१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नमुना बन्दै आदर्श विद्यालय

कान्तिपुर संवाददाता

विराटनगर — दरबार हाइस्कुलपछि सर्वसाधारणका छोराछोरी पढ्नका लागि स्थापित आदर्श माध्यमिक विद्यालय नमुना बन्दै गएको छ ।

नमुना बन्दै आदर्श विद्यालय

विद्यालयले अंग्रेजी माध्यमबाट सबै कक्षामा प्रोजेक्टर उपयोग गरी पढाइ सुरु गर्ने प्रक्रिया सुरु गरेको छ । राणा शासनविरुद्ध आन्दोलनमा होमिएका कृष्णप्रसाद कोइरालाले स्कुल स्थापना गरेका हुन् । विसं. १९७६ मा भारत पुनर्वास हुँदा विहार सहर्षाको टेडी भन्ने स्थानमा विसं १९८१ मा उनले यो विद्यालय स्थापना गरेको र विस १९८६ मा स्वदेश फर्कदा सँगै ल्याएर आफनो निवासमा सञ्चालन गरेको इतिहास छ ।

कोइराला विस १९८६ मा स्वदेश फर्केसँगै यहाँ आएको यो विद्यालयका पहिला विद्यार्थी गिरिजाप्रसाद कोइरालासहित मुकुन्द नेपाल रहेको तथ्यांक विद्यालयको छ । विद्यालयका प्राचार्य दुर्गाप्रसाद चुँडालका अनुसार पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद, सूर्यबहादुर थापा, नरेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी लगायतका विशिष्ट व्याक्तिले अध्ययन गरेको तथ्यांक छ ।

तथ्यांकमा गिरिजाप्रसाद कक्षा ७ मा र सूर्यबहादुर थापा कक्षा ९ मा र नरेन्द्रप्रसाद एसएलसीमा अनुत्तीर्ण भएको पाइन्छ । त्यसैगरी विश्वनाथ प्रसाद उपाध्याय, मनमोहन अधिकारी, भरतमोहन अधिकारी तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण भएको अभिलेख छ ।

२०६२ सालदेखि कक्षा १२ सम्मको पढाइ सुरु गरेको यो विद्यालयमा हाल विज्ञान, शिक्षा, व्यवस्थापन संकायमा कक्षा १२ सम्म र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) को अठार महिने टीएसएलसी (कम्प्युटर) र तिन वर्षीय डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कोर्ष पढाइ हुँदै छ ।

कक्षा १ देखि १२ सम्ममा हाल यो विद्यालयमा १ हजार ५ सय ५९ बालबालिका अध्ययनरत छन् । अघिल्लो शैक्षिक सत्रदेखि कक्षा १ देखि १० सम्म अंग्रजी माध्यमबाट, कक्षा ४ देखि ४० सम्म नेपाली माध्यमबाट पढाइ भइरहेको छ । प्राचार्य चँुडालका अनुसार विद्यालयले चाँडै नेपाली माध्यमको पढाइलाई पूरै फेज आउट गरेर कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यमबाट प्रोजेक्टरबाट पढाइ सुरु गरेर मुलुककै नमुना सामुदायिक विद्यालय बनाउने तयारी गरिएको छ ।

त्यसका लागि सबै कक्षा कोठामा प्रोजेक्टर राखेर पढाउने काम सुरु गरिएको उनले बताए । हरेक कक्षा कोठामा प्रजेक्टर राखिएको छ ।

उनले भने हरेक शिक्षकलाई एकएक थान ल्यापटप उपलब्ध गरेर विद्यालयमा इन्टरनेटको व्यवस्था गरिएको छ ।

‘पिताजी कोइराला परिवारका ४५ सदस्यसहित भारत पुनर्वास गएका थिए,’ कोइराला निवासलाई नजिकबाट बुझेका पिताम्बर दाहालले भने, ‘त्यहाँ उनले आफना बालबालिकासहित स्थानीयको शिक्षाका लागि टेडीमा विद्यालय स्थापना गरेर पठनपाठन सुरु गरे ।’

त्यस बेला उक्त विद्यालयका प्राचार्य भारतीय नागरिक रघुनन्दनलाल दास थिए । दाहालका अनुसार पिताजी स्वदेश फर्कंदा ती प्राचार्यलाई पनि सँगै ल्याएर अहिलेको कोइराला निवासको पुरानो भवनको एउटा कोठामा विद्यालय सञ्चालन गरेका थिए ।

बालबालिकाको सख्या बढ्दै गएपछि पिताजीले हालको मातृकाप्रसादको घर भएको स्थानमा टहरो बनाएर विद्यालय सञ्चालन गरेका थिए । त्यसपछि हालको स्थानमा भएको सुरेन्द्रबहादुर श्रेष्ठले १६ कठ्ठा र रामलाल गोल्छाले एक बिघा जमिन उपलब्ध गरेपछि सामान्य भवन निर्माण गरी कोइराला निवासबाट अहिलेको स्थानमा विद्यालय सारिएको थियो ।

पिताजीको निधन २००१ मा भएपछि कोइराला परिवारकै पहलमा २००९ सालमा हालको आदर्श माविको पूर्वपट्टि बालिका स्कुलको स्थापना भयो । कुनै बेला आर्थिक सम्पन्न र पहुँचवालाका छोरीमात्र पढन पाउने उक्त विद्यालयमा हाल सर्वसाधारणका छोरीका लागि पनि शिक्षा सर्वसुलभ छ । आदर्श माविमा २०३४ सालदेखि मात्र छात्राले पढ्न पाएको र यहाँका विद्यार्थीले विस १९९३ सालदेखि एसएलसी परीक्षामा सहभागी भएको इतिहास छ ।

केही वर्षसम्म फुसको घरमा विद्यालय सञ्चालन भएपछि विद्यालयका अविभावकहरूले सरकारसमक्ष विद्यालयको पक्की भवन निर्माणका लागि अनुरोध गरे । तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले विद्यालय भवन र शिक्षक अनुदानका लागि वडा हाकिममार्फत शर्त राखेर भवन निर्माणका लागि १२ हजार रुपैयाँ र शिक्षकका लागि वार्षिक ५ हजार कम्पनीको पनि व्यवस्था गरेको विगत छ ।

सर्तअनुसार विद्यालयको नाम परिवर्तन गर्नुपर्ने थियो । त्यही सर्तअनुसार विस १९९५ चैत २६ गते जुद्ध शम्शेरको जन्मदिन विद्यालयको नाम श्री ३ जुद्ध हाइस्कुल राखेर नयाँ भवनको उद्घाटन गरिएको र त्यस बेला विद्यार्थीले ‘श्री ३ जुद्ध प्रभुको, छ प्रेम धारा चुहिरहेको,’ बोलको गीत पनि गाएको अभिलेख छ । तर २००७ सालमा प्रजातन्त्र पुनस्र्थापना भएसँगै विद्यालयको नाम आदर्श मावि राखिएको पाइन्छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?