१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हुलाकी राजमार्गका पुल निर्माणमा ढिलाइ

अर्जुन राजवंशी

दमक — ठेकेदार कम्पनीले पुल निर्माणमा ढिलाइ गर्दा हुलाकी राजमार्ग निर्माण प्रभावित बनेको छ । ठेकेदारको ढिलासुस्तीका कारण जिल्लाका ठूला नदीमा निर्माणाधीन पुलको काम अनिश्चित बनेको हो । ठेकेदार कम्पनीले निरन्तर काम नगर्दा ४ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलहरू ६ वर्ष बितिसक्दासम्म आधा पनि भएको छैन । 

हुलाकी राजमार्गका पुल निर्माणमा ढिलाइ

मेचीदेखि रतुवा खोलासम्म हुलाकी राजमार्ग सडक खण्ड ४८ किलोमिटर पर्दछ । यसमध्ये भद्रपुरदेखि राजगढसम्मको २० किलोमिटर सडक निर्माण सुरु भइसकेको छ । राजगढदेखि रतुवासम्मको २८ किलोमिटर सडक खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण भइसकेको छ । केही समयपछि ठेक्का प्रक्रिया सुरु गर्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । तर, हुलाकी राजमार्गमा पर्ने पुल निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा सडक निर्माणको कार्य प्रभावित बनेको कार्यालयले जनाएको छ ।


हुलाकी राजमार्गअन्तर्गत जिल्लामा १७ वटा पुल पर्दछन् । यीमध्ये देउनिया र गेउरिया खोलाको पुल सञ्चालनमा आइसकेको छ । काजली र भलेसा खोलामा पनि पुल निर्माण सम्पन्न भइसकेको छ । नेपाल–भारत जोड्ने बहुप्रतिक्षित मेची नदीको पुल आगामी फागुनभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणको काम भइरहेको छ । बाँकी पुलहरू भने ठेकेदारको ढिलासुस्तीको सिकार बनेका छन् । ‘ठेक्का सम्झौताअनुसार पुलहरू निर्माण भए, अबको तीन वर्षमा हुलाकी राजमार्ग सञ्चालनमा ल्याउन सकिन्छ,’ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयबाट जिल्लामा निर्माणाधीन पुल तथा सडक हेर्न खटिएका इन्जिनियर उपेन्द्र दासले भने ।


उनले पटकपटक ताकेता गर्दा समेत ठेकेदार कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरेको आरोप लगाए । उनले पुल निर्माणमा ढिलाइ भएकै कारण हुलाकी राजमार्ग कालोपत्रे कार्य प्रभावित हुने अवस्था आएको बताए । इन्जिनियर दासले जिल्लाको दुई ठूला नदीहरू कनकाई र विरिङमा पुल निर्माण गर्ने ठेक्का लिएका कम्पनीले चरम ढिलासुस्ती गरेको आरोप लगाए । ‘हुलाकी राजमार्ग चाँडै निर्माण सम्पन्न गर्नमा यी दुई नदीको पुल अति महत्त्वपूर्ण छ,’ उनले भने, ‘तर दुवै पुलका ठेकेदारको लापरवाहीपूर्ण ढिलासुस्तीले अहिलेसम्म आधा पनि काम हुन सकेको छैन ।’


कन्काई नदीमा पुल निर्माणको ठेक्का वीरगन्जको पप्पु–महादेव जेभीले लिएको हो । ०६८ जेठमा ठेक्का सम्झौता भएको पुल ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । उक्त मितिमा सम्पन्न नभएपछि दुई वर्ष म्याद थप गरेर ०७४ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता छ । तर, अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको इन्जिनियर दासले बताए । ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको डेढ वर्षसम्म कुनै काम गरेन । ढिलोगरी काम थाले पनि निर्माण कार्यमा तीव्रता नदिँदा पुल निर्माणमा ढिलाइ भएको हो । निर्माण कम्पनीका इन्जिनियर विश्व लामाले पुल निर्माणमा ढिलाइ भएको स्वीकार गरे । उनले सुरुमा विविध कारणले ढिलाइ भए पनि अब, दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने दाबी गरे । उक्त पुल ३० करोड ४० लाख ९० हजारमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले अहिलेसम्म साढे १० करोड बढी रुपैयाँ भुक्तानी लिइसकेको छ । उक्त पुल निर्माण भए नेपालकै सबैभन्दा लामो पुल बन्ने छ । गौरीगन्ज र झापा गाउँपालिकालाई जोड्ने गरी निर्माण भइरहेको पुलको लम्बाइ ७ सय २४ मिटर रहेको छ ।


जिल्लाकै अर्को ठूलो विरिङ नदीमा निर्माणाधीन पुल पनि ठेकेदारको ढिलासुस्तीको सिकार बनेको छ । ०६८ मा चार वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको पुलमा अहिलेसम्म ४५ प्रतिशतमात्रै काम भएको छ । ३ सय १८ मिटर लम्बाइ र ९ दशमलव ८ मिटर चौडाइको पुल निर्माणको ठेक्का लामा–मैनाचुली जेभीले लिएको हो । निर्माण कार्य चाँडै सम्पन्न गर्न चारपटक लिखित तथा पटकपटक मौखिक आग्रह गर्दा समेत ठेकेदार कम्पनीले बेवास्ता गर्ने गरेको इन्जिनियर दासले बताए । उक्त पुल निर्माणमा थप ढिलाइ भए राजगढदेखि रतुवासम्मको हुलाकी राजमार्ग निर्माणको काम थाल्न गाह्रो हुने योजना कार्यालयले जनाएको छ ।


गौरीगन्ज गाउँपालिकामा पर्ने रामचन्द्रे खोलामा ३७ मिटर लम्बाइको पुल काम थालेको ६ वर्ष बितिसक्दा समेत सम्पन्न भएको छैन । ‘नियमित गरे २ महिनामै पुल सम्पन्न हुन्छ,’ इन्जिनियर दासले भने, ‘ठेकेदारले काम गर्न बेवास्ता गर्दा पुल कहिले बनिन्छ भन्ने नै अनिश्चित बनेको छ ।’ उक्त पुल निर्माणको ठेक्का बोखिम–शान्ति जेभीले लिएको हो । ३७ मिटर लम्बाइ तथा ८ दशमलव ७ मिटर चौडाइको पुल निर्माणको ठेक्का ०६८ मै लागेको थियो । ठेक्का सम्झौतामा दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने उल्लेख थियो ।


हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जिल्ला जोड्ने रतुवामा निर्माण सम्पन्न भए पनि पुल बेकाम्मे बनेको छ । त्यहाँ खोलाभन्दा सानो पुल निर्माण भएको छ । उक्त पुल सुनसरी–मोरङ पुल आयोजनाले निर्माण गरेको हो । करिब ५ सय मिटर चौडाइको खोलामा २ सय ५ मिटर लम्बाइको मात्र बनाएपछि पुल बेकाम्मे बनेको हो । ‘देख्दै लाजमर्दो । यो खोलामा कति लामो पुल चाहिन्छ भन्ने हेक्कै नराखी पुल बनाइयो’, गौरादह नगरपालिका ६ का तुलसी राजवंशीले भने, ‘आधा खोलामा पुल छ, आधामा छैन । यस्तो पुलको के काम ?’


आव २०६४/०६५ मा काठमाडौंको कालिका ओएसीस जेभीले ठेक्का लिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का सम्झौता भए पनि पुल ९ करोडमा निर्माण गरेको निर्माण कम्पनीका रामकुमार थापाले बताए । उनका अनुसार पुल खोलाभन्दा सानो भएपछि एप्रोच रोड र च्यानेलाइजको काम गर्न सकिएको छैन । ठेक्का सम्झौताअनुसार आव ०६७/०६८ मा पुल निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण कम्पनीले दुई वर्षअघि मात्र काम सम्पन्न गरेको आयोजना प्रमुख कैलाश साहले बताए । करोडौं खर्चेर कामै नलाग्ने पुल निर्माण भएपछि अहिले पुल थप्ने गृहकार्य भइरहेको छ । साहले खोलाको पूर्वी भागमा ७५ तथा पश्चिम भागमा ५० मिटर पुल थप्नुपर्ने बताए ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?