कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नम्बर एक बन्ने चुनौती

विराटनगर — पर्याप्त पूर्वाधार हुदा पनि सदुपयोग नहुदा प्रदेश १ ले विकासको गति लिन सकेको छैन । प्राकृतिक स्रोतको उपयोग, औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण र पर्यटन विकासमा ध्यान दिए यो प्रदेश मुलुककै नमुना बन्ने देखिएको छ । ठोस नीति बनाएर यी क्षेत्रमा लगानी गरे प्रदेशको सम्पन्नताका लागि आधार हुने सम्बद्ध क्षेत्रका जानकारले बताएका छन् ।

कृषिले उकासिएको जीवनस्तर, जातीय र सांस्कृतिक विविधता, पर्यटन जलविद्युतो प्रचुर सम्भावना, औद्योगिक विकासको सुरुवातकर्ता अनि मुलुकको आधुनिक राजनीतिको नेतृत्वकर्ता । यी अनेक विशेषता बोकेको प्रदेश नम्बर १ समृद्धिको प्रशस्त सम्भावना बोकेको क्षेत्र हो ।

सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान झापाको कचनकवलसमेत समेटिएको यो प्रदेशका हिमाली र पहाडी अनि केही तराईका क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् । पाथिभरा, बराहक्षेत्र, हलेसीजस्ता धार्मिक पर्यटनका केन्द्र पनि यो प्रदेशका आकर्षण हुन् । जैविक विविधता यहाँको अर्को विशेषता हो ।

कोसीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गुराँसको राजधानीका रुपमा चर्चित तीनजुरे मिल्के जलजले क्षेत्र जस्ता पर्यटकीय आकर्षणका क्षेत्रको उपयोग गरी अधिकतम लाभ लिन सकिने अवस्था रहेको विराटनगरका पर्यटनकर्मी भविश श्रेष्ठ बताउँछन् ।

तराईका मोरङ, सुनसरी र झापा अन्न उत्पादनका भण्डार मानिन्छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छन् । वर्षमा सरदर १३ लाख मेट्रिकटन धान यी क्षेत्रमा उत्पादन हुन्छ । क्षेत्रीय कृषि निर्देशनालयका सूचना अधिकृत राजेन्द्र उप्रेतीका अनुसार कृषि क्षेत्रको आधुनीकीकरण गर्न सके प्रदेशभरलाई पुग्ने खाद्यान्न यहाँ उत्पादन हुन सक्छ ।


व्यापारिक रुपमा ‘ट्रान्जिट’

महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रा.डा.प्रमोदकुमार झा रानी–किमाथांका सडक पूरा भएपछि यो प्रदेश चीन, भारत, भुटान, बंगलादेशको ‘ट्रान्जिट प्वाइण्ट’ बन्नेछ । ‘औद्योगिक विकासको उद्गमस्थल भएकाले बिशेष आर्थिक क्षेत्र बनाएर व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिन्छ’ उनले भने, ‘जडिबुटीको पर्याप्त स्रोत भएकाले यसमा आधारित उद्योगको सम्भावना छ ।’

पूर्वी नेपालका बेग्लाबेग्लै विशेषतायुक्त १४ वटा जिल्ला समेटिएको यो प्रदेशमा तराई, पहाड र हिमाली क्षेत्र समेटिएको छ । प्रदेशमा १ सय ३५ स्थानीय तह छन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका यो प्रदेशमा छन् । प्रदेशका चौधै जिल्लामा गरी करिब साढे ४५ लाख जनसंख्या छ ।


सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृं्खला शीरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्राकृतिक स्रोतको भण्डार छ । मेची, कोसी, अरुण, तमोर, माइलगायत प्रसिद्ध नदी–खोला यहीँ पर्छन् । प्राकृतिक स्रोत र मौलिक सांस्कृतिक पक्षलाई सदुपयोग गर्दै पर्यटक आकर्षित गर्न सके मनग्य आम्दानी गर्न सकिने अवस्था रहेको इलामका नागरिक अगुवा धर्म गौतम बताउँछन् । ‘यसमा धेरथोर प्रयास भइरहेकै पनि छ’ उनी भन्छन्, ‘तर यति नै पर्याप्त चाहिँ छैन ।’


गौतमका अनुसार पर्यटन विकास गर्न झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा ‘चिया पर्यटन’ को बेग्लै प्याकेज बनाउन सकिन्छ । ‘यो प्रदेशको पर्यटन विकासका लागि एकीकृत पर्यटन व्यवस्थापन तथा विकास गुरुयोजना बनाउन आवश्यक छ’ उनले भने, ‘सम्भावना प्रशस्त छ, चुनौति उपयुक्त बजारीकरणको हो ।’ र्‍याफ्टिङ, क्यायाकिङ जस्ता साहसिक जलक्रिडाका लागि यस प्रदेशका नदीहरू उपयुक्त छन् । यसक्षेत्रमा रहेका झर्नाहरूमा क्यानोनिङ विकास गर्न सकिन्छ । रक क्लाइम्बिङ, बन्जिजम्पिङ, माउण्टेन म्याराथन, हट बेलुन जस्ता साहसिक खेलको विकास गर्ने सम्भावना यस क्षेत्रमा मनग्य छ ।


राजधानी र पहाडी/हिमाली क्षेत्र आउजाउ गर्न हवाइ सुविधा छ । विराटनगर, भद्रपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, खोटाङका लामिडाँडा, खाडीडाँडा र खामखर्क, सोलुखुम्बुको नाम्चेमा गरी १३ वटा विमानस्थल यहाँ छन् । पूर्व–पश्चिम राजमार्ग, मेची, कोसी राजमार्ग, हुलाकी मार्ग, सिद्धिचरण राजमार्गलगायत सञ्चालनमा छन् । यसैगरी निर्माणाधीन मध्यपहाडी राजमार्गले काठमाडौंलाई पहाडैपहाड भएर जोड्ने छ । जोगबनीदेखि संखुवासभाको चीन सीमावर्ती किमाथांकासम्म पुग्ने मार्ग निर्माणाधीन छ । यो मार्ग व्यापारिक महत्वको हो ।


उद्योगमा अग्रणी

औद्योगिक हिसाबले पनि प्रदेश अग्रणी छ । नेपालकै पहिलो उद्योगका रुपमा कहलिएको विराटनगर जुटमिल स्थापना भएपछि विस्तारै खुलेका उद्योगहरूका कारण यहाँ ‘सुनसरी–मोरङ औद्योगिक कोरिडोर’ स्थापना भएको छ । कोरिडोर क्षेत्रमा ठूला–साना गरी ५ सयभन्दा बढी उद्योग छन् । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय औद्योगिक–व्यापारिक दृष्टिले महत्वपूर्ण यो प्रदेशमा आर्थिक विकासको प्रशस्त सम्भावना भएको औंल्याउँछन् ।

चीनसँगको किमाथांका नाका, ताप्लेजुङको ओलाङचुङगोला, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको जोगबनी र सुनसरीको भण्टाबारी नाका व्यापारिक दृष्टिले महत्वपूर्ण छन् । अस्थायी राजधानी तोकिएको विराटनगरलगायत पूर्वका सहर शैक्षिक र स्वास्थ्य उपचारका हिसाबले पनि सबल हुन थालेका छन् । यहाँ पूर्वाञ्चल विश्वविद्यालय र तीनवटा मेडिकल कलेज सञ्चालित छन् । अधिकांश विषयमा उच्च शिक्षा हासिल गर्न अब अन्यत्र जानु नपर्ने अवस्था रहेको शिक्षक तथा एक शैक्षिक संस्थाका सञ्चालक त्रिलोचन गौतम बताउँछन् ।


जलस्रोतमा धनी

प्रदेश जलस्रोतका हिसाबले पनि धनी छ । यहाँका नदी–खोला उपयोग गरेर प्रशस्त ऊर्जा उत्पादन गर्न सकिने अवस्था रहेको उद्योग वाणिज्य महासंघका प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतका अनुसार केही जिल्लाबाट जलविद्युत आयोजनाहरूमार्फत बिजुली उत्पादन भइसकेको छ । त्यसलाई राष्ट्रिय प्रशारणमा जोडिएको छ । कतिपय भने प्रशारण लाइनको समस्याले जोडिन बाँकी छ ।


‘औद्योगिक विकास र समाजका अन्य पक्षको विकासका लागि ऊर्जा अत्यावश्यक भइसकेको छ’ उनले भने, ‘यो सन्दर्भमा स्वदेशमा उत्पादित ऊर्जा खपत गर्न सके इन्धन खरिदमा बाहिरिने गरेको ठूलो धनराशी बच्न सक्छ, स्थानीयस्तरमा खपत हुने बिजुलीबाट बाँकी रहेको बिक्री गरी आम्दानी गर्न सकिने अवस्था छ ।’


प्रदेश १ मा पर्ने जिल्लाहरूमा १ मेगावाटदेखि २५ मेगावाटसम्मका ५४ वटा आयोजनाका लागि लाइसेन्स जारी भइसकेको छ । कतिपय निर्माण चरणमा छन् । ती आयोजनाबाट ५६९ मेगावाट बिजुली उत्पादन हुने लक्ष छ ।ं तीमध्ये ११२ मेगावाट उत्पादन भइसकेको छ । आगामी तीन वर्षभित्र करिब ८० मेगावाट उत्पादन हुने लक्ष छ ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?