दाताले दिएको जग्गा नै गायब

‘करोडभन्दा बढी मूल्य पर्ने संस्थाको जग्गा हराउनु गम्भीर कुरा हो’
अर्जुन राजवंशी

दमक — इलम प्रशिक्षक केन्द्र दमकलाई दाताले दिएको जग्गा हराएको छ । दमक ८ स्थित स्थानीय श्यामप्रसाद श्रेष्ठले नि:शुल्क दान गरेको जग्गा हराएको हो ।

जग्गा हराएपछि केन्द्रको भौतिक पूर्वाधार निर्माण गर्न नसकिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए । संघले अहिले जग्गा खोजी कार्यलाई तीव्र पारेको छ । श्रेष्ठ परिवारले ०६१ फागुन १३ गते १० कट्ठा जग्गा केन्द्रको नाममा पास गरिदिएको थियो । १३ वर्षपछि अहिले जग्गा नाप गर्दा ७ कट्ठामात्रै देखिन्छ । ढकालले आफूहरूलाई १० कट्ठा जग्गा प्राप्त भए पनि अहिले ७ कट्ठा मात्रै रहेको बताए । उनले जग्गाको नक्सा भने साढे १२ कट्ठाको रहेको बताए । ‘हामीलाई दाताबाट १० कट्ठा जग्गा प्राप्त भएको थियो । तर, अहिले ७ कट्ठामात्र देखिन्छ,’ ढकालले भने, ‘बाँकी ३ कट्ठा जग्गा कहाँ हरायो भनेर हामी खोजी गरिरहेका छौं ।’


पुरानो जग्गाधनी दर्ता प्रमाण पुर्जाअनुसार श्रेष्ठ परिवारले साविकको कित्ता नं. ११२५ बाट ३ धुर र कित्ता नं. ११२७ बाट ९ कट्ठा १७ धुर गरी १० कट्ठा जग्गा दान गरेको उल्लेख छ । तर, ०७२ मंसिर २ गते जारी भएको नयाँ जग्गाधनी दर्ता प्रमाण पुर्जामा ७ कट्ठा जग्गा मात्र उल्लेख छ । ‘कागजी रूपमै जग्गा गायब भएपछि हामी एक वर्षदेखि जग्गा खोजी गरिरहेका छौं,’ इलम प्रशिक्षण केन्द्र भौतिक पूर्वाधार निर्माण उपभोक्ता समितिका संयोजक विमल खतिवडाले भने । उनले थपे, ‘दाताले जग्गा दिँदा चार कुना मिलेको थियो । अहिले त्यस्तो छैन । करोडभन्दा बढी मूल्य पर्ने संस्थाको जग्गा हराउनु गम्भीर कुरा हो ।’ उनले जग्गा हराएको थाहा पाएपछि पुन: नाप गर्न नापी कार्यालयलाई पत्रचार गरे पनि नापीबाट कर्मचारी नआएको गुनासो गरे ।


उक्त जग्गा पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर दक्षिणमा पर्दछ । स्थानीयका अनुसार अहिले उक्त स्थान आसपासमा प्रतिधुर दुई लाखभन्दा बढीमा जग्गा किनबेच भइरहेको छ । संघका पूर्वअध्यक्ष र दाता परिवारबीच भएको बैठकमा हराएको भनिएको जग्गा बाटोमा परेको भनी दाता परिवारले भनेको अध्यक्ष ढकालले बताए ।


‘मैले तपाईंहरूलाई १० कट्ठा जग्गा दान गरेको हुँ । ३ कट्ठा जति बाटोमा गयो । बाँकी जग्गा त्यहीं छ,’ दाता श्रेष्ठले भनेको कुरा उद्धृत गर्दै ढकालले भने । जग्गा दाता श्रेष्ठसँग भने सम्पर्क हुन सकेन । ढकालले केन्द्रलाई १० कट्ठा जग्गा पूरै भोगचलन गर्ने गरी जग्गा प्राप्त भएको दाबी गरे । ‘हामीलाई १० कट्ठा जग्गा दिए पनि नक्सा साढे १२ कट्ठाको थियो । दुई–अढाई कट्ठा जग्गा बाटोमा पुर्ने र १० कट्ठा पूरै केन्द्रलाई हुने गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त भएको हो,’ ढकालले भने, ‘तर अहिले नक्सा पनि फरक देखिन्छ । हाम्रो जग्गा पनि गायब छ ।’


इलम प्रशिक्षण केन्द्र पछिल्लो पाँच वर्षदेखि बेवारिसे अवस्थामा छ । स्थानीय युवालाई औद्योगिक सीप सिकाउने उद्देश्यले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र दमक उद्योग वाणिज्य संघको संयुक्त लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको थियो । ०६१ देखि ०६८ सालसम्म जेनतेन सञ्चालन भए पनि त्यसपछि आवश्यक पहल नहुँदा केन्द्र बेवारिसे बनेको हो ।


२० लाख लागतमा निर्माण गरिएको तालिम हलसहितको दुई कोठे केन्द्रको भवन अहिले संरक्षणको अभावमा जीर्ण बनेको छ । वाणिज्य संघको प्रत्येक चुनावमा इलम प्रशिक्षण केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता पत्रको पहिलो बुँदा बन्छ । तर चुनाव जितिसकेपछि संघको नेतृत्वले गर्दै आएकाहरूको बेवास्ताले केन्द्रको भवन र जग्गामाथि चलखेल भएको स्थानीयको भनाइ छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?