदेश कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि पत्र बुझाएको छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम आफूहरूको प्रदेश सभामा बहुमत भएकाले मुख्यमन्त्री नियुक्त गर्न माग गरिएको छ ।

पत्र लिएर प्रदेशसभा सदस्य जीवन घिमिरे सहितको टोली प्रदेश कार्यालय पुगेका थिए । पत्रमा प्रदेश १ एमाले संसदीय दलको नेतामा प्रदेशसभा सदस्य शेरधन राई चयन भएकाले उनलाई मुख्यमन्त्री पदमा नियुक्तगर्न भनिएको छ । ‘औपचारिक रूपमा एमाले संसदीय दलको पत्र प्राप्त भएको छ,’ प्रदेश सचिव रामकृष्ण गुरागाईंले भने, ‘अब चाँडै नै नियुक्ति प्रक्रिया अघि बढ्छ ।’
प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले फागुन २ गते एमाले संसदीय दलका नेता शेरधन राईलाई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण भने फागुन ३ गते गर्ने तयारी गरिएको छ । यो प्रदेशमा एमाले एक्लैको बहुमत छ ।
मुख्यमन्त्रीको नियुक्तका लागि पत्र लिएर गएको एमाले संसदीय दलको टोलीको साथमा माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङबुहाङसहितको टोली पनि एमालेसँगै पुगेको थियो । माओवादी संसदीय दललेप नि एमाले संसदीय दलका नेता शेरधन राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आफूहरूको समेत समर्थन रहेको व्यहोराको पत्र बुझाएको छ ।
‘माओवादी संसदीय दलको पत्र समेत आएको छ,’ प्रदेश कार्यालयका सचिव गुरागाईंले भने, ‘पत्रमा
एमालेका संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा आफ्नो समर्थन रहेको उल्लेख छ ।’ कुल ९३ प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा एमालेका ५१ जना सदस्य छन् ।
शुक्रबार भएको संसदीय दलको निर्वाचन संस्थापन पक्षका शेरधन राईले २६ र नेपाल पक्षका भीम आर्चायले २४ मत पाए । त्यसपछि राईका लागि प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । वाम गठबन्धनमा यो प्रदेशको मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेको छ । सात मन्त्रालयमध्ये माओवादीले ३ मन्त्रालयको दाबी गरिरहेको छ ।
मुख्यमन्त्रीको नियुक्तिसँगै राईले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । पहिलो चरणमा बढीमा ५ सदस्य मन्त्रिमण्डल गठन हुन सक्ने स्रोतले बतायो । ‘पहिलो चरणमा सानो र छरितो मन्त्रिमण्डल गठन हुन्छ,’ राईले भने, ‘सत्ता सहयात्री माओवादी केन्द्रसँग पनि छलफल गरेर संख्या तय गर्छौं ।’ यो प्रदेशका कुल ९३ सिटमध्ये एमालेका ५१, माओवादी केन्द्रले १५, कांग्रेस २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र १, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ ।

प्रकाशित : फाल्गुन २, २०७४ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT