लोकमार्गले होटलमा लगानी थप्यो

कान्तिपुर संवाददाता

तेह्रथुम — मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटलमा लगानी बढेको छ । लोकमार्गको करिब १ सय ३५ किलोमिटर खण्ड तेह्रथुममा पर्छ । लोकमार्ग निर्माणसँगै दायाँबायाँ सानाठूला होटल, पसल, लज, रिसोर्ट खुलेका छन् । सडकसँगै ग्रामीण बजारसमेत विस्तार भएका छन् ।

दुर्गम चुहानडाँडामा यति बेला मध्यपहाडी लोकमार्गका कारण निकै चहलपहल बढेको छ । बजारमा घरहरू थपिँदै छन् । होटल तथा पसल समेत खुल्ने क्रम जारी छ । जसले दुर्गममा आर्थिक गतिविधिसमेत बढेको छ ।


लोकमार्ग आउने भएपछि लालीगुराँस नगरपालिका वसन्तपुरका पेम्वाछिरिङ भोटियाले ५ करोड लगानी गरेर सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका छन् । लोकमार्ग सदरमुकाम म्याङलुङ छोएर आउने भएपछि त्यहाँको ब्लु हेवन होटल पनि नयाँ बनाएको छ । खोरुङगा खोला किनारमा बमबहादुर र दुर्गा लिम्बूले १ करोड लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका छन् । सुङनामका धर्मराज खड्काले कालापानीमा व्लाक वाटर रिसोर्ट खोलेका छन् । मध्यपहाडी लोकमार्गको निर्माणसँगै पर्यटकको संख्या बढेको र ग्राहकसमेत थपिएकाले रिसोर्टमा थप लगानी बढाइएको सञ्चालक खडाले बताए ।


लोकमार्गले छोएका तमोर माझी दोभानदेखि चुहानडाँडा, संक्रान्ती, पोक्लावाङ, हलीमेला, म्याङलुङ, जिरिखिम्ती, लसुने, वसन्तपुरलगायतका बजार क्षेत्रमा होटलमा लगानी बढेको छ । पछिल्ला ५ वर्षमा यो क्षेत्रमा मात्र ५० वटाभन्दा बढी सानाठूला होटल खुलेका छन् । सडकाले व्यापारले चम्काएपछि द्वन्द्वको समयमा पुरानो थालथलो छोडेर अन्यत्र गएकाहरूसमेत अहिले गाउँ फर्कन थालेका छन् ।


मध्यपहाडी लोकमार्गले छोएका यस क्षेत्रका जग्गाहरूको समेत मूल्य बढ्न थालेको छ । चियोभञ्ज्याङबाट सुरु भएको पूर्वी खण्डको यो सडक तमोर नदी, संक्रान्ती, म्याङलुङ, वसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, टोक्सेलघाट (घुर्मी) पुगेर समाप्त हुन्छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?