१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अलैंची खेतीमा सडक

ठूलो परिमाणमा अलैंची नष्ट हुने
रोक्न अदालतमा मुद्दा दायर
स्थानीय आवश्यकता नबुझी निर्णय भएको गुनासो
डिल्लीराम खतिवडा

उदयपुर — स्थानीयको आवश्यता पहिचान नगरी सडक निर्माण गर्ने योजना अघि सारेपछि ताप्ली गाउँपालिका १ गैरीगाउँका अलैंची किसान समस्यामा परेका छन् । अलैंची बिक्री गरेर आउने आम्दानीबाटै गुजारा गर्दै आएका किसानको खेती नै नष्ट हुने भएपछि समस्यामा परेका हुन् ।

अलैंची खेतीमा सडक

झन्डै २६ वर्षयता गैरीगाउँका डेढ दर्जन बढी किसानले अलैंची खेती गरिरहेका छन् । ती किसानको आम्दानीको मुख्य स्रोत भने कै अलैंची हो । अलैंची बिक्रिबाट एक किसानले न्यूनतम १ देखि २ र अधिकतम १५ लाखसम्म आम्दानी गरिरहेका छन् ।

अलैंचीबाट किसानले छोराछोरीको शिक्षादिक्षादेखि औषधि उपचारसँगै दैनिकी चलेको छ । गुजाराको मुख्य स्रोत नै मासिने गरी स्थानीय तहले सडक बनाउने योजना अघि सारेपछि चिन्तामा परेको किसानले गुनासो गरे । ‘आवश्यकताबिना नै सडक बनाउन खोजीएको छ,’ एक किसानले भने, ‘स्थानीय तहको बजेट दुरुपयोग गर्नका लागि मात्रै सडक विस्तार गर्ने योजना अघि सारिएको हो ।’ सडक निर्माणका लागि १३ लाख रुपैयाँ ताप्ली गाउँपालिका १ वडा समितिले विनियोजन गरेको उनीहरू बताउँछन् ।

वडा समितिले जंगबहादुर मगरलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर सडक निर्माण कार्य अघि बढाएको छ । नुनथला गैरीगाउँ हुदै डाँडागाँउ जाने सडक निर्माणका लागि मगरको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको हो । ‘तर गैरीगाउँका लागि सडकको आवश्यकतै छैन,’ पीडित किसान उत्तमबहादुर मगरले भने, ‘गाउँबाट सडक विस्तार गर्नुपर्ने आवश्यकतै छैन ।’ खाली प्रतिष्ठाको विषय बनाएर जसरी पनि गैरीगाउँबाटै सडक विस्तार गर्ने भनेपछि समस्या परेको उनले बताए ।

गैरीगाउँ आवत जावतका लागि पहिले नै सडक बनिसकेको छ । तर स्थानीयसँगको प्रतिशोध लिएर आम्दानीको मुख्य स्रोत ‘अलैंची’ मास्ने योजनाका लागि सडक विस्तार गर्न खोजिएको ज्ञानबहादुर मगरले बताए । ‘सडक आवश्यक नै छैन,’ ज्ञानबहादुरले भने, ‘३ सय मिटरको दूरीमा सिद्धिचरण लोकमार्गको बेतिनी हँुदै माझखर्क जाने मुख्य सडक पुगिन्छ ।’ त्यसैगरी डाँडागाउँ जाने पनि पहिले नै सडक बनिसकेको छ, अब किन गैरीगाउँ र डाँडागाउँ जोडनुपर्‍यो ? उनले प्रश्न गरे ।

गैरीगाउँ र डाँडागाउँ बेतिनी माझखर्क सडकको प्यारेलालमा पर्ने स्थान हुन् । ‘घुमाउरो भएको भन्दै बेतिनी माझखर्क सडकको समान्तर गैरीगाउँ डाँडागाउँ जोडनुपर्ने सडक अवश्यक छैन,’ ज्ञानबहादुरले भने, ‘सडक बनाइँदा गाउँमा वार्षिक करोड रुपैयाँ भित्री रहेको अलैंची मासिन्छ ।’ उपभोक्ता समितिले आर्थिक अनियमिता गर्नका लागि मात्रै सडक खन्ने योजना बनाएको उनले बताए ।

‘नुनथला डाँडागाउँ मादले सडक योजना विस्तार गर्ने क्रममा गैरीगाउँका १/२ किसानको अलैंची मासिन्छ,’ उपभोक्ता समितिका अध्यक्ष मगरले भने, ‘सडक विस्तार हुने गैरीगाउँ क्षेत्रमा १/२ घरमात्रै नम्बरी जग्गामा खेती गर्ने गरेका छन्, अन्य ऐलानी जग्गामा खेती गर्छन् ।’ त्यसैले पनि सडक विस्तार गर्न नमानेको उनले बताए ।

तर ऐलानी जग्गामा खेती गरेर वार्षिक लाखांै आम्दानी गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष मगर र वडाध्यक्ष गोविन्द्रबिक्रम सेन समेतको मिलेमतोमा गैरीगाउँ सडक विस्तार योजना तयार गरिएको स्थानीयले बताए । ‘ऐलानीमा अलैंची खेती गरेर वार्षिक लाखौं रुपैयाँ आम्दानी गरेको प्रतिशोध लिन सडक विस्तारको नाटक गरियो,’ अर्का किसान पदमबहादुर मगरले भने, ‘स्थानीयको आवश्यकताभन्दा गाउँपालिकको रकम दुरुपयोग गर्दै गाउँलेलाई प्रतिशोध गर्न सडक बनाउन लागिएको हो ।’

उपभोक्ता समिति बनाएर रकम अनियमितता गर्न पनि सडक विस्तार गर्न खोजिएको गैरीगाउँका स्थानीयको आरोप छ । उपभोक्ता समितिले भने नुनथला डाँडागाउँ मादले हँुदै गाउँपालिकको केन्द्र रूपाटारसम्म जाने छोटो र सोझो सडक भएकोले मोटर बाटो निर्माण गर्ने जनाएको छ । रूपाटार जाने नुनथला ओख्ले पिपलभन्ज्जयाङ हँुदै कुमलटार भएर रूपाटार जाने बाटो भने अहिले पनि सञ्चालनमा छ ।

यसैबीच स्थानीय तहले सडक विस्तार गरेर अलैंची खेती नष्ट गर्न खोजेको भन्दै रोकिपाऊँ भन्दै पीडित किसानले जिल्ला अदालत उदयपुरमा मुद्दा समेत दायर गरेका छन् । उपभोक्ता समिति अध्यक्ष जंगबहादुर मगर, वडाध्यक्ष गोविन्द्रबिक्रम सेन, गाउँपालिका प्रमुख उद्धवसिंह थापा र गाउँपालिका समेतलाई विपक्षी बनाई दायर मुद्दामा जिल्ला अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । उत्तमबहादु मगर लगायतले दायर गरेको मुद्दामा फागुन ८ गते छलफलका लागि बोलाएको मगरका कानुन व्यवसायी भक्तबहादुर दनुवारले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?