३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेस संसदीय दलमा कोइराला

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला चयन भएका छन् । संसदीय दलको नेताका लागि आइतबार उम्मेदवारी दर्ता गराएकामध्ये केदार कार्की र शेखरचन्द्र थापाले सोमबार उम्मेदवारी फिर्ता लिएपछि कोइराला सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भरत थापाले बताए ।

कांग्रेस संसदीय दलमा कोइराला

सर्वसम्मत गराउन कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, अमृत अर्याललगायतका नेता लागेका थिए ।


सुनसरी २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कोइराला कांग्रेसका जिल्ला सभापति हुन् । २०३५ सालमा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका सुनसरीको इनर्बा १ का कोइराला २०४५ को जनजागरण अभियानदेखि पार्टी राजनीतिमा छन् । २०५४ सालमा पार्टीको सहसचिव भएका उनी ०६४ मा सचिव र ०६७ बाट जिल्ला सभापतिमा नेतृत्व सम्हालेका थिए । उनले दोस्रोपटक जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका हुन् । प्रदेश १ मा २१ जना कांग्रेसका प्रदेशसभा सदस्य छन् । जसमा १३ जना समानुपातिकबाट ८ जना निर्वाचित छन् । यो प्रदेशमा कुल ९३ सिट संख्या छ । त्यसमध्ये एमालेको ५१, माओवादी केन्द्रको १५, संघीय समाजवादी फोरमको ३, स्वतन्त्रको १, राप्रपाको १ र संघीय लोकतान्त्रिक मञ्चको १ सिट छ ।


यो प्रदेशमा एमाले र माओवादी केन्द्रको दुईतिहाइ सिट पुग्छ । कांग्रेस प्रमुख प्रतिपक्ष दल हो । प्रतिपक्षी दलको नेता चुनिएपछि कोइरालाले प्रदेश सदनमा कांग्रेसको भूमिका बलियो हुने बताएका छन् ।


‘सत्ता पक्ष दुईतिहाइ मतमा हुनुहुन्छ यसले गर्दा उहाँहरू निरंकुश पनि बन्न सक्नुहुन्छ त्यसको प्रतिवाद गर्न कांग्रेसको भूमिका बलियो हुनु आवश्यक छ,’ कोइरालाले भने, ‘सकारात्मक काममा सहयोग र नराम्रा कामको डटेर सामना हुन्छ ।’ बहुमतको घमण्ड नगरे प्रदेशको समृद्धिका लागि कांग्रेस सधैं सहयोगी हुने कोइरालाको भनाइ थियो ।


यसअघि एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भइसकेका छन् । उनी मुख्यमन्त्री नियुक्त भएर ५ सदस्यीय मन्त्रिमण्डलसमेत बनाइसकेका छन् । त्यस्तै माओवादी केन्द्र संसदीय दलको नेतामा टंक आङबुहाङ चयन भएका छन् । प्रदेश १ को सदनमा प्रतिनिधित्व गर्ने ६ दलमध्ये ३ सदस्य रहेको संघीय समाजवादी फोरम नेपालले भने अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?