बराहक्षेत्र विकासलाई गुरुयोजना 

कान्तिपुर संवाददाता

धरान — सुनसरीको बराहक्षेत्र नगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्य वनाउन गुरुयोजना तयार पारिएको छ । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले सप्तकोसीको किनारमा रहेको बराहक्षेत्रलाई पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार पारेको बताए । 

बराहक्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न सडक पूर्वाधारमा प्राथमिकता दिने उनले बताए । कोसीमा जल यात्रा सञ्चालन गर्न योजना बनाइँदै छ । एक वर्षभित्र करिव सय किलोमिटिर सडकको निर्माण र स्तरोन्नति गर्ने लक्ष्य लिएको उनले बताए । बराह नगरपालिकामा करिव चार हजार वर्ष पुरानो ऐतिहासिक पुरातात्त्विक महत्त्वको प्राचीन बराहक्षेत्र मन्दिर, सूर्यकुण्ड, चतराको औलियाबाबा मन्दिर, किरात–सेनकालीन सभ्यता रहेको चावाचा पुरातात्त्विक क्षेत्र रहेका छन् । बराहक्षेत्र नजिकै विष्णुपादुका धार्मिक तीर्थस्थल पनि रहेको छ ।

नगरपालिकाले ती धार्मिक, ऐतिहासिक पुरातात्त्विक र प्राकृतिक रमणीय स्थलहरूलाई रिंरोडमार्फत जोड्न ५ ठूला योजना सडक विस्तार योजना बनाएको खनालले बताए । २ करोड ७५ लाखको लागतमा सुरु हुन लागेको सालबनी–कालाबन्जार–नयाँ पुल–कुटी–बीचपानी सडक नगरपालिकाको सबैभन्दा ठूलो योजना हो । उक्त सडक २० किलोमिटरको सडक निर्माण हुनेछ । अर्को योजनामा चक्रघट्टी–कुटी–राजाबास ८ किमि सडक निर्माणका लागि १ करोड ३३ लाख १० हजार बजेट विनियोजन भएको छ । यसैगरी जुँगेचोक–धरहरा ८ सय मिटर सडकका लागि १ करोड ९० लाख विनियोजन भएको छ । नगरपालिका भवनदेखि मुनाल चोक कालोपत्रे गर्नकालागि ६० लाख छुटयाएको छ । प्रत्येक वडाका सिमानाका बाटो निर्माणका लागि समेत ६० लाख छुट्याइएको छ । सडक निर्माणका अन्य योजनामा बयरवन–सूर्यकुण्ड पर्यटक सडकका लागि समेत ३० लाख रकम छुट्याइएको छ ।


नगरपालिकाको सडक निर्माण योजनामा बकुल्लाचाप–पीपलगाछी–मुस्लिम टोल–मधुवन बजार हुँदै कोसी गाउँपालिका जोड्ने बाटोका लागि १८ लाख छुट्याइएको छ । यस्तै चतरा कृषि सडक निर्माणका लागि १० लाख छुट्याइएको छ । पीँडारी–दुवाही २ किलोमिटर सडक निर्माणका लागि २० लाख विनियोजन गरिएको छ । ती सडक सञ्जाल विस्तारसँगै बराह नगरमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न समर सिटी बनाउने, मनमोहन ट्रयाक खोल्ने, भ्युटावर बनाउने, कोसी–त्रिवेणीमा जल मनोरन्जनका आधारभूत पूर्वाधार तयार गर्ने, ऐतिहासिक पुरातात्त्विक महत्त्वका स्थल संरक्षण संवद्र्धन गर्दै प्रचारप्रसारलाई आक्रामक बनाउने योजना रहेको प्रमुख खनालले बताए ।


नगरका योजना विभाग प्रमुख शक्तिराज रेग्मीले स्थानीय स्तरमा माग भइरहेका तर वर्षौंदेखि थालनी गर्न नसकेका योजना जनप्रतिनिधि आएपछि सुरु होला भन्ने जनताले आशा गरेको बताए । उनले बराह नगर प्राकृतिक रूपमा धनी भए पनि दीर्घकालीन र अल्पकालीन योजना, डिजाइनको अभावले ओझेलमा परेको बताए । तत्काललाई बजेटको अवस्था हेरेर विकास निर्माणमा जनताको अपेक्षालाई सम्बोधन गर्ने हिसाबले बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?